|

बागलुङ : चार जनाको ज्यान जानेगरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटनाको मुख्य कारण लापरवाही भएको पाइएको छ। ध१ज ७९१ नम्बरको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो।

अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जीप दुर्घटनामा परेको प्रहरीको अनुमान छ। ‘मुख्यरूपमा चालकको गम्भीर लापरवाही देखिन्छ’, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, ‘घटनाबारे थप अनुसन्धान चलिरहेको छ।’ उनका अनुसार चालक १८ वर्षीय प्रवीण पुनसँग चालक अनुमतिपत्रसमेत थिएन। दुर्घटनामा सामान्य घाइते भएका चालक पुन प्रहरी नियन्त्रणमा छन्। 

स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्किँदै गरेका विद्यार्थी, अभिभावक जिपमासवार थिए। २० यात्रु बोकेको जिप सडकदेखि करीब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ। ‘ठूलो भीरमा दुर्घटना भएको छ’, प्रहरी उपरीक्षक रेग्मीले भने, ‘अप्ठेरो सडक त्यहीमाथि बढी भार हुँदा जिपले नियन्त्रण गुमाएको हुनसक्छ।’ चालकको अपरिपक्वता र लापरवाहीले दुर्घटना निम्तिएको हुनसक्ने वडाध्यक्ष विजय अधिकारीले बताए।

यात्रुले पनि सजगता नअपनाएको स्थानीयवासीको भनाइ छ। साँझको समयमा घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ। चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ। दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो। तुलसी र एलिनाको घटनास्थलमै र प्रियङ्का र ज्योतिको उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते छ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइते सामान्य उपचारपछि घर फर्केका छन्। दुर्घटनापछि छिस्तीको केवै गाउँ शोकमग्न बनेको छ। दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटिएका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.