|

भद्रपुर, (झापा) : भारतीय रेलमा छुटेका नवजात शिशुलाई करीब पाँच महिनापछि भारतको पश्चिम बंगालबाट उद्धार गरी नेपाल फर्काइएको छ। साना हातहरू नेपाल नामक संस्था भद्रपुरको पहलमा भद्रपुर नगरपालिका ५ निवासी सोमनाथ यादव र उनकी श्रीमती रावरी पोद्धारकी ८ महिनाका नवजात शिशु (छोरा) लक्ष्मण यादवलाई बुधवार बेलुका भारतबाट उद्धार गरी नेपाल फर्काइएको हो।

भारतको सिलगुढीस्थित सिभिल अस्पतालबाट उद्धार गरी ल्याइएको लक्ष्मणलाई साना हातमा आवद्ध कर्मचारी अनिल लिम्बूको नेतृत्वमा गएको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठमार्फत उनका बुबाआमालाई छोरा जिम्मा लगाएको हो। ‘रेलमा छुटेको छोरा गुमाइसकेका थियौँ’, लक्ष्मणका बुबा सोमनाथले भने, ‘साना हात र नेपाल प्रहरीको सहयोगमा भारतमा सकुशल रहेको छोरा फिर्ता पाएको छु, यो भन्दा खुशी अरू के हुन सक्छु र!’

सोमनाथका अनुसार छोराछोरीसहित श्रीमती भारतको किशनगञ्ज माइती गएकी थिइन्। केहीदिनको माइती बसाइँपछि नेपाल घर फर्किदाँ नवजात छोरा र छोरीलाई लिएर श्रीमती रावरी गत भदौ ९ गते किशनगञ्जबाट गलगलिया आउन डेमो रेल चढेकी थिइन्। गलगलिया आइपुगेपछि रेलबाट ओर्लिने क्रममा श्रीमती र छोरी त ओर्लिन्। सामान पनि भएकोले श्रीमतीले छोरा लक्ष्मणलाई उतार्न सकेनन्। रेलमै छुटेको छोरा सिलगुढी जंगसन रेल्वे स्टेशन पुगेछ।

‘छोरा रेलमा छुटेको खबर पाउन साथ श्रीमतीलाई लिएर सिलगुढी गएर बुझदाँ रेल्वे प्रहरीले छोरालाई उद्धार गरी सिभिल अस्पताललाई जिम्मा लगाइसकेको रहेछ’ उनले भने। 

उनका अनुसार छोराको आमाबुबा हामीभन्दा पनि सिभिल अस्पतालका प्रशासनले हामीलाई छोरा दिन मानेन, कानुनी प्रक्रिया पूरा गरेर छोरा लानु भनेपछि हामी दुई महिना पहिले नेपालका प्रहरी प्रशासनसमक्ष हारगुहार गरे। ‘दुई महिना बितिसक्दा पनि छोरा नपाएपछि बालबालिका क्षेत्रमा काम गर्ने भद्रपुरको साना हातलाई गुहार गर्‍यौँ’, उनले भने, ‘अन्ततः साना हातको सहयोगमा पाँच महिना सकुशल गुमाएका छोरा पायौँ।’

यता साना हातका भद्रपुर स्टेशन म्यानेजर बिक्रम वाग्लेका अनुसार नवजात शिशुलाई नेपाल फर्काउन भारतीय प्रहरी प्रशासन र कलकत्तास्थित नेपालका लागि वाणिज्य दूतावासले सहयोग गरेको बताए। ‘नवजात शिशु अस्पतालमा रहेको थाहा पाएपछि संस्थाले दुवै देशका कानुनी प्रक्रिया पूरा गरी शिशुलाई सकुशल उद्धार गरी नेपाल फर्काएर ल्याएको हो’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.