विचार

तारकब्रह्‍मा महायज्ञदेखि गोबरगाडाको यात्रा
SHARES

...अनि पत्थरको देवताझैँ तोडिएर जोडिएका, देव दाइ

फागुन ९, २०७५

    जीवनमा कहिले काहीँ यति मिठो संयोग जुर्छ, जसलाई सपनामा पनि सायदै कल्पिएको होला। तर, त्यस्ता कतिपय संयोग यही जन्मको पुण्यका कारण पनि जुरेका हुन सक्लान्।

    बितेका केही महिना उमंग र उत्साहविहीन रहे, ममीको स्वास्थ्यका कारण। शायद गुलाफ सुगन्धको मात्र पर्यायवाची होइन रहेछ। घोचेर पीडा दिने काँडाको घर पनि त हो। जीवन र गुलाफको बोटमा शायदै केही अन्तर होला। जहाँ माया त्यहाँ नै पीडाको बास हुँदो रहेछ। माया नभए पीडा पनि नहुँदा हो, जीवनमा।

    केही दिन तनावमुक्त हुने चाहनामा काठमाडौंछोड्ने निधो गरियो। बहाना बनाइयो, चतरामा आयोजना भएको तारकबम्ह्र महायज्ञलाई। आयोजक कै दाबीलाई मात्र मान्ने हो भने पनि यो पृथ्वीलोकमा ७०५ वर्षपछि त्यो महायज्ञ आयोजना भएको रहेछ। अझ आयोजक पीठका प्रमुख कृष्णदासजी महाराजको दाबीलाई मान्ने हो भने अर्को १५०० वर्षसम्म त्यस्तो महायज्ञ हुने सम्भावना पनि छैन रे! खास कुरो के हो, उनले नै अति मान्ने रामचन्द्रजीले नै जानोस्।

    वास्तविकता के हो, अहिले अध्ययन गर्ने विचार पनि गर्दैछु। त्यो दाबीलाई अहिले नै सही वा गलत भन्ने अवस्थामा भने छैन। मेरा सुसुराबा पनि त्यो महायज्ञ आयोजनाको एक हर्ताकर्ता भएका नाताले पनि त्यहाँ पुग्नु बाध्यता नै थियो। नगएको भए सारा जीवनसँगै बिताउने कसम खाएकी अर्धाङ्गीनीको ‘मुड अफ’ हुँदा व्यहोर्नुपर्ने शब्दको बाणले मनलाई कति चस्काइरहन्थ्यो, धोचिरहन्थ्यो। मलाई मात्र पत्तो हुन्थ्यो। अनि कहिले काहीँ मनमै तीर झैँ रोप्ने उसका ‘डाइलग’ को सूचीमा थप एक सङ्ख्या पनि थपिन्थ्यो नै। त्यसैले हिँडियो ‘भ्यालेन्टाइन डे’ भन्दा एकदिनअघि बुढा सुब्बाको थलोमा, मात्र हामी बुढा–बुढी।

    म जन्मनुभन्दा केही वर्षअघिदेखि नै साङ्गीतिक यज्ञमा होमिएका दीप श्रेष्ठको गायन यात्राले यसै वर्ष ५०औँ वार्षिकोत्सव पनि मनाउँदै रहेछ। आफू जन्मे हुर्केको धरान उनको मनबाट कहिल्यै उम्कन पाएको रहेनछ। त्यसैले जीवनमा पहिलो गीत जुन थलोमा गाए त्यही थलोमा ५० वर्षको अनवरत साङ्गीतिक यात्रालाई सम्झने प्रयास गरेका रहेछन्, उनले। आखिर जन्म दिने आमा र जन्मिएको थलोको माया उस्तै हुन्छ भनेको त्यही होला।

    जीवनमा केही राम्रो हुँदैछ भने संयोग पनि राम्रै जुर्दै जाँदो रहेछ। धरानका पुराना पत्रकार वासुदेव बराल आजकाल पर्यटन व्यवसायी बनेका छन्। लामो भेटघाटविहीन मोबाइल सम्पर्कपछि उनले आफ्नै होटेलमा हाम्रो बासको व्यवस्था गरिदिए। धुलिखेल–बर्दिबासको बाटो हुँदै धरान पुग्न हामीले १०–११ घण्टा खर्चियौँ। केही वर्ष अगाडि हिँडेकोभन्दा निकै बिग्रिसकेको रहेछ, त्यो बाटो। जसरी मुलुक हरेक दिन दिक्दारीलाग्दो बन्दै छ, त्यसरी नै।

    विकासको यात्रा सधैँ उल्टो गतिमा। त्यो बाटो मर्मत–सम्भार गर्ने जिम्मा पाएका, ठुला गाडी र ट्रिपर चलाउन नदिने भनिएको मार्गमा ती सबै सवारी साधन चलाउन छुट दिने अनि बाटो बिगार्न सहयोग पुर्‍याइरहेका जिम्मेवार सबैलाई मनमनै गाली पनि गरियो। २०७२ को भूकम्पअघि वैशाख १ गते अन्तिम पटक त्यो बाटोमा यात्रा गर्दा जुन हर्षको अनुभव भएको थियो, यस पटक ती सबै खरानी भए। 

    धर्म गर्न हिँडेको हामी दुईलाई पुण्य त चतरामा भइरहेको महायज्ञमा पुग्नु अगावै हात लाग्यो। शायद त्यो लोभलाग्दो बाटो बिगार्ने पापीहरूलाई मनमनै सरापेका पनि होला कि? पुराना परिचित कपिल लोहनी पनि धरानको त्यही होटेलमा बसेका रहेका छन्, जहाँ हाम्रो बास थियो। हुन त पेसाले बैंकर भए पनि उनी गीत–सङ्गीतका औधी सौखिन हुन्। आफैँ गाउँछन् पनि। काठमाडौंमै त्यति भेट नहुने कपिल दाइसँगको भेट जीवनका थप रोमान्चक संयोग जुराउने माध्यम नै बन्यो। त्यो रात धरान मै बसेका हामीलाई उनले भोलिपल्ट आफूसँगै ‘द जेन्टलमेन’ बाण्डले प्रस्तुति दिने भ्यालेन्टाइन डे कार्यक्रममा उपस्थित हुन निम्तो पनि दिए। भोलिपल्ट दिनभर महायज्ञ स्थल र बराहराममा धर्मकर्म गरेको फल साँझ नहुँदै पाइन्छ भन्ने हामीलाई के थाहा? तर पाइयो। विद्धानको कुरा मान्ने हो भने यस जन्मको फल अर्को जन्ममा पाइन्छ रे! तर, मेरो बारेमा यस पटक ती भनाइ मिथ्या भए।

    चतराबाट होटेल फर्कँदा अनायासै त्यहाँ वरिष्ठ गायक दीप श्रेष्ठसँग भेट भयो। कपिल दाइमार्फत चिनापर्ची र गफगाफ भएपछि उनले शनिवार धरानमा हुने उनको एकल साङ्गीतिक प्रस्तुतिमा उपस्थिति जनाउन उर्दी नै जारी गरिदिए, त्यो पनि सप्तरीमा रहेका मेरा मित्र प्रहरी उपरीक्षक राजेन्द्र विष्टका साथ। 

    म जन्मनुभन्दा केही वर्षअघिदेखि नै साङ्गीतिक यज्ञमा होमिएका दीप श्रेष्ठको गायन यात्राले यसै वर्ष ५०औँ वार्षिकोत्सव पनि मनाउँदै रहेछ। आफू जन्मे हुर्केको धरान उनको मनबाट कहिल्यै उम्कन पाएको रहेनछ। त्यसैले जीवनमा पहिलो गीत जुन थलोमा गाए त्यही थलोमा ५० वर्षको अनवरत साङ्गीतिक यात्रालाई सम्झने प्रयास गरेका रहेछन्, उनले। आखिर जन्म दिने आमा र जन्मिएको थलोको माया उस्तै हुन्छ भनेको त्यही होला।

    गीत गाउँदा गाउँदै ५० वर्ष कसरी बित्यो? के कस्ता सङ्घर्ष गरे भनेर सोध्न मन लागेन। तर, उनको कुराबाट पक्का भइयो, उनी आफ्नो कर्मबाट खुसी नै रहेछन् भन्ने। गफैगफमा। गीत भनेको के हो भनेर थाहा पाउँदादेखि नै नाम सुनेका प्रसिद्ध गायक मलाई त पहिलो भेटमा नै आफन्त झैँ लागे। अरूलाई पनि यस्तै हुँदो हो। हिमाल पग्लेपछि सागरमा मिलेको पानी बादलको स्वरूपमा फेरी त्यही हिमालमा ठोक्किन आउँदा जुन आत्मीयताको अनुभव हुन्छ होला। त्यस्तै आत्मीयता बोध भयो। अनि मलाई पनि दीप श्रेष्ठ कुनै पराइ झैँ लागेनन्। मेरा पुराना परिचित झैँ लागे। उनलाई पो लाग्यो होला, म पूर्णरुपमा पराइ। तर, जेन्टलमेन बाण्डको भ्यालेन्टाइन डेको प्रस्तुतिमा एउटै टेबलमा केही घण्टा बस्दा वरिष्ठ गायक दीप श्रेष्ठ, मेरा लागि ‘दीप दाइ’ बनिसकेका थिए भने उनकी धर्मपत्नी ‘सोफिया भाउजू’।

    बंजाराको जिन्दगी कति सुखद होला। त्यस्तै अनुभूति पनि भयो, यसपटकको पूर्वको भ्रमणमा। बिहीबार धरानमा भ्यालेन्टाइन डे मनाएका हामी बुढा–बुढी शुक्रवार लाग्यौँ, सप्तरीको सदरमुकाम राजविराजतिर। दीप दाइसँग बाचा गरिएकै थियो, शनिवार उनको एकल साँझमा उपस्थित हुन फेरी धरान फर्कने। आखिर सुन्नु त थियो नै, उनले ५० वर्ष अगाडि रेकर्ड गराएको पहिलो गीत, ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’। अनि सोफिया भाउजूको प्रेममा तयार पारेको गीत, ‘म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर’। हेर्दै लाग्छ, सोफिया भाउजू दीप दाइभन्दा उमेरले १०–१२ वर्ष कान्छी नै होलिन्। मैले उनीहरूलाई सोधिन, अनुमान लगाएको मात्र। दार्जिलिङ निवासी सोफिया भाउजू पहिलो हेराइ मै दीप दाइको मनमा बसिछन्। मनमा बसेपनि मुखले बोल्न नसक्दा तयार भएको रहेछ, त्यो गीत। 

    हेर्दै रोमान्टिक देखिने दीप दाइ बाठा पनि रहेछन्। हरेक रोमान्टिक गीत पत्नीमा समर्पित गर्ने। तर, घुमाउरो पारामा अरू महिलाको पनि चित्त नदुखाउने। अनि गाइहाल्ने ‘मेरी मायालु, बितेका कुराले केही चोट लाग्दा, तिमी टाढा हुँदा धेरै दुख लाग्छ!। यस्ता गीतका सर्जक कै मुखबाट मनलाई छुने गीत सुन्न कसले छुटाउन सक्ला र? मैले पनि सकिन, फर्कियौँ, शनिवार फेरी धरान। मेरा लौगटिया यार, सप्तरीका प्रहरी प्रमुख राजेन्द्रका साथ।

    मित्र पनि यस्ताका कि लौंगटिया भनेर जीवनमा एउटै अण्डरवेयर त लगाइएन तर, अरू लुगा भने साटेर पनि लगाइन्थ्यो। मुला! न मेरा लागि दुख गर्न हिच्कीचाउँने, नत मलाई दुख दिन। हामी राजविराज पुगेकै दिन त्यहाँका उच्च र जिल्ला अदालतका न्यायाधीश, प्रमुख जिल्ला अधिकारीसहित प्रहरी टोलीको गोबरगाडामा अनुगमन गर्ने कार्यक्रम तय रहेछ। हामीलाई त्यो स्थान देखाउन उसले सबै वरिष्ठहरूलाई केही बेर कुराउनु पनि परेछ। माननीयहरूसँग मैले त्यो बेला ढिलाइको माफी मागिन, अब माग्नुको के नै अर्थ रहला र खै?

    सम्बन्ध टुट्न जति बेर लाग्दैन, गाँसिन पनि कुनै समय लाग्दो रहेनछ। दीप दाइका परम हितैषी देव दाइको बाँच्ने कलाले नै गलत साबित गरिदिएका छन्, उनको पहिलो गीत ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ भावलाई। उनी त तोडिएका पनि छन्, जोडिएका पनि छन्।

    कुनै बेला लिटिल पाकिस्तानका नामले परिचित गोबरगाडा नेपालमा रहेका सीमित केही टापु मध्ये एक पनि रहेछ। नेपालतिर सप्तकोशीको ५–७ भँगालो पार गरेपछि मात्र त्यहाँ पुग्न सकिने। करिब २ सय घर रहेको त्यो बस्तीको प्रमुख व्यवसाय पशुपालन भन्ने गरिँदो गरेछ। तर, विहारमा मदिरामाथि प्रतिबन्ध लगाइपछि उनीहरूको व्यवसाय पनि परिवर्तन हुँदै गएको रहेछ। प्रहरी प्रशासनको पहुँचमा कठिनाइ भएकै कारण आपराधिक गतिविधिका लागि पनि कुख्यात मानिँदो रहेछ गोबरगाडालाई। भारत वा नेपालमा कोही अपहरणमा पर्‍यो भने लुकाउन सजिलो स्थानमा समेत दरिएको रहेछ, त्यही गोबरगाडा। वर्षामा कोसीमा आउने बाढीले ३ फिटसम्म डुबाउँदा पनि आफ्नै घरमा बस्ने रहेछन्, त्यहाँका बासिन्दा। हरेक वर्ष कोशीले दिने कष्टलाई पनि झलेकै छन्, उनीहरूले।

    आँखाले भ्याएसम्म कोशीले बनाएको मरुभूमि नियाल्दै ट्याक्टर चढेर पुगियो, ती सारा वरिष्ठ नेपाली व्यक्तित्वहरूका साथ, गोबरगाडा। प्रहरीको गाडीसमेत चलाउन सकिँदैन रहेछ, बालुवामाथिको बाटोमा। त्यहाँका स्थानीयले खीर तरकारीबाट गरेको स्वागत अहिले पनि जिब्रोमा झुन्डिएको छ। कोसी तटमा उम्रिएका घाँस खाने भैँसीका दूध वास्तवमा मिठो हुँदो रहेछ, थाहा पनि पाइयो। अनुभव लिइयो, नेपालमा यस्तो ठाउँ पनि रहेछ, जहाँ हुने हरेक आपराधिक गतिविधिमा कानुन मूकदर्शक बन्नै पर्ने बाध्यता।

    शनिवार फेरि धरान फर्कियौँ, दीप दाइको आग्रह टार्न नसकेर। मन्त्रमुग्ध नै बनायो, उनको आवाज र व्यवहारले। २५ वर्ष एकेडेमीमा खाएको जागिरले अहिले पनि उनको चित्त बुझाउन सकेको रहेनछ। ‘सरकारी जागिर नखाउँ भन्दा भन्दै २५ वर्ष बिताइएछ,’ उनले आफ्नै गीत झैँ मिठो हाँसोका साथ भने मसँग, ‘हुन त मलाई कृषि पनि आउँछ तर, सरकारी नीतिका कारण सुरु गरेको कृषि व्यवसायलाई निरन्तरता दिन सकिन!

    फर्कने दिन दीप दाइ हामीलाई बिदा गर्न होटेल मै आइपुगे। केही वर्षअघि अनामनगरको केही भाग डुबानमा पर्दा, उनको कार पनि त्यसको चपेटामा परेको रहेछ। काठमाडौमा भने जस्तो गरी बन्न नसकेपछि पानीटंकीमा बनाउन उनी त्यतातिर लागे अनि हामी काठमाडौंतिर। फर्कँदा मेरो गाडीमा थप दुई जना अटाए। गाडीमा मात्र होइन, १०–११ घण्टाको यात्राले उनीहरूप्रति मनमा पनि असीम आस्था बसायो।

    जेन्टलमेन ब्यान्डका देव राना र ज्योति घिमिरे। उमेरले ६ दशक पार गरिसकेका दुवै जनाको साङ्गीतिक जोस त धरानमै देखिएको थियो। ६६ वर्षको उमेरमा पनि देव दाइको ड्रम सेटमा जसरी हात नाच्छ, अनि भन्न सकिन्छ शायदै कोही अर्को होला उनको कोटीका ड्रमर नेपालमा? ब्रिटिस लाहुरे पिताका छोरा देव दाइले गाउने अङ्ग्रेजी गीतहरूले पनि कसको मनको तार नझन्झनाउँला र? अनि ज्योति दाइको गीत ‘नशालु तिम्रो आँखैले, मलाई लठ्ठै पार्‍यो तिम्रो हेराइले,’ हरेक लाइभ कन्सर्टको ज्यान हुने नै गर्छ।

    नेपाल टेलिकमबाट अवकाश पाएपछि ज्योति दाइ गीत–सङ्गीतसँग अझ नजिक भएका छन्। जागिरले सङ्गीत साधनामा खनिएको खाल्डो अब पुर्ने उनी कोसिस गर्दै छन्। उनको आवाज सुन्ने हो भने जो कोहीले पनि नहिच्किचाइ भन्न सक्छ, ‘किन उनले जागिरलाई माया गरेर नेपाली सङ्गीतलाई अवगुण लगाए?’ कुनै जमानामा आरसीटीका फुटबल खेलाडीसमेत रहेका उनको पहिलो माया सङ्गीत नै रहेछ। त्यसैले उनी दीप दाइको हरेक गायन साँझमा गितार बजाउन पुगेकै हुन्छन्। उनको गितारबाट जति मिठा धुन निस्कन्छन्, उनका बोलीका तार पनि त्यति नै मिठा छन्।

    पत्नी, छोरा, छोरी, नाति–तानिनाका अभिभावक हुँदा पनि उनलाई साङ्गीतिक माहौल सजाउन कतैबाट रोकटोक छैन। दुवैभित्र सङ्गीतप्रतिको लगाव र जोस कुनै १६ वर्षे ठिटोभन्दा कम छैन। तर, देव दाइको ड्रमबाट जति आनन्दको ध्वनि गुन्जन्छ, उनले भोगेको जीवनका पछिल्ला दिनहरूले त्यति नै भावुक पनि बनाउँछ। मृगौलाको रोगका कारण पत्नी वियोगमा परेका देव दाइले दुई वर्षअघि एकमात्र पुत्रको वियोग पनि सहनु पर्‍यो। मनमा बसेका दुई जनाले छाडेर जाँदा उनी उक्ला भएका छन्, सांसारिकरुपमा। तर, उनलाई माया गर्नेहरूले उनलाई कहिल्यै एक्लोपन महसुस हुन दिएका छैनन्।

    कल्पनाभन्दा बाहिरको वियोग सुनाउँदा पनि उनको आँखाले मनका वेदनालाई बाहिर आउन दिएन। जति राम्रा संगीतज्ञ त्योभन्दा बलियो मन भएका रहेछन् उनी। देव दाइ र ज्योति दाइका किस्सा सुन्दा धरानदेखि काठमाडौंसम्म गाडी चलाउँदा पनि पटक्कै थकाइ अनुभव भएन। ‘चेतन भाइ, यही जीवन हो, पीर गरेर के नै हुँदो रहेछ र, मलाई पनि एक दिन त जानु नै छ, हाँसेरै बाँच्छु, आखिर मेरा पत्नी र छोरा जहाँ छन्, उनीहरूले पनि त मलाई हाँसेरै स्वागत गर्छन् होलान् नि,’ निकै बलियो छाती रहेछ देव दाइको, ‘यस्ता सोचाइले मलाई सधैँ उनीहरूको नजिक राख्छ। मैले धेरै पटक सपनामा छोरासँग कुरा गरेको छु। त्यसले पनि मलाई आत्मसन्तुष्टि दिन्छ नै।’  

    उनले भाषामा बुनेका छोराप्रतिको आत्मीयता सुन्दासुन्दै अनायासै मलाई एक पटक कसिलोसँग अङ्कमाल गर्ने रहर पनि जाग्यो, एक पटक छातीमा टाउको पनि राख्ने रहर पलायो। अनि एक पटक भक्कानिएर रुने रहर पनि जाग्यो। कता कता मैले उनीभित्र आफ्नै पिताको बिम्ब पो देखेँ। तर, म उनको पुत्र जस्तो बन्नै सक्दिन थिएँ। उनलाई उनका छोराले झैँ माया गर्न पनि सक्दिन रहेछु, जसले पिताको हेरचारका लागि पत्नीलाई नै छाडे। अनि पितालाई कष्ट होला भनेर आफ्नो रोग लुकाउँदा लुकाउँदै यो संसारबाटै बिदा भए।  यसरी नै माया गर्थे, मेरा बाबा पनि मलाई, जसरी देव दाइको आँखामा उनको छोराप्रतिको असीमित लगाव झल्किरहेको थियो।

    मेरा बाबाले गर्ने माया र उनको मायामा केही कुनै भिन्नता देखिन पनि। वास्तवमा मन सागरभन्दा गहिरो र चञ्चल हुन्छ। जहाँ जे पनि अटाउन सक्छ। मायाको समुन्द्र अनि घृणाका पहाड पनि। तर, हामीले घृणाका कुरा गरेनौँ। छोरालाई प्रेम विवाहको दुई वर्षभित्रै छाडेर जाने बुहारीप्रति पनि उनले घृणा दर्साएनन्। जीवन यस्तै हुँदो रहेछ भनेर चित्त मात्र बुझाएका छन्। सङ्गीत झैँ गहिरो रहेछ, देव रानाको छाती। त्यो दिन उनीसँग छुट्ने बेला उनको छातीमा टाउको राखेरै बिदा मागेँ मैले। त्यस बेला पनि केही गुमाउन लागे झैँ महसुस भयो।

    सम्बन्ध टुट्न जति बेर लाग्दैन, गाँसिन पनि कुनै समय लाग्दो रहेनछ। दीप दाइका परम हितैषी देव दाइको बाँच्ने कलाले नै गलत साबित गरिदिएका छन्, उनको पहिलो गीत ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ भावलाई। उनी त तोडिएका पनि छन्, जोडिएका पनि छन्। देव दाइ र ज्योति दाइबाट पाएको आत्मीयताले मलाई यही विश्वास दिलायो। सङ्गीतमा डुब्न मन पनि आकाशभन्दा विशाल हुनै पर्दो रहेछ, चानचुनेको बसको कुरो होइन रहेछ, गीत सङ्गीत। 

    म गीतकार होइन, लेख्न पनि आउँदैन तर पनि लेख्दालेख्दै अनायासै मेरो मनमा पनि फुर्‍यो, ‘म मन दिन सक्छु, 

    माया दिन सक्छु, 
    तिमीलाई अँजुलीभरी बहार दिन सक्छु, 
    एक पटक तिमी पनि मुटु फुकाएर त हेर। 
    म घृणा दिन सक्छु, 
    तिरस्कार दिन सक्छु, 
    सागरभन्दा गहिरो पीडा दिन सक्छु, 
    एक पटक तिमी मनमा तीर चलाएर त हेर।।
    किनकि म कुनै देवता होइन।।।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]