काठमाडौं : बुद्दी परियार नेपाली सांगीतिक क्षेत्रको एक स्थापित नाम हो। उनले सिर्जना गरेका 'हेर्दा राम्रो' 'रेशम फिरिरी' लगायतका गीत नेपाली संगीतका लागि स्तम्भ हुन्।। उनै स्थापित परियारका छोरा हुन् गायक धर्मेन्द्र सेवान। स्थापित बाबुको नामबाट भन्दा पनि उनी आफ्नै नामले परिचित छन्, नेपाली संगीत श्रोतामाझ। परियार बाबुको थर तर छोराको थर सेवान किन? आफ्नो जातप्रति वितृष्णा हो कि सेवानप्रतिको मोह? उनले भेट्ने हरेक मान्छेबाट झेल्नुपर्ने पहिलो प्रश्न हो यो। हरेक थरभित्र फरक-फरक हाँगा हुन्छन्। उनी सेवान परियार हुन्। यो ज्ञान नभएका मान्छेलाई बुझाउनुपर्ने हुन्छ। जातभित्र पनि युनिकनेस छ भने किन नहाल्ने भनेर आफूले सेवान हालेको उनले कतिलाई बुझाउँछन्। कतिलाई नेपालको जातिबारे अध्ययन गर्नुस् भनिदिन्छन् उनी।
तर, उनलाई आफ्नो जातप्रति न कुनै मोह छ। न कुनै वितृष्णा। उनको एउटा सिद्धान्त छ। मान्छे जन्मने बेला म यो कुल, यो जात, यो वर्ग र यो क्षेत्रमा जन्मन्छु भनेर जन्मेको हुँदैन। खाली आएको मान्छेलाई समाजले बनाएको एउटा नियमभित्र राखिदिन्छ। हरेक जात मान्छेले बनाएको हो। यसमा उनलाई लिनु दिनु केही छैन। उनी भन्छन्, 'जन्मेको सत्य हो। मर्ने सत्य हो। बाँकी जातभात सब बकवास हो।'
उनी नेपाली सांगीतिक क्षेत्रमा १५ वर्षदेखि अनवरत संघर्षमा छन्। परिवार नै सांगीतिक माहोलमा भएर उनी यस क्षेत्रमा आएका हुन्। हरेक दिन संगीतको माहोलले गर्दा संगीतको गाहिराइ बुझ्दै गए उनी। बाबुको करकापले उनी यस क्षेत्रमा आएका होइनन्। गायकको छोरो गायक नै हुनुपर्छ भन्ने छैन। उनी भन्छन्, 'परिवार के गर्छ? बाबा के गर्नुहुन्छ? त्यसैलाई अनुशरण गर्नु आवश्यक छैन। बस् आफनो रूचि के मा छ। त्यसैमा रमाउने हो।' संगीत उनको रूचि हो।
पोखरामा जन्मिएका उनी पहिलो गीत वि.स २०५९ मा पोखरामै रेकर्ड गरेका हुन। 'यो अँधेरी रातमा' उनको एक चर्चित गीत हो। यो गीत रेकर्ड गर्न गायक कर्णदासले उनलाई पहिलोचोटि रेकर्डिङ स्टुडियोमा लिएर गएका थिए। उनी पहिल्यैदेखि कर्णदासको फ्यान थिए। आफूलाई मन पर्ने गायकले नै आफ्नो स्वरलाई मन पराएर रेकर्डिङ लिएर जानुको खुसी सेवानलाई मात्र थाहा छ। उनी यो खुसीलाई व्यक्त गर्न सक्दैनन्। उनी प्रथम नेपाली तारा सिजनको फाइनालिस्ट पनि हुन्। उनी गायक दीपक लिम्बूबाट पराजित बनेका थिए। प्रतियोगिताको सर्त हो प्रतिस्पर्धा गर्नु र जित्नु।आफू पराजित भए पनि मतलब लागेन उनलाई। कारण एउटै छ। उनी आफ्नै कर्मले समाज र आम दर्शकमाझ परिचित हुन चाहन्थे। गायकको पहिचान नेपाली ताराले उनलाई दिएको कुरा उनी गौरवका साथ भन्छन्।
उनको मनमा संगीतको आगो थियो। त्यही आगो ओकलेर उनी दर्शकको माया पाउन चाहन्थे। माया पाउने व्यक्तिहरू संसारका सबैभन्दा भाग्यमानी व्यक्ति हुन्। उनी त्यही भाग्यमानी मध्येका एक हुन् जसले थुप्रै श्रोताको माया पाएका छन्। उनी भन्छन, 'मेरो लोभ संगीत कर्म गरेर माया गर्नेहरूको माझ बस्न पाइरहूँ भन्ने हो।'
माया पाउन जोकोहीलाई गार्हो छ। कसैको माया पाउन गहिरो छाप छोड्नु कुनै जोक होइन। छाप छोडेपछि त्यसलाई कायम गर्नु अर्को संघर्ष गर्नुपर्दछ। यो संघर्षको सिलसिलामा उनी सधैँ प्रथम भइरहेका छन्। यसको उदाहरण उनका चर्चित गीतहरू हुन्। संगीतप्रतिको अथाहा माया मआफू सँगसँगै हुर्कंदै गएको बताउँछन् उनी। त्यही संगीतको मोहले गायक बन्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो। बाबुको गीत र लेकाली, कन्दरा,नेपथ्य,मध्याह्न ब्यान्डको प्रभाव उनमा थियो।
पोखरा कुनै बेला ब्यान्डले उचाइ लिएको थियो। उनको पहिलो एल्बम 'द सेकेन्ड', दोस्रो 'मेरो आइडल' हो। त्यसपछि आफ्ना बाबुका गीतको अस्तित्व हराउँदै गएको महसुस हुन थाल्यो उनलाई। आफ्ना बुबाको गीतमाथि नयाँ पुस्ताले जथाभावी रिमेक गरेको उनलाई चित्त परेन। उनले कुनै आफ्ना बुबाले गीत रेकर्ड गर्नलाई कति ज्यू हजुरी गरे होलान्। कति जुत्ता फटाए होलान् भन्ने सोचे। नयाँ पुस्ताले आफ्ना बुबाको गीतमाथि गरेको प्रहारलाई रोक्न उनी स्वयंले बाबुको गीतहरू रेकर्ड गरेर तेस्रो एल्बम 'राष्ट्रको गीत' बजारमा ल्याए। उनले चलचित्रमा पनि उनले स्वर भरेका छन्। आजका मितिसम्म उनका २०० भन्दा धेरै गीत बजारमा छन्। आज मात्र उनको नयाँ गीत 'कता हिँडेकी' सार्वजनिक भएको छ।
कुनैकुनै गीतहरू आफूलाई मन परे पनि दर्शकलाई मन पर्दैन। कुनै गीतको पब्लिसिटी पुग्दैन। अहिले कति राम्रा गीतहरू पनि बजारमा आउन पाएका छैनन् जस्तो लाग्छ उनलाई।
राम्रा सर्जकले साथ नपाएको गुनासो छ उनको। असल सर्जक, असल गीतलाई हरेकले साथ र सहयोग गर्नुपर्ने बताउँछन् उनी। सहयोग र साथबिना कुनै पनि सर्जकका गीत बाँच्दैन। उनी भन्छन्, 'उत्कृष्ट रचनालाई सुनौँ कृपया उत्कृष्ट रचनाले सुन्ने कान र बस्ने हृदय खोज्छ।'
उनी फरक- फरक स्टाइलको गीत गाउन मन पराउँछन्। कहिले लोक लयमा त कहिले पप, कहिले आधुनिक त कहिले फिल्मी। तर, यही स्टाइल उनका लागि जोखिम बनेको छ। गायकको स्वर भर्सटाइल हुनु एकदमै सुन्दर र राम्रो पक्ष हो। हरेक गीतलाई आत्मसाथ गर्दै फरक-फरक स्टाइलको गीत गाउनु गायकको खुबी पनि हो। झ्याउरे गाउने सुन्ने दर्शकले उसैको पप नसुन्न पनि सक्छ। पप सुन्ने श्रोताले त्यही गायकको आधुनिक नसुन्न पनि सक्छ। उनी भन्छन्, 'फरक-फरक जनराका गीत गाउने भएकोले श्रोता कन्फ्युज हुनु हुँदोरहेछ।'
एउटा सर्जक बाँच्ने उसको कलाले हो। उनी खानु, पिउनु र आरामदायी जिन्दगी बाँच्नु आफ्ना लागि केही महत्व नराख्ने बताउँछन्। सर्जकको लागि गीतले आफ्नो आयुको माने राख्ने बताउँछन् उनी । सिक्दै जाने हो। बुझ्दै जाने हो। सम्पत्ति कमाउने विकल्प धेरै छन्। संगीतको अनुयायी हुँ। सांगीतिक क्षेत्रमा सम्पत्ति कमाउन आएको होइन।
'सुखको जिन्दगी बाँच्नु चुनौती होइन। अर्थपूर्ण जीवन बाँच्नु चुनौती हो। यही चुनौतीलाई सामना गर्न आफू संगीतको क्षेत्रमा रहेको बताउँछन् उनी। आर्थिक रूपमा एउटा सर्जक गाएर सम्पन्न हुन्छ कि नाइँ त भन्ने विषयमा उनी भन्छन्, 'समाज सम्पन्न भयो हामी सम्पन्न हुन्छौँ। देश सम्पन्न भयो भने हामी सम्पन्न हुन्छौँ।' उनी अन्त्यमा भन्छन्, 'म सबथोक भएर पनि रित्तो बाँच्न चाहन्न। म आफ्नो जिन्दगीलाई संगीतसँगै उठाउन, हिँडाउन र सुस्ताउन चाहन्छु।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।