विचार

बिर्सन नसकिने पहिलो–पहिलो सम्झना
SHARES

फागुन २, २०७५

    समय भेल न हो, अनायास झस्काउँदो रहेछ। चस्काउँदो रहेछ। खोतल्दै जाँदा त्यही भेलको भँगालोमा रुमल्लिरहेका अनेकौँ सम्झना अनायास आँखाभरि घुम्दो रहेछ।

    यही समयको भेलले जीवनका अनेकौँ सम्झनालाई मस्तिष्क ताजै राखे पनि ती सम्झनासँग जोडिएका व्यक्तिहरूलाई भने कहिले टाढा लैजान्छ त कहिले नजिक ल्याउँछ। भँगालोमा फसेको पात झैँ कहिले यता त कहिले उता। 

    २०५२ सालमा श्रीसगरमाथा दैनिकबाट मेरो पत्रकारिताको सुरुवात भयो। त्यसपछि पत्रकारितासँगै जोडिएका कति तीतामीठा सम्झना पनि यो जिन्दगीका अङ्ग बन्दै गए। कतिलाई सिरानीमा च्यापेर राखूँ झैँ त कतिलाई कमोडमा हालेर फल्स गरिदिनु झैँ। तर पनि, ती दिन कमाएका सम्झनाहरूमा तीताभन्दा मिठा कै सङ्ख्या बढी रहे होलान्। छोटो समयमा नै सगरमाथा दैनिकको अवसान पत्रकारिताको जीवनमा पीडा दिने केही बिर्सनलायक क्षणमध्ये एक बन्यो। तर, त्यही दैनिक जीवनका अनेकौँ संघर्षका पहिलो साक्षीका रूपमा अगाडि आइहाल्छ। भुल्न खोज्दा पनि नसकिने। अघिल्लो दिनसम्म मेहनतले काम गरेको पत्रिका अचानक बन्द हुँदा को नै खुसी रहन्छ सक्छ होला र? हुनसक्छ, ती केही दिनमा कमाएका मीठा अनुभवले भने कहिलेकाहीँ नयाँ ऊर्जा दिन्छ। जीवनमा नयाँ तरङ्ग ल्याउँछ। शरीरमा कतै झन्झनाहट ल्याउँछ।

    म त त्यहाँ जुनियर रिपोर्टर न थिएँ। मभन्दा वरिष्ठ धेरै थिए। तर, वरिष्ठ दाइहरूबाट जुन माया पाइयो, त्यसले कुनै पनि दिन कनिष्ठ भएको महसुस गराएन। घमण्ड गरेर भन्नु पर्दा सम्पादकदेखि सबैको प्यारो थिएँ। एउटा मायालु परिवार झैँ थियो, दैनिक। त्यस बेला सूर्य प्रकाशन प्रा.लि. ले सगरमाथा मात्र हैन, अङ्ग्रेजी दैनिक दि एभरेस्ट हेराल्ड पनि प्रकाशन गर्थ्यो। प्रकाशन दुइटा भए पनि परिवार एउटै जस्तो थियो। नेपाली र अङ्ग्रेजी प्रकाशनमा विभेद थिएन। मनको मिलापमा कुनै लक्ष्मणरेखा थिएन। को कुन पत्रिकाको हो पत्ता लाग्दैन थियो। सबैको खाने टेलब एउटै, गफ चुट्ने थलो एउटै।

    श्रीसगरमाथाको अधिकांश श्रमशक्ति कान्तिपुरबाट आएकाले पनि होला, कान्तिपुरका मित्रहरूको साँझको मिलाप पनि सगरमाथाको बागबजारमा रहेको कार्यालय वरिपरि नै हुन्थ्यो। मुख्यतः चाँदनी रेस्टुरेन्टमा।  

    श्रीसगरमाथामा मैले मेहनतको फलका रूपमा मासिक ३५ सय रुपैयाँ पाउँथे। सातामा एकाध दिनलाई अपवादमा राख्ने हो भने चाँदनी रेस्टुरेन्टको बसाइलाई नै त्यो तलबले आधा धान्थ्यो होला। बाँकी खर्चको प्रायोजक त घर मै थिए नि, बाबा! फूलले पनि मौरीलाई कहिल्यै सोध्दैन होला, मेरो रस किन चुसेको? भनेर। मेरा बाबाले पनि कहिल्यै सोधेनन्। मागेको जति पाइन्थ्यो नै। जागिर त खान्छस् नि! सम्म भन्थे कहिलेकाहीँ।

    जल्दोबल्दो जवानी मै पत्रकारिता सुरु गरियो। लवाइ ख्वाइ, त्यस्तै थियो। अलि भिलेन टाइपको। फेसन नै त्यस्तै थियो। त्यो दैनिकमा संलग्न हुने बित्तिकै सबैसँग चिनापर्ची पनि भएको थिएन। पत्रिका निस्कनु अगाडिदेखि नै म रिपोर्टिङ गर्न दशरथ रंगशाला गइरहन्थेँ। आखिर त्यस बेला नेपालमा खेलकुद हुने एकमात्र थलो, त्यही नै त थियो। एउटा फुटबल खेलको रिपोर्टिङ गर्न गएको बेला मेरा सिनियर शिव गाउँले पनि त्यहाँ पुगेका रहेछन्। म जुन पत्रिकासँग आबद्ध थिएँ, उनी पनि त्यसैसँग। तर, एकअर्कासँग परिचय थिएन। म श्रीसगरमाथाबाट आएको भनेर थाहा पाउँदा उनी झसङ्गै भएछन्। हुलिया यस्तो कि, अगंजका शरीर त्यसमाथि डम्म परेको ड्याम बुट, अनि जिन्सको पाइन्ट र ज्याकेट, हेर्दा नै मुम्बईको कुनै ‘भाइ’ जस्तो। उनलाई लागेछ, यस्ता गुण्डाले पनि पत्रकारिता गर्ला र? तर, दिन बित्दै जाँदा उनी जीवनका अति आत्मीय अग्रजमध्ये एक बन्न पुगे। बादलले झैँ मानिसको सोचले पनि आकार बदल्न समय लगाउँदैन रहेछ। हिजोआज उनीसँग त्यति बाक्लो भेटघाट त छैन तर, जहिले भेट हुन्छ, त्यो सम्झना एकपटक पोखिन्छ नै।

    माध्यम चाहिँदो रहेछ, सम्बन्ध त आफैँ बिस्तार हुँदै जान्छ। त्यही श्रीसगरमाथा र चाँदनी रेस्टुरेन्टका कारण चर्चित नेता केशव स्थापितसँग पनि नजिक हुने मौका पाइयो। मेरो कार्यालय र उनको घर छिमेकमा भएकाले पनि। मैले खेलकुद पत्रकारिता सुरु गर्नु अगावै उनी खेलकुद परिषद्को सदस्यसचिवबाट बाहिरिइसकेका थिए। नजिक आउन लागेको स्थानीय चुनावमा काठमाडौँको मेयरमा उठ्ने तयारी गर्दै थिए। उनलाई चिन्ने–नचिन्ने सबैलाई थाहा भएको एउटा कुरा के हो भने, उनी गफ गर्न माहिर छन्।

    वास्तवमा स्थापितको गफ सुन्ने हो भने संसारमा असम्भव केही छ नै जस्तो लाग्दैन, थियो। सिरिरी चलेको हावाले कानमा आएर फुक्ने सङ्गीतको जसरी महत्त्व समयसँग हीन हुँदै जान्छ नि। त्यस्तै रह्यो, मैले सुनेका स्थापितका योजनाहरू पनि। पहाडबाट ढुङ्गा–माटो झिक्ने, त्यसलाई बेच्ने अनि खोस्रिएको स्थानबाटै हेटौंडा छिचोल्ने सुरुङमार्ग बनाउँछु भन्थे। लगानी नै चाहिँदैन रे। ढुङ्गा–माटो बेचेकै रकमले सुरुङमार्ग बनिहाल्छ नि रे। हैट कति गफ जानेका।

    त्यस बेला उनले काठमाडौंलाई जस्तो बनाउँछु भन्थे। त्यो गर्न सकेनन् भन्ने मलाई लाग्छ। तर, उनी मेयर भएपछि काठमाडौँका संरचना भत्काएर जति मुद्दा खेप्नु पर्‍यो, अर्को कुनै मेयरले त्यो दिन देख्नु परेको छैन होला। नेता न हो सियो झैँ, लुगा सिउन पनि चाहिन्छ, काटेको शरीर सिउन पनि अनि कहिले काहीँ काँडा निकाल्न पनि। कहिले चाहिन्छ, थाहै नहुने। तर, अनावश्यक बेला घोच्यो भने दुखबाहेक केही नदिने। खेलकुद परिषद्मा छोटो समय रहँदा उनले गरेका कार्यको निकै प्रशंसा भयो। पहिलो पटक काठमाडौको मेयर हुँदा पनि उनको कामप्रतिको लगावको प्रशंसा नै भयो। तर, त्यसपछिका दिन उनको राप सेलाउँदै गयो। दिउँसोको घामको राप दिन ढल्दै जाँदा जसरी हराउँछ, त्यसरी नै। 

    गफमा माहिर, सिसाको गिलासको चुस्कीसँगै उनले वर्णन गर्ने कथाहरू कुनै चलचित्र हेरे झैँ लाग्थ्यो। चाहे सरकार बचाउने र भत्काउने खेलमा निभाएका भूमिका होस् वा काठमाडौँ बनाउने उनको हावादारी कल्पनाको उडान। बोले झैँ गर्न सकेनन् तर, उनको गफ गर्ने शैलीको भने म प्रशंसक नै भएँ। उनलाई आफू कति चञ्चल छु भन्ने पनि ज्ञान रहेछ। एक पटक कुनै कार्यक्रममा भेटेको थिएँ। यसो मेरो शरीर नियालेर हेरे। अनि भनी हाले, ‘विपश्यना जाऊँ। राम्रो गर्छ!’ मैले विश्यपनामा गएर कडा नियममा बस्न नसक्ने सहज जवाफ दिए। लगत्तै उनले भने, ‘मैले त सकेँ, तिमीले किन नसक्ने?’

    २०५२ सालमा जतिबेला श्रीसगरमाथा दैनिकको सुरुवात भयो। त्यसैताका नेपालमा कहालीलाग्दो माओवादी ससस्त्रयुद्ध पनि सुरु भयो। खेलकुद पत्रकार भए पनि मैले माओवादीको पहिलो निशानामा परेका गोरखाका केही व्यक्तिका बारे रिपोर्टिङ गरेँ। सम्भवतः बन्दुककै अभावले होला माआवादीले भन्ने गरेको ‘कथित उपल्लो वर्ग’का केही व्यक्तिहरूको घर–घरमा पुगेर ‘ह्यामर’को किला निकाल्ने छेउतिरबाट उनीहरूको नली खुट्टाको छाला र मासु ताछिएको थियो। हेर्दै विरक्त लाग्ने। त्रिवि शिक्षण अस्पतालमा पुगेर त्यो रिपोर्टिङ गरेको थिएँ। यसरी एउटा कहालीलाग्दो इतिहासको सुरुवातको साक्षी बन्नुपरेको थियो। श्रीसगरमाथामा प्रवेशसँगै म खेलकुद पत्रकार बनेँ पनि यस्ता अनुभव पनि सँगाल्ने मौका पाइयो। वास्तवमा भन्ने हो भने लगभग २५ वर्ष सक्रिय पत्रकारितामा लाग्दा एकाध संस्थाबाहेक मैले कतै पत्रकारिता गर्ने माहोल भेटिन। मुलुकको सबैभन्दा गरिब पेसाभित्र कै साथीभाइ माझ हुने अधिक राजनीतिले सधैँ न्यास्रो नै बनायो।

    जुनबेला म श्रीसगरमाथामा काम गर्थेँ, त्यसताका खेलकुद पत्रकारहरू औँलामा गन्न सकिन्थ्यो। आज जस्तो भव्य स्वरूप थिएन, खेलकुद पत्रकारिताको। विदेश भ्रमणको निम्तो पनि कार्यालयमै आउँथ्यो, फ्याक्समार्फत। अखिल नेपाल फुटबल सङ्घले फ्याक्सबाट पठाएको निम्तो मानेर म पहिलो पटक पत्रकारका रूपमा विदेश गएँ। नेपालको एनआरटी र भारतको जेसीटीबीच नयाँ दिल्लीमा भएको एसियाली क्लब च्याम्पियनसिपको रिपोर्टिङ गर्न। दिल्लीमा भोजको निम्तो आएको खण्डमा लगाउन पर्छ भनेर पिताजीको खर्चमा कोट पनि सिलाएको थिएँ। तर, कतैबाट निम्तो आएन।

    पहिलोपटक ‘अफिसियल भिजिट’मा जान लागेको मनै फुरुङ्ग। पहिलो गाँस मै ढुङ्गा भने जस्तो इन्डियन एअरलाइन्सको विमान झन्डै ४–५ घण्टा ढिलो उड्यो। एन्फाले नयाँ दिल्लीको कोरलबागस्थित बिना स्टारको होटेलमा राख्यो। त्यही पनि रमाइलै लाग्यो। रुममेट थिए, पत्रकार मित्र जयदेव गौतम। उनी त्यस बेला कान्तिपुरमा काम गर्थे। आजकाल अमेरिकामा छन्। सुने अनुसार नराम्रै रोगबाट पीडित छन् रे। कम्मरमुनिको भाग चल्दैन रे। यस्ता समाचार सुन्नु पर्दा कानमा सधैँ नमिठो घण्टी बज्छ। जीवनलाई उर्जावान बनाउँछु भन्ने जो कोहीलाई भगवानले यसरी नठगोस् जस्तो लाग्छ। अनि फेरी लाग्छ, भगवानको पाउमा चढ्ने फूल त मुर्झाउँछ। आफ्नो पाउमा सजिन आएको फुललाई जीवन दिइरहन नसक्ने भगवानले खै के नै गर्न सक्लान् र? आफ्नै कर्ममा जुटेका मनुवालाई। अनि बस् के गर्न सक्छौँ र हामी जस्ता मित्रले ‘गेट बेल सुन जयदेवजी’ भन्नु बाहेक।

    वास्तवमा भन्ने हो भने जीवनमा धेरै बोतल रित्ताइयो। तर, दिल्लीमा खाएको जस्तो खतरनाक बोतल विरलै पाइँदो हो। पिउने तीन जनामध्ये एक जना भगवानकै प्यारो बनिसके। अर्का एक जना अहिले अमेरिकामा नराम्रो रोगको चपेटामा फसेका छन्, अनि अर्को एक म, मुटुको शल्यक्रियापछिको जीवन बिताइरहेको छु। शायद नाङ्गो बोतल हल्लाउँदै ल्याउँदा धेरै जनाको आँखा पनि लागेछ कि?

    हामी दिल्ली पुगेको दोस्रो वा तेस्रो दिन खेलेको पहिलो खेलमा नै एनआरटिलाई जेसीटिले हरायो। प्रतिस्पर्धात्मक खेलमा सम्भवतः ०–२ गोलले। नियमानुसार होम एन्ड अवेका आधारमा हुनुपर्ने दुवै खेल दिल्ली कै अम्बेडकर रङ्गशालामा खेलाइएको थियो। दुई दिनपछि फेरी अर्को खेल हुँदै थियो। सारा खेलाडी र प्रशिक्षकका हुलमा हामी दुई पत्रकार। जयदेवजी र मैले नजिकैको ‘अङ्ग्रेजी सराबकी दुकान’ बाट औषधी किनेर ल्याएका थियौँ। अरूले भने झैँ ‘खराबीका बाप र दादा’को नाम त फाराममा भर्नु परेन। तर, बोतल हाल्ने झोला त के बेर्ने कागज पनि दिँदा रहेनछन्। इज्जत नै दाउमा राखेर भए पनि नाङ्गो बोतल हल्लाउँदै रुममा आइयो। हुन त प्रशिक्षक र टिम मेनेजरको कोठाको साँझ पनि बोतलले रङ्गिन नै हुँदो रहेछ तर, उनीहरू हामीसँग लुकेर पिउन चाहने। उनीहरूको चाहनाको हामीले कदर नै गर्‍यौं।

    हुन त एनआरटीको टोली वास्तवमै राम्रा खेलाडीले भरिएको थियो। एन्फाले अन्य क्लबका एकाध खेलाडीलाई पनि त्यही टोलीमा समावेश गरिदिएको थियो। लिग विजेताको नाताले एनआरटि त्यो प्रतियोगिता खेल्दै थियो। नेपालले आशा गरेका खेलाडीमध्ये देवेन्द्र लामा (देवे) ले पहिलो खेलमा कुनै चमत्कार गर्न सकेनन्। दोस्रो खेल नेपालले राम्रो गोलअन्तरमा जितेको खण्डमा अघिल्लो चरणमा पुग्ने सम्भावना थियो नै। हामीले स्टाइलका साथ नचाउँदै ल्याएको बोतल उनले पनि देखेका थिए नै। दोस्रो खेलको अघिल्लो रात जयदेवजी र म चुस्की लिँदै टिभी हेर्दै थियौँ। अचानक ढोकामा ढकढकको आवाज आयो। यसो खोलेर हेरेको त देवे रहेछन्। ‘दाइ अलि कति पाउँ न म पनि’ उनले सिधा भने। हामी ‘हुन्न’ भोलि खेल छ भन्यौँ। ‘दाइ एक ग्लास दिनुस्, भोलि बबाल खेलिन भने भन्नुहोला’ उसको आश्वासनसँगै हामीले एक गिलासभरि झोल दियौँ। नभन्दै उसले यस्तो खेल्यो कि नेपालले पहिलो हारको बदलामा उति नै गोलको जित निकाल्न महत्त्वपूर्ण योगदान दियो। हामी मनमनै दंगदास थियौँ, हामीले गिलासभरि दिएको झोलले काम गर्‍यो भनेर। त्यो खेलको नियमानुसार अघिल्लो चरणमा जाने टोलीको निर्णय टाइब्रेकरमा गर्नु पर्‍यो, नेपाल बाहिरियो। नेपाललाई त्यो खेलमा इज्जतिलो जित दिलाएका देवेलाई उनकै सहर हेटौंडामा एउटा ट्रकले ठक्कर दिएर यो लोकबाट बिदा गराएछ। धेरैपछि थाहा पाएँ। झोलमा धेरै नरमाएको भए उ नेपालको राम्रो खेलाडीमा दरिन्थ्यो, पक्का हो। धेरै मानिसले कमजोरी बनाएर जीवन बर्बाद गराएको त्यही पदार्थले एउटा होनहार खेलाडीलाई बर्बाद बनायो।

    वास्तवमा भन्ने हो भने जीवनमा धेरै बोतल रित्ताइयो। तर, दिल्लीमा खाएको जस्तो खतरनाक बोतल विरलै पाइँदो हो। पिउने तीन जनामध्ये एक जना भगवानकै प्यारो बनिसके। अर्का एक जना अहिले अमेरिकामा नराम्रो रोगको चपेटामा फसेका छन्, अनि अर्को एक म, मुटुको शल्यक्रियापछिको जीवन बिताइरहेको छु। शायद नाङ्गो बोतल हल्लाउँदै ल्याउँदा धेरै जनाको आँखा पनि लागेछ कि?

    त्यही दोस्रो खेलको दिन मालदिभ्समा सम्पन्न क्लब च्याम्पियनसिप कै अर्को कुनै खेलमा म्याच कमिस्नर बनेर एन्फाका तत्कालीन महासचिव लोकबहादुर शाही नयाँ दिल्ली आएका थिए। नेपाल कै खेल हेर्न भनेर। उनी बस्ने होटेल अर्कै थियो, पहाडगंजतिर। जयदेवजी र मैले कागज र झोला लिएरै गएर अर्को बोतलको पनि व्यवस्था गरिसकेका थियौँ। भोलिपल्ट बिहानै विमानस्थल पुग्नु थियो। सम्भवतः ७–८ बजे नै। त्यसैले चाँडै खाने र चाँडै सुत्ने निर्णय पारित गरियो।

    राति अचानक कोठाको टेलिफोन बज्यो। नबोलाएको पाहुना झैँ। मैले नै उठाएँ रिसिभर, उताबाट आवाज आयो, ‘पत्रकार भएर पनि यति चाँडै सुत्ने हो? ल आउँ चाँडै,’ निर्देशन दिने आवाज थियो महासचिव शाहीको। घडी पनि नहेरी दुवै जना लाग्यौँ, उनी बसेको होटेलतिर। फेरि अर्को चरण सुरु भयो। शाहीजीले पनि एक्लै पहिलो चरण भ्याइसकेका रहेछन्। जाम र गफको महफिल सुरु भयो, फेरि। धेरै जनाको कुरा काटियो। कति बजे हो कुन्नि म नकआउट भएर सोफा मै सुतेँ। दुई जनाको महफिल अझै अगाडि बढेछ। बिहान यसो घडी हरेको एयरपोर्ट पुग्ने समय हुनै लागिसकेको। जयदेवजीलाई उठाएँ र हतार–हतार लागियो, आफूहरू बसेको होटेलतिर। होटेलमा पुग्दा त सबै जना हामीलाई खोजिरहेका रहेछन्। राति एकसाथ सुत्न गएका दुई जना पत्रकार बिहान उठ्दा त गायब! अनि हुँदैन त हल्ला–खल्ला। हतार हतार तयार भएर पुगियो, विमानस्थल। तै विमान फेरि ढिला भएछ, छुटेन हाम्रो कारणले।

    हरेक बिहानी त आखिर साँझको स्वरूपमा ढल्नै पर्छ। रोकेर रोकिन्न। रोमाञ्चक सम्झनासहित पूरा गरिएको पहिलो ‘अफिसियल भ्रमण’ झैँ सम्झनाको भारी बोकाएर श्रीसगरमाथा पनि बन्द भयो। तर, वास्तवमै हो रहेछ, जीवनका हरेक पहिलो पाइला सम्झनलायक हुने रहेछ। प्रेम होस् वा यात्रा वा कर्म नै।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]