|

मनाङ : हिमपातका कारण मनाङको जनजीवन अझै अस्तव्यस्त छ। हिमपात रोकिए पनि पाखा पखेरा सेताम्मै छ। बाटोघाटो सडक र गाउँ वस्ती हिउँका ढिस्का बनेका छन्।  

जिल्लामा माघ महिनाभर नै हिमपात भइरह्यो। सवारी साधन अझै आवगमन हुन सकेको छैन। हिमपातका कारण दैनिक कार्य सञ्चालन गर्न कठिनाइ त छँदैछ, हिउँदका लागि भण्डारण गरिएको खाद्यान्न पनि सकिएको छ।

खाद्यान्न अभाव हुँदै गर्दा होटल व्यवसायीको एउटै चिन्ता छ, पाहुनालाई के खुवाउने? होटल व्यवसायीदेखि किनारा पसल, कर्मचारी र सर्वसाधारण हिमपातको मारमा परेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। हिउँ पग्लेर सवारी साधन आवगमन होला भन्दा भन्दै महिनौ बित्यो तर हिउँ पग्लने दिन आएन।

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा हिउँ फाले पनि ठूलो हिमपातले गर्दा सम्भाव भएको छैन। अहिले तल्लो मनाङको दानाक्युसम्म सवारी साधान आवगमन भएको छ। माथिल्लोे मनाङ तिमाङ, चामे लगायतका ठाउँमा अझै सवारीसाधन चल्न नसकेको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए। 

हिमपात हुँदै गर्दा पनि विदेशी पर्यटकको भने आवगमन भइरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र  धारापानी चेकपोष्ट मनाङका अनुसार दैनिक २० देखि २५ जना विदेशी पर्यटक मनाङ आउने गरेका छन्। अहिले हिउँमा रमाउँदै यात्रा गरिरहेका विदेशी पर्यटक र हिउँ खेल्दै रमाइरहेका आन्तरिक पर्यटक पाखाभरि देखिन्छन्। 

हिउँ पर्न रोकिए पनि सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा त परेका छन् नै तर पर्यटकलाई भने हिँडडुल गर्न सहज भएको गाइड रमेश अधिकारीले बताए। पर्यटक आवगमनमा भने कुनै कमी छैन। हिमपातमा रमाउँदै सुरक्षित यात्रा गरिरहेका छन्।

पछिल्लो समयमा हिउँ खेल्नकै लागि पनि आन्तरिक पर्यटक मनाङ पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेक पोष्टका पर्यटन सहायक आशिष विश्वकर्माले बताए। 'पहिले हिउँ देख्न र हिउँ छुन माथिल्लो मनाङ पुग्नुपर्थ्यो , तर अहिले मनाङको तल्लो भेगमानै प्रशस्त हिउँ छ। त्यसैले हिउँ छुन र खेल्नका लागि आन्तरिक पर्यटक आएका हुन्',  उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.