सुन्तला कृषकले हात पारे २८ करोड रुपैयाँ

|

तनहुँ :

सुनकै भाउ छ सुन्तला भारीको

चाखी जानु भन्ने मनकारीको

एक दशकअघि सर्जक भूपाल राईका शब्दमा कुन्ती मोक्तानले गाएको यो गीत निक्कै चर्चित बनेको थियो। यो गीत अझै जीवन्त नै छ। गीतमा सुन्तलालाई सुनसँग जोडिएको छ। यही गीतमा भने झैँ तनहुँका किसानका सुन्तला सुन झैँ बनेको छ। किनकि, तनहुँका किसानको आर्जनको महत्त्वपूर्ण स्रोत सुन्तला बनेको छ।

यस वर्ष तनहुँमा २७ करोड ७५ लाख रुपैयाँको सुन्तला बिक्री भएको छ। जिल्लामा उत्पादित ६ हजार ९३८ मेट्रिक टन सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। बगैँचा व्यवस्थापन र बजारको सहज पहुँचका कारण पनि यो वर्ष गत वर्षभन्दा बढी सुन्तला उत्पादन भएको हो।

गत वर्ष ६ हजार ५४६ मेट्रिक टन उत्पादन भएको थियो। ‘बजारको सहज पहुँचका कारण पनि यो वर्ष जिल्लामा सुन्तलाले राम्रो भाउ पायो,’ वरिष्ठ कृषि अधिकृत तेजप्रसाद दवाडीले भने, ‘सुन्तलाले राम्रो बजार पाएपछि किसानहरूमा पनि उत्साह थपिएको छ।’

जिल्लामा सानाठूला गरेर करिब ५०० सुन्तला किसान रहेको र एउटा किसानले वर्षमा ५० हजार रुपैयाँदेखि करिब २५ लाख रुपैयाँसम्मको सुन्ताला बिक्री गर्ने उनले बताए। जिल्लामा ग्रिनिङ रोगका कारण केही सुन्तलाका बोटहरू सुक्दै गरेपछि किसानहरू माझ सुन्तलाको बगैँचा व्यवस्थापनका लागि तात्कालीन कृषि विकास कार्यालयमार्फत विभिन्न कार्यक्रमहरू गरिएपछि सुधार आएको उनले बताए। ‘पहिले ग्रिनिङ रोगका कारण सुन्तलाका बोट मर्ने समस्या जिल्लामा धेरै नै थियो,’ उनले भने, ‘पछि बगैँचा व्यवस्थापनमा किसानलाई तालिम दिएपछि भने सुन्तला उत्पादनमा वृद्धि भयो। अहिले जिल्लाका किसानहरू बिक्रीबाट निकै खुसी छन्।’

अधिकांश सुन्तला किसानले समयमा नै सिँचाइ तथा मजलजको व्यवस्थापन नगर्ने, नर्सरीबाट उत्पादित गुणस्तरीय बिरुवाको छनौट नगर्ने, किसानमा प्राविधिक ज्ञानको कमी हुनुले पनि आशा गरिएअनुसारको अझै उत्पादन लिन नसकिएको उनले बताए।

व्यास-११ तनहुँसुरका युवा किसान कल्याण अधिकारीले आफूले सुन्तला बिक्रीबाट यो वर्ष २५ लाख रुपैयाँ हात पारेको बताए। ‘पहिले सुन्तलामा खासै चासो थिएन,’ उनले भने, ‘तर अहिले भने २५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेपछि निकै हौसला मिलेको छ।’ बगैँचा छाटकाँट, नियमित गोडमेल र मलजलको उचित व्यवस्थापन गर्न सके सुन्तलाबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ। आफू करिब ५/६ वर्ष पहिलेदेखि सुन्तला उत्पादनमा लागेको उनले बताए। ‘पहिले सुन्तला किसान हुँ भन्दा मानिसहरूले नाक खुम्च्याउँथे,’ उनले भने, ‘तर अहिले सुन्तला बेचेर फलानोले लाखौँ हात पार्‍यो रे भनेर भन्दा निकै खुसी लाग्छ।’

म्याग्दी-३ किलचोकका किसान सुकनारायण श्रेष्ठको सुन्तलासँगको साइनो भने अचम्मको छ। करिब १० वर्ष पहिले पहिरो नियन्त्रण गर्न लगाएको सुन्तलाले अहिले लाखौँ आम्दानी दिन थालेपछि उनी मक्ख छन्। गत वर्ष १७ लाख रुपैयाँ हात पारेका उनले यो वर्ष २० लाख रुपैयाँ आम्दानी गरे। ‘बगैँचा व्यवस्थापनमा करिब तीन लाख रुपैयाँ खर्च हुन्छ,’ सुन्तला बगैँचा देखाउँदै उनले भने, ‘अचेल बगैँचामा सुन्तला होइन सुन फलेको जस्तो पो लाग्छ त।’ उनको बगैँचामा करिब ७०० बोट सुन्तला छन्।

देवघाट, बन्दिपुर,  छिपछिपे, व्यास नगरपालिका, म्याग्दी र शुक्लागण्डकी पकेट क्षेत्र हुन्। जिल्लामा करिब एक हजार ४७७ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिने केन्द्रले जनाएको छ। जिल्लामा उत्पादित सुन्तलालाई किसानले थोक व्यापारीलाई प्रतिकिलो ४० रुपैयाँका दरले बिक्री गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.