थाहा संवाद

रोजीरोटीको पिरलो नभए विश्वकप जित्छौँ : कप्तान भगवती
SHARES

फागुन ७, २०७५

    काठमाडौं : नेपालले सन् २००९ मा विश्वमै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली निर्माण गरेर कीर्तिमान बनायो। तर टोलीलाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न त्यसको ५ वर्ष लाग्यो। अनि विदेश भ्रमण गर्न १० वर्ष कुर्नु पर्‍यो । त्यही टोलीले अन्तर्राष्ट्रिय उपाधि भित्र्याएको छ । यो नेपालीका लागि गौरवको विषय हो।  

    नेपालले पाकिस्तानमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको छ। पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको पाँच खेलको टी २० सिरिज नेपालले ४–० ले जितेको हो। सीमित साधन स्रोतका बाबजुत नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले गरेको यो योगदानको जति नै प्रसंशा गरे पनि कमि नै हुन्छ । 

    नेपालमा दृष्टीहीन खेलाडीको अवस्था, सरकारबाट प्राप्त सहयोग, सामाजिक बुझाई र आगामी लक्षका बारेमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी कप्तान भगवती भट्टराईसँग थाहा खबरका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

    टिम बनेको पाँच वर्षपछि अन्तर्राष्ट्रिय ट्रफी उचाल्दा कस्तो अनुभव भयो ?
    हामी २०६४ सालदेखि खेल्न थालेका थियौं। अहिले आएर सफलता मिलेको छ। खुसी छौं। हामीले सोचेका पनि थिएनौं कि पाकिस्तान जस्तो टिमलाई जित्छौं भनेर। हाम्रो टोलीको जुन लगाब र मेहनत छ यसबाट हामी विश्वकप सम्म पुग्न सक्छौ र जित्न पनि सक्छौं । दृष्टि विहीन त्यसमाथि पनि महिला यो स्थानसम्म पुग्न त्यती सहज छैन । तर पनि हामीले गरेर देखायौँ। 

    कति सहज छ गेम खेल्नको लागि ?
    त्यती सहज छैन। महिला त्यसमाथि दृष्टिविहीन महिला झन गाह्रो छ। खेलाडीको सबैभन्दा ठूलो चुनौति आर्थिक अवस्था हो। यसमा सरकारले सर्पोट गर्यो भने हामी अझै राम्रो खेल्न सक्छौँ। सरकारको सहयोग चित्त बुझाउन सकिने छैन । यो काम चलाउ हो भन्दा हुन्छ। सहयोग पर्याप्त भए अझै राम्रो बनाउन सकिन्छ ।

    कसरी खेल्नु हुन्छ ?
    देख्नेहरुको क्रिकेट र हाम्रो क्रिकेटमा केही नियम मिल्छन्। टिममा ११ जना हुन्छौँ, ४ जना एक्स्ट्रा खेलाडी हुन्छन्। टिममा बी वान, बी टू र बी थ्री क्याटोगरी हुन्छ।  बी वान कत्ति नि नदेख्ने, बी टू पाँच मिटरसम्म देख्ने र बी थ्री १० मिटरसम्म देख्ने हुन्छन। बल भित्र पनि साइकलको स्प्रिङ जस्तो राखिएको हुन्छ र यो बज्छ र हामीले बल कता छ भन्ने थाहा पाउछौँ। बल गुडाएर फ्याकिन्छ।

    बी वानले आवाज आधारमा व्याटिङ गर्छ भने बी टू आवाज र दृष्य तथा बी थ्री दृष्यका आधारमा खेल्ने गर्छ। बी वान ले एक रन लिए दुई रन हुन्छ। बी टू र बी थ्रीको एक रन नै हुन्छ। बी वानको अर्को खेलाडीले रन लिनु पर्छ। अनि बी वानले चौका हान्यो भने अठ्ठा हुन्छ। बी वानले बलिङ गर्दा विकेट किपरले एस भन्नु पर्छ अनि बलिङ गर्नु पर्छ । ब्याट भने अन्यको जस्तै सामान्य नै हुन्छ। 

    प्राक्टिसको लागि के छ अवस्था ?
    अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जानुअघि पनि हामीले उपयुक्त ग्राउण्ड पाएनौँ। जसका कारण पर्याप्त मात्रामा सिक्न पाएनौँ। ग्राउण्ड नहुँदा समस्या हुन्छ। त्यो समस्या हामीले पनि झेल्यौँ। हामीले करीब २० दिनको प्राक्टिसले पनि पाकिस्तानलाई जित्यौँ। यति प्राक्टिसले पुग्दै पुग्दैन । वर्ल्कपका लागि भने यो पर्याप्त हुँदैन। 
    खेलाडिहरुको आर्थिक अवस्था कस्तो छ ? सन्तुष्ट हुनुहुन्छ खेलबाट ?

    अहिले खेलाडीको प्रमुख चुनौति भनेकै आर्थिक अवस्था हो। रोजीरोटीकै समस्या छ। कतैबाट केही व्यवस्था भएको छैन। सरकारले पनि ध्यान दिए जस्तो लाग्दैन।  

    नयाँ खेलाडी उत्पादनका लागि के हुँदै छ ?
    नयाँ खेलाडी उत्पादनका लागि सरकारले नै पहल गर्नु पर्ने हो । हाम्रो तर्फबाट विभिन्न स्थानका साथीसँगको भेटघाटबाट नयाँ खेलाडीका विषयमा चर्चा त गर्छौं। तर गेमको आयोजना गरेर नयाँ खेलाडी उत्पादन गर्न समस्या नै छ। 

    नर्मलका लागि अन्य सस्ंथाले पनि सहयोग गरेका छन् र प्रतियोगिता पनि भएका छन्  तर हाम्रा लागि त्यस्तो भएको छैन। यो दुखद् हो । धेरै ठाउँमा गएर खेलाडी खोज्नु पर्छ। सरकारी स्तरबाट पहल भयो भने यो अझै सहज र राम्रो हुन्छ। केही साथीले त रोजीरोटीको लागि काम गर्ने कि खेल खेल्ने भन्दै प्रश्न गर्नु हुन्छ। कन्भिन्स गर्नै गाह्रो छ । 

    खेलाडीहरुलाई कसरी हेर्दो रहेछ समाजले ?
    पहिलाभन्दा अहिले धेरै सुधार छ । अहिले सञ्चार माध्यमको सहयोगबाट अहिले हामी स्थापित हुँदै छौँ। जब अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता मिल्यो, अहिले धेरैले चिन्नु हुन्छ । मेरै बुबाले भन्नु हुन्थ्यो खेलर के पाउछौं? तर अहिले उहाँको राम्रो सर्पोट छ। यसैगरी, सबैका अभिभावकले राम्रै छ भन्नु हुन्छ। हामीलाई हेर्ने दृष्टिकोणमा पनि अहिले धेरै सुधार आएको छ। जब अन्तर्राष्ट्रिय क्रिकेट जितेर आइयो तब हामीलाई माया गर्नेको संख्या बढेको छ। सरकार कै मन्त्रीले पनि सम्मान गर्नु भयो। खुसी लाग्यो। 

    मन्त्रीले के आश्वासन लिनु भयो त ?
    आर्थिक सहयोग गर्छु भन्नु भएको छु। तोक्नु भएको छैन। आश्वासन दिनु भएको छ हेरौं के गर्नु हुन्छ। एउटै ब्याटलाई पाँच हजार पर्छ। यस्तो महंगो ब्याट व्यक्तिगत रुपमा किन्न गाह्रो नै पर्छ । भारत, पाकिस्तानबाट बल ब्याटको सहयोग भएको छ। अब सरकारले नै केही गर्छ कि ? अहिलेसम्म नेपाल सरकारको तर्फबाट खेल सामग्री उपलब्ध भएको छैन। 

    देशभर नेत्रहिन महिला क्रिकेटर कति छन्  र उनीहरुको आवस्था के छ ?
    करिब ३ सय ५० जति छन्। प्रतियोगिताका क्रममा भेट हुन्छ। हामी बेलाबखत नेत्रहीन पुरुष क्रिकेट टोलीसँग पनि गेम खेल्छौँ।

    खेल व्यवस्थापन गरेर टोलीलाई जित दिलाउन क्याप्टेनसिप कत्तिको गाह्रो हुन्छ ?
    गाह्रो छ । सबैको चित्त बुझाउनु पर्‍यो । अर्को तर्फ गेम जितिन्छ कि हारिन्छ भन्ने टेन्सन पनि उत्तिकै हुन्छ । मेरो अनुभवमा देशभित्रका टुर्नामेन्टभन्दा अन्तर्राष्ट्रिय टुर्नामेन्ट अझै गाह्रो लाग्यो । देशभित्र साथी मिलाइन्थ्यो खेलिन्थ्यो तर देश बाहिर त्यस्तो नहुँदो रैछ । यसैगरी क्याटोगरी अनुसारको खेलाडी छनोट पनि गाह्रो नै छ । बी वान खेलाडी व्यवस्थापन अझ चुनौतिपूर्ण छ । त्यसैगरी बी थ्री खेलाडी व्यवस्था पनि गाह्रो छ। अनि हामीलाई कोचको पनि अभाव छ। आवाजका आधारमा खेल्ने हुँदा सिकाउन पनि समस्या नै हुन्छ । 

    विदेशी खेलाडीको प्रतिक्रिया कस्तो पाउनु भयो ?
    विदेशी खेलाडी धेरै सहयोगी रहेको पायौं। पाकिस्तानको बारेमा कुरा गर्नु पर्दा त्यहाँ सरकारले नै सहयोग गर्दो रहेछ र नै प्राक्टिस पनि गराउँदो रहेछ । साथमा भत्ता पनि दिँदो रहेछ। उनहरुले भने कि तपाईंहरुले यो सेवा सुविधा पाउनु भयो भने अझ राम्रो गर्न सक्नु हुन्छ। र नेपाली क्रिकेट टिम अझ मजबुत हुन्छ। 

    सरकारले के गर्नु पर्छ अब ?
    धेरै भन्दा धेरै प्रतियोगिता गराउनु पर्‍यो। खेलाडीको आर्थिक अवस्थामा सुधार आउने गरी व्यवस्थापन गरिदिनु पर्‍यो। खेलाडीले रोजीरोटीको बारेमा चिन्ता गर्नु नपर्ने स्थिती बनाइदिनु पर्‍यो। यो भयो भने हाम्रो टिम अझ बलियो हुन्छ। 

    परिवारबाट कत्तिको साथ पाउनु भएको छ?
    मेरो परिवारमा आठ जना सदस्य हुनुहुन्छ । सबैबाट राम्रो सर्पोट पाएकी छु । श्रीमान् पनि खेलाडी नै हुनुहुन्छ । उहाँको साथ नपाएको भए म यहाँसम्म आउने थिइन् । सासुससुराको पनि राम्रो सहयोग छ। घर परिवारबाट सहयोग नपाएको भए क्याप्टेनसिप गरेर अन्तर्राष्ट्रिय गेम खेल्ने सम्भावना नै हुने थिएन। दुई वटा बाबु छन् । बाबुलाई बुबाम्मीले हेर्दिनुहुन्छ । र मैले यसरी खेल्ने अवसर पाएकी छु । 

    तपाईंको र क्रिकेट टोलीको अबको लक्ष के हो?
    शिक्षण पेशा छँदैछ। यसबाट जीवीकोपार्जन चल्छ। यसका अलावा नेत्रहीन महिला क्रिकेटलाई अगाडी बढाउन चाहान्छु। जिल्ला स्तरबाटै खेलाडि छनोट गरेर टिमलाई अझ राम्रो बनाउने इच्छा छ । वर्ल्डकप जित्ने चाहना र योजना छ। यसका लागि सबैको सहयोग आवश्यक छ।

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]