|

धनगढी : महेन्द्रनगर युनाइटेड तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ।

शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर बिहीबार भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो। महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो। अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सको सामना गर्नेछ।

शुक्रबार हुने खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ। आजको पराजयसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११५ रन बनाएको थियो।

खराब शुरुआत गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे। शरदले सातौँ विकेटका लागि अमर सिंह रौटेलासँग मिलेर ४९ रनको साझेदारी गर्न सफल भए। अमर १९ रनमा आउट भए।

यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए। अविनाश बोहोरा र आरिफ शेख ११-११ रनमा आउट भए। रुपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए। यस्तै पुनित मेहेराले तीन तथा कप्तान वसन्त रेग्मीले एक विकेट लिए।

महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो। रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जीतका लागि पाँच रनको आवश्यकता रहेको थियो। तर महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जीत दिलाए। अविनाशले अन्तिम ओभरमा एक रन दिएर तीन विकेट लिए।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८-२८ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन्। यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए। सुमित महर्जन १० रनमा आउट भए। महेन्द्रनगरका अविनाश बोहराले दुई विकेट लिए। मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले एक–एक विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.