|

रुकुम : रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्। जसमा आठबिसकोट नगरपालिका पनि एक हो। नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको र दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै छन्। जसले गर्दा राजनीतिक तथा स्थानीय सरकार नेतृत्वले यस क्षेत्रको विकास र समृद्धि सपना देख्दैमा मात्र अन्य स्थानीय तहको जसरी सहज तरिकाले विकास भने सम्भव छैन।

तर स्थानीय सरकार बनेपछि त्यस क्षेत्रको विकास अन्य स्थानीयतहहरूको भन्दा तीव्रता पाइएको छ। जस पछाडि नेतृत्वको इच्छा र निरन्तरता नै हुनसक्छ। भौतिक पूर्वाधार निर्माण, गाउँमै उद्योग सञ्चालन देखि जनताको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि केही उल्लेखनीय काम भएका छन्। शून्यबाट विकासको अङ्क माथितिर लागेपनि अझ धेरै गर्न बाँकी छ। समृद्ध नगरपालिका बनाउन चालिएका विकास योजना, कार्यक्रम र समग्र नगरपालिको गतिविधिको विषयमा विषयमा आठबिसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीसँग थाहाखबरकर्मी मेगराज खड्काले गरेको कुराकानी:

नगरपालिकाको कामकारबाही के कस्तो भइरहेको छ?

हामी अहिले यस आर्थिक वर्षको बजेट कार्यान्वयनकै चरणमा छौँ। हाम्रो नगरपालिकामा ४० प्रतिशत भौतिक तथा आर्थिक प्रगति भएको छ। जिल्लाका अन्य स्थानीयतहको भन्दा हाम्रो नगरपालिकामा आर्थिक तथा भौतिक प्रगति बढी भएको छ। त्यसका साथै नगरपालिकाका नियमित कार्यक्रम, बन कृषि क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानदेखि बजार बिस्तारको काम पनि भइरहेको छ। शिक्षा, स्वास्थ्य र पूर्वधारलाई व्यववस्थित गर्न आवश्यक नीति नियम बनाउने काम निरन्तर चलिरहेको छ। 

तपाईँको कार्यकाल सुरु भएको पनि लामै समय भइसक्यो, तपाईँको कार्यकालपछि नगरमा भएका उपलब्धि के के छन्? 

निर्माण गरिएका सडकहरूको स्तरबृद्धि गर्ने र पुलहरू निर्माणका लागि हामी कहाँ आएको बजेट पर्याप्त नै छैन। साँच्चीकै हाम्रो नगरपालिकाभित्रको सडक सञ्जालको पहुँच विस्तार गर्ने हो भने कम्तीमा पनि २० देखि २५ वटा सम्म मोटरयवल पुल निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि करोडौँ रुपैयाँ लाग्छ। थोरै बजेट आउँदा सबै वडाहरूमा अलिअलि दिँदा सकिन्छ।

मेरो कार्यकालमा धेरै काम भएको छ जस्तो लाग्छ। पहिलो चरणमा आठबिसकोट नगरपालिकाको मुहार नै फेरिएको जस्तो लागेको छ। बाहिरबाट हेर्दा नगरपालिकाको विकास यतिले पुग्छ त भन्ने पनि कोही होलान्। तर पहिलेको र अहिलेको अवस्थाबीचको फरक जो कसैले पनि देख्न सक्छ। शिक्षामा ४५ जना विद्यार्थी बराबर एउटा शिक्षकको व्यवस्था गरिएको छ। शिक्षक अभाव रहेको विद्यालयहरूमा १ सय ६२ जना शिक्षक नगरपालिकाले करारमा नियुक्त गरेर पठाएको छ। उच्च शिक्षामा नगरपालिकाले केही विषयहरूमा विद्यार्थीहरूलाई ब्याजमा ऋण तथा अनुदान दिइएको छ। नगरपालिकाले दुई जना पाइलट पढ्न चाहेका विद्यार्थीलाई ऋण अनुदान दिएको छ। हाल ती विद्यार्थी फिलिपिन्समा तालिम गरिरहेका छन्। आठबिसकोट क्षेत्रका जनताको लागि पहिलो पटक नगर अस्पताल सञ्चालनमा ल्याइएको छ। जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र हाम्रो नगरपालिका नै पर्छ। यस दुर्गम ठाउँमा २५ शय्याको अस्पताल सञ्चालन गर्नु सानोतिनो कुरा थिएन। अस्पताल सुरुवात गरिएको तर अझै पनि सुधार गर्नुपर्ने र बिस्तार गर्नुपर्ने धेरै विषय छन्। चिकित्सकहरूलाई अस्पतालमा टिकाइराख्नु मुख्य समस्या छ।

डाक्टरहरू आउँछन् तर दुर्गममा बस्न नरुचाएर विभिन्न बहाना बनाएर फर्कने गरेका छन्। त्यस्तै मेरो कार्यकालपछि गरिबी निवारण सचिवालय गठन गरेर गरिब घर परिचयपत्र हामीले आफ्नै तरिकाले वितरण गरेका छौँ। ६ सय जनालाई वितरण गरिएको उक्त परिचयपत्र केन्द्रीय सरकारबाट छनोट गरिएको गरिब घर पहिचानको तथ्याङ्क होइन। त्यसमा धेरै गल्ती भएको र धनी पनि गरिबमा परेको पनि विभिन्न टीकाटिप्पणी भए पनि हामीले आफैँ सूचक बनाएर छनोट गरेका छौँ। उनीहरूको आयस्रोत बढाउनको तत्काल एक जलविद्युत आयोजनामा ५/५ हजारको सेयर नगरपालिकाले नै हालिदिएको छ। 

बन तथा कृषि क्षेत्रको कुरा गर्दा निकै महत्त्वपूर्ण काम गरिएको छ। एकैसाथ करिब १० करोडको लगानीमा ३ वटा उद्योग सञ्चालनको सुरुवात गरिएको छ। फलफुलमा आधारित जुस उद्योग, मसला तथा ड्राइफुड र काष्ठ उद्योग बनाउने कामको सुरुवात भैसकेका छ। केही उपकरणहरू आउँदैछन। त्यस्तै नगरपालिका क्षेत्रमा उत्पादन हुने दूध बिक्री वितरण गरेर स्थानीयहरूको आयआर्जनसँग जोड्न पनि लागिरहेका छौँ। भौतिक पूर्वाधारमा कुरा गर्दा म निर्वाचित भएपछि २ सय किलोमिटर नयाँ सडक खनिएको छ। खोलानालामा आवतजावत गर्न समस्या हुने विभिन्न ठाउँमा ३५ वटा काठेपुल निर्माण गरेर जनतालाई सुविधा दिइएको थियो। तर अब क्रमशः ती काठेपुललाई विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गरिरहेका छौँ। १३ वटा झोलुङ्गे पुल निर्माण भैसकेका छन् भने अन्य पनि क्रमशः बन्ने क्रममा छन्। त्यसका साथै विद्युत्, स्वरोजगार, सामाजिक सुरक्षाका क्षेत्रमा पनि धेरै काम गरिएको छ। 

हालसम्म भएका विकासले चुनावअघि जनतामाझ गरेका बाचा सम्बोधन हुन्छन् त?

जनताका सबै विकास चाहना एकैबर्ष पुरा हुने कुरा होइन। आर्थिक स्रोत लगायतका अन्य विभिन्न समस्याका कारण चाहेर पनि सबै सम्भव छैन। तर जनताको आधारभूत आवश्यकताहरू नाराहरू पुरा भएका छन्। अस्पताल निर्माण गरेर र गाउँगाउँमा स्वास्थ्य इकाईहरू स्थापना गरेर स्वास्थ्यको मुद्दा पुरा गरिएको छ। शैक्षिक गुणस्तर र रिक्त दरबन्दीमा करार शिक्षक राखेर पनि शिक्षा व्यवस्थित बनाउने नारा पुरा गरिएको छ। उच्च शिक्षा पढ्न चाहेका विद्यार्थीहरूलाई व्याजमा अनुदान दिएर सहयोग गरिएको छ। गाउँमै उद्योग सञ्चालन गरेर थोरै सङ्ख्यामा भए पनि रोजगार दिइएको छ। बर्सेनि उद्योगमा कामदारहरू माग बढ्दै जाने छ। त्यस्तै बिद्युतको क्षेत्रमा पनि हामीले केही हदसम्म अधिकांश वडामा विद्युत् पहुँच बिस्तार गरेका छौँ भने निकट भविष्यमै स्यालाखदीमा १ मेगावाटको विद्युत् आयोजना सञ्चालन आउँदै छ। डिपिआर तयार पार्ने लगायतका काम भैसकेको छ। त्यसपछि नगरपालिकामा पुगेर पनि बाहिर बेचेर पालिकाको आम्दानी बढाउँछौँ। त्यस्तै हाम्रो नगरपालिका हाल दुर्गम क्षेत्रमा रहेको गोतामकोट गाउँलाई निकट भविष्यमै देशकै मोडल गाउँ बनाउँदै छौँ। त्यहाँसम्म पुग्ने भौतिक पूर्वाधार निर्माणदेखि त्यस क्षेत्रमा होमस्टे लगायतका व्यवस्थाहरू स्थापना गरेर पर्यटकीय स्थल बनाउँछौँ। गौतमबंशहरूको जन्मभूमिहरूको संरक्षण र प्रचारप्रसार गर्छौँ। 

रुकुम पश्चिममा पर्ने केही दुर्गम क्षेत्र पनि तपाईँको नगरपालिकामा पर्दछन्। नगरपालिका केन्द्रमा नै टेलिफोन/सञ्चारको राम्रो पहुँच देखिँदैन। दूरदराजको बस्तीमा सञ्चार पहुँच कहिले पुग्ला?

भौगोलिक विकटताका कारण पक्कै पनि हाम्रो नगरपालिकामा सञ्चार क्षेत्रमा प्रभावकारी विकास गर्न सकिएको छैन। तर नगरपालिकाको सञ्चारको क्षेत्रमा सबैभन्दा बढी दु:ख मैले गरेको छु। इन्टरनेटको पहुँच नभएकोमा हाल सबै वडा कार्यालय र माध्यमिक विद्यालयहरूमा पुगेको छ। त्यस्तै टेलिफोनको पहुँच धेरै ठाउँमा विस्तार गरिएको छ। ३ वटा टावरलाई स्तरबृद्धि गरिएको छ। अन्य केही टावर पनि निर्माणको क्रममा छन् तर टेलिकमको ढिलासुस्तीकै कारण समयमै काम सम्पन्न भएको छैन। निर्वाचित भएको केही समयमै हाम्रो नगरपालिकामा फोन सेवा विस्तारका लागि म टेलिकमको केन्द्रीय कार्यालयमा नै गएर कुरा गरेको हो। त्यसपछि विभिन्न समयमा म मात्र नभएर अन्य च्यानलमार्फत पनि त्यस विषयमा कुरा गरिएको छ। तर दुर्गममा सेवा विस्तारको लागि टेलिकमको चासो नै छैन जस्तो लाग्छ। 

तपाईँले सपना देखेको समृद्ध नगरपालिका निर्माण गर्न के कस्ता समस्या र चुनौतीहरू छन्?

चुनौतीहरू धेरै छन्। कानुनी तथा आर्थिक समस्या अलि बढी छ। निर्माण गरिएका सडकहरूको स्तरबृद्धि गर्ने र पुलहरू निर्माणका लागि हामी कहाँ आएको बजेट पर्याप्त नै छैन। साँच्चीकै हाम्रो नगरपालिकाभित्रको सडक सञ्जालको पहुँच विस्तार गर्ने हो भने कम्तीमा पनि २० देखि २५ वटा सम्म मोटरयवल पुल निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि करोडौँ रुपैयाँ लाग्छ। थोरै बजेट आउँदा सबै वडाहरूमा अलिअलि दिँदा सकिन्छ। त्यस्तै केही पुराना कानुनी कुराहरू पनि विकासमा बाधक छन्। प्रयोग नयाँ सङ्घीय शासन प्रणाली तर नयाँ व्यवस्थाको विकास गर्ने कानुनी प्रक्रिया भने दशकौँ पुराना ऐन कानुनहरू छन्।

नयाँ कानुनहरू सङ्घीय सरकारबाटै बन्न सकेका छैनन्। त्यस्तै जनतालाई ठिकठिक गाउँमा नेतृत्व गर्न सक्ने नेतृत्वको क्षमतामा कमी पनि छ। आफ्नो डिउटि इमान्दारीपूर्वक पुरा नगर्ने सबै क्षेत्रका कर्मचारीहरूको समस्या पनि छ। निजामती कर्मचारीहरिहरूलाई राम्रो गर्दा प्रोत्साहन गर्न सकिए पनि नराम्रो गर्ने कर्मचारीहरूलाई बर्खास्तलगायतका कारबाही गर्ने अधिकार स्थानीय तहहरूलाई छैन। जसले गर्दा नराम्रो काम गरे पनि कसैले केही गर्न सक्दैन भन्ने कर्मचारीहरूलाई परेको छ। त्यसका लागि निजामती होउन् वा करारमा रहेका जो सुकै कर्मचारीहरूले बदमासी गरे ठउँको ठाउँको कारबाही गर्ने अधिकार पनि स्थानीय तहलाई हुनुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.