|

दमक(झापा) : दमकनगरपालिकासँगै सिमाना जोडिएको इलामको चुलाचुलीका बासिन्दा झापा तर्फको विकास हेरेर चित्त बुझाउन बाध्य छन्। २/३ किलोमिटरको दूरीमा रहेको दमक र आसपासको क्षेत्रको तुलनामा उनीहरू आधारभूत सुविधाबाटै वञ्चित छन्।

४० परिवारको एक ईनार

चुलाचुली ५ गैरीगाउँमा रहेको एउटा पुरानो ईनार ४० परिवारको पानीको एउटै स्रोत हो। ‘यसबाट पानी निकाल्दा मानिसलाई नै पुर्‍याउन हम्ये हुन्छ, बंगुरलाई कसरी खुवाउनु’ ईनारमा पानी भर्न आएका स्थानीय देवरा लिम्बू भने–‘नयाँ नेपाल भन्थे, पानी पनि नपाइने नयाँ नेपाल पो आएछ।’ पानीको अभावकै कारण लिम्बूले सुरु गरेको बंगुरपालन उनलाई घाँडो भएको छ। दाना र खुराक जसोतसो खुवाए पनि पानी खुवाउन नपाएपछि उनलाई अहिले यो पेशा निल्नु न ओकल्नु भएको हो।

बुकुवाकी ठगी मायाँ बिकको पिरलो पनि उस्तै छ। गाउँमा भएको एउटा ईनारबाट ३०-४० परिवारले पानी पिउनु पर्ने बाध्यता रहेको उनले सुनाइन्। ट्युवेल गाड्दासमेत पानी नआउने र धारासमेत उपलब्ध नभएकाले नुहाउने, लुगा धुने, गाईवस्तुलाई खुवाउने लगायतका काममा समस्या हुने गरेको छ। अरू त अरू, दिशा पिसाब गर्नसमेत समस्या भएको उनको भनाइ छ।

सिँचा र पशुपालन कठिन

पिउने पानी नभएकै कारण बसाइँ नै सर्नु पर्नेसम्म समस्या आउने देवराज लिम्बूको भनाई छ। पानीको अभावकै कारण कुनै व्यवसाय गर्न नसकिएको र पशुपालनमा समेत समस्या आएको उनले बताए। आवश्यकताअनुसार पानी मात्र उपलब्ध गराई दिने हो भने पनि गरि खाने अनेका उपायहरू रोज्न सकिने उनी बताउँछन्।

अधिकांश किसानको बसोबास रहे पनि यस क्षेत्रका किसानले पानीको अभावकै कारण व्यावसायिक खेती गर्न सकेका छैनन्। आकाशे पानीको भरमा खेती गर्दै आएका उनीहरू खेतीबाट समेत अपेक्षित फाइदा लिन नसकेको गुनासो गरेका छन्। पानी पिउनसमेत नपाएपछि केहि स्थानीयले भने ८० फुट पाइप गाडेर ट्युवेलबाट पानी निकालेका छन्।

गाउँका सबै परिवार मिलेर बुकुवामा ट्युवेल गाडेको बुकुवाका स्थानीय गंगा खनालले बताए। एउटा ट्युबेलको पानी करिव ५० परिवारले चलाउने गरेका छन्। वरिपरि खोला रहेको र बस्ती रहेको ठाउँ चुरे क्षेत्र रहेकाले खन्दा र पाइप गाड्दा समेत पानी निकाल्न कठिन हुने स्थानीय बताउँछन्।

वैकल्पिक उपायको खोजी

स्थानीय सरकारले भने धारा वितरणमा समय लाग्ने भएकाले वैकल्पिक प्रणालीबाट भए पनि पानी वितरण गर्ने जनाएको छ। कमर्शियल प्रणालीबाट एक सय फिटसम्म पाइप गाडेर, इलेक्ट्रिक मोटर राखी पानी तात्ने प्रविधि यस क्षेत्रका लागि उपयुक्त देखिएको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए। यो प्रणाली यसअघि केही स्थानमा प्रयोग गरिएको र पानीसमेत वितरण हुन थालेकाले यहि प्रविधिमार्फत पानी नपुगेका ठाउँमा पानी उपलब्ध गराइने उनले जनाएका छन्। विद्युत, खानेपानी लगायतका आधारभूत सुविधाको विस्तार र उपलब्धता नै गाउँपालिकाको प्राथमिकतामा रहेकाले यसतर्फ आवश्यक काम थालिएको उनको भनाइ छ।

चुलाचुलीको भौगोलिक अवस्थाले पनि पानी वितरणको समस्या परेको उनले बताए। ‘ट्युवेल गाड्दासमेत सितिमित पानी आउँदैन,’ अध्यक्ष राईले भने–‘यो त यहाँको ठूलो समस्या हो नि, तर समस्या छ भनेर हामी चुप लागेर बसेका छैनौँ, सबैलाई सहज ढंगबाट पानी उपलब्ध गराउन सकिने विकल्पहरूको खोजी गरि कार्यान्वयन पनि गरि रहेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.