|

काठमाडौं : नेपाली साहित्यिक पत्रिका "शब्दालय" प्रकाशन हुने भएको छ। हाललाई त्रैमासिक ई- पत्रिकाकाको रूपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रूपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए।

 साहित्यिक पत्रकारितामा लामो अनुभव संगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउदै वेव साइट तयार भइरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने बताए। नेपाली साहित्यलाई विश्व पाठकमाझ पुर्‍याउने, घरदेश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक विकासमा टेवा पुर्‍याउने उद्‍देश्य बोकेको उक्त प्रयासले नेपाल र काम विशेष प्रवासमा रहेका सर्जकबीच पुलको काम गर्ने उनको दाबी छ।

अन्नपूर्ण पोस्ट दैनिकमा आठ वर्ष वरिष्ट उपसम्पादकका रुपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि , अन्तर्दृष्टि , कालान्तर, समानान्तरण , मधुरस लगायतका दर्जनौ विविध पत्रिकाका सम्पादकका रूपमा अनुभव संगालेका छन्। पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रूपमा दुई कार्यकाल काम पनि गरेका थिए।

सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउँदै साहित्यकारको कलमको सम्मानार्थ वर्षभरिमा प्रकाशित सिर्जनामध्ये गद्‍य र पद्‍य एकएक सिर्जनालाई २५०/ २५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने जानकारी दिए। सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले बिदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुर्‍याउने बताउँदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने ,सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए।

साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उद्‍देश्य राखेको बताउँदै नेपाली साहित्यको फैलावटमा विशेष काम गर्ने जिकिर गरे। त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन्। विश्वका विभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आबद्दता रहेको शब्दालय प्रकाशनले नेपालमा छिट्टै प्रकाशन गृह संचालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उदेश्य राखेर काम आरम्भ गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.