|

झापा : आइतबार झापाको कमल–५ मंगलबारे पुगेका स्थानीय सरकारका प्रतिनिधि र पाहुनालाई किसानले मुला, लौका, प्याज लगायतका तरकारीको माला लगाई दिएर स्वागत गरे। उनीहरूले कुनै विरोध वा व्यङ्ग्यस्वरूप भने त्यसो गरेका होइनन्। गाउँपालिकाले नै आयोजना गरेको कृषि प्रदर्शनीमा उनीहरूले कृषिमैत्री सामग्रीद्वारा पाहुनाको स्वागत गरेका हुन्।

कार्यक्रममा पुगेकी गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायतले मालामा किसानको मेहनत र पहिचान झल्किएको प्रतिक्रिया दिए। सयपत्री फूलसँगै विभिन्न प्रकारका तरकारी तथा अन्य कृषि उपजको माला लगाएर प्रदर्शनी अवलोकन गरिरहेका सरस्वती मावि, प्राविधिक शिक्षालयका प्रधानाध्यापक दूर्गाप्रसाद सेडाइले भने -‘किसानहरूका लागि आयोजित कार्यक्रममा किसानहरूले नै उत्पादन गरेका उपजको माला लगाउँदा रोचक लाग्यो।’

कमल–५ मंगलबारेमा आयोजित प्रदर्शनीमा गाउँपालिकाका विभिन्न वडाबाट किसानहरूले आफ्ना उपजहरू प्रदर्शनी र प्रतियोगीताका लागि ल्याएका थिए। यस्तै, गाउँपालिकाभन्दा बाहिरबाट ल्याइएका विभिन्न उपजहरूसमेत प्रदर्शनीमा राखिएको गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले जानकारी दिए।

जैविक बिषादी र मल आकर्षण

प्रदर्शनीमा किसानहरूले मकै, सिमि, खुर्सानी, फर्सी, टमाटर, आलु, बैगुन लगायतका कृषि उपजहरू प्रदर्शनीमा राखेका थिए। तर, अन्यभन्दा किसानहरूले उत्पादन गरेको जैविक मल र बिषादीसमेत अवलोकनकर्ता किसानहरूको आकर्षण बन्यो। कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले जैविक र व्यावसायिक कृषिमा प्राथमिकता दिएको भन्दै प्रदर्शनी र प्रतियोगीताहरूले किसानलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको धारणा राखिन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बजेट तथा कार्यक्रममा समेत जैविक तथा आधुनिक कृषि प्रणालीलाई प्राथामिकतामा राखिएको बताए। कार्यक्रममा किसान समूहहरूले जैविक तथा अर्गानिक खेतीका बारेमा तयार पारिएको गीतहरू पनि प्रस्तुत गरेका थिए। कार्यक्रमका अन्य वक्ताहरूले नेपालको समृद्धिका लागि कृषि क्षेत्रको विकास र आधुनिकीकरण आवश्यक रहेको भन्दै दिगो विकासका लागि जैविक र अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिनु पर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.