|

धनकुटा : गाउँघरमा घिउफल भनेर चिनिने एभोकाडोको खेती धनकुटा नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा बिस्तार हुँदै गएपछि यस क्षेत्रलाई ‘एभोकाडोको राजधानी’ घोषणा गरिएको छ।

एभोकाडोलाई उच्चकोटीको र स्वास्थ्यवर्द्धक फलको रुपमा लिइन्छ। यही फलबाट धनकुटा नगरपािलका–३ पात्लेका किसान गोपाल वाग्लेले पहिलो पटक खाने तेल र घिउ उत्पादन गरेका छन्। धनकुटा नगरपालिकाले 'मेयर कृषि पर्यटन कार्यक्रम'अन्तर्गत एभोकाडो पहिलो श्रेणीमा परेकाले एभोकाडोको राजधानी घोषणा गरिएपछि एभोकाडोको व्यावसायिक खेतीमा लागेका वाग्लेले बताए।

तर, उनले उत्पादन गरेको एभोकाडो सबै बिक्री भएन। बिक्री नभएका करिब पाँच क्विन्टल एभोकाडोको बोक्रा र दाना छुट्याएर घाम सुकाए। त्यसलाई तेल पेल्ने चेपुवा (पेचा)मा लगाएर पेली तेल निकाले।

यसरी पेल्दा १० केजी पाकेको एभोकाडो बराबर एक लिटर तेल आएको वाग्लेको भनाइ छ। धनकुटा नगरपालिकामा आफूले पहिलो पटक एभोकाडोबाट खाने तेल र घिउ उत्पादन गरेको उनको दाबी छ। १० केजी पाकेको एभोकाडोलाई दुई हजार रुपैयाँ पर्ने गरेको र मजदुरलाई ज्याला दुई दिनको ६०० रुपयाँ गरी जम्मा दुई हजार ६०० मा एक लिटर उत्पादन हुने र प्रतिलिटर तीन हजार रुपयाँमा बिक्री गर्न सकिने उनको भनाइ छ। 

सुन्तलाको बिकल्प बन्दै एभोकाडो

धनकुटा नगरपालिका–४ स्कुलडाँडाका कृषक राजकुमार तामाङ सुन्तला खेती छोडेर एभोकाडो खेतीतर्फ लागेका छन्। सुन्तलामा विभिन्न समस्या देखिएपछि उनी एभोकाडो खेतीतर्फ लागेका हुन्। पहिले वार्षिक पाँच लाखसम्मको सुन्तला बिक्री गर्ने तामाङ अहिले वार्षिक सात लाख बराबरको एभोकाडो बिक्री गर्छन्।  ‘सुन्तलालाई मेहनत बढी पर्छ। मलजल, छाटकाँट, स्याहार बढी गर्नुपर्छ। राम्रो बारीमा मात्र सुन्तलाको खेती हुन्छ,' उनले भने, 'तर एभोकाडोलाई कम मेहनत र जस्तोसुकै ठाउँमा पनि खेती गर्न सकिन्छ।’

धनकुटा नगरपालिकामा ४० हजारभन्दा बढी एभोकाडोको बिरुवा कृषकहरुले रोपेका छन्। तीन हजार ७६४ एभोकाडोको बोटबाट फल उत्पादन भइरहेको छ।जसको बिक्रीबाट वार्षिक रुपमा ७७ हजार ७५० केजीभन्दा बढी उत्पादन हुने गरेको छ। यसको बिक्रीबाट करिब एक करोड रुपैयाँ आम्दानी हुने गरेको छ।धनकुटा नगरपालिका क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरिएपछि यो वर्ष एक लाख बढि एभोकाडोको बिरुवा रोप्नको लागि कृषकलाई अग्रसर गराइएको धनकुटा नगरपालिकाले जनाएको छ। आगामी पाँच वर्षभित्र नगरपालिका क्षेत्रमा १० लाख एभोकाडोको विरुवा रोपिसक्ने पनि नगरपालिकाले कार्ययोजना अघि सारेको छ।

चालु आर्थिक वर्षदेखि नै एभोकाडोको फल दिन सक्ने रुखको संख्या आठ हजार ५९४ रहेको छ भने १२ हजार ३५५ बोटले उत्पादन दिने गरेको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रका एक हजार ९६२ परिवारले व्यवसायिक रुपमा एभोकाडोको खेतीबाट आम्दानी गर्दै आएका छन् भने तीन हजार २३४ परिवारले थप एभोकाडो खेतिमा लाग्ने भएका छन्। 

एभोकाडोको माग बढ्यो 

व्यवसायिक खेती सुरु भएसँगै धनकुटामा एभोकाडोको बिरुवाको माग बढेको छ। धनकुटा जिल्लामा रहेका सात वटा नर्सरीमा रहेका ४० हजार एभोकाडोका बिरुवा बिक्री भए पनि माग धान्न नसकिएको नर्सरी सञ्चालकहरु बताउँछन्। गत वर्ष ३० हजार बिरुवा बेच्न तयारी गरेका नर्सरीबाट करिब २० हजार एभोकाडोको बिरुवा मात्र बिक्री भएको धनकुटा नगरपालिका ७ का भरत गुरागाईले बताए। यस वर्ष नगरमा रहेका नर्सरीबाट करीव ६० लाख रुपैयाँ मूल्य बराबरको करिब ४० हजार विरुवा बिक्री भएपनि किसानहरुको माग धान्न सकेको छैन।

पाख्रीवास कृषि अनुसन्धान केन्द्रमा ३५ वर्षअघि अनुसन्धानको लागि आएको ब्रिटिस टोलीसँगै धनकुटा भित्रिएको एभोकाडो हाल धनकुटा नगरपालिकाका १० प्रतिशत किसानले व्यवसायिक खेतीबाट जीविकोपार्जन गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमु्ख सूर्य सापकोटाले बताए। पछिल्लो सयम धनकुटा नगरपालिकालगायत जिल्लाका विभिन्न क्षेत्रमा खेती विस्तार हुन थालेपछि नर्सरीमा बिरुवा अभाव हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.