|

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा करिब दुई अर्ब रुपैयाँले कमी आएको छ। गत वर्ष अर्थात् २०७४ साउन एकदेखि २९ माघसम्म १६ अर्ब ८६ करोड रुपैयाँको एफडिआई प्रतिबद्धता आएको थियो। तर, २०७५ साउन एकदेखि २९ माघसम्ममा १५ अर्ब तीन करोड रुपैयाँको प्रतिबद्धता आएको छ। यो गत वर्षको तुलनामा एक अर्ब ८३ करोड रुपैयाँ कमी हो।

त्यस्तै, यस अवधिमा स्वदेशी लगानीमा उद्योगमा भने करीव ५० रपैयाँले कमी आएको छ। चालु आर्थिक वर्षको तथ्यांक केलाउने हो भने गत वर्षको तुलनामा विदेशी लगानीमा आउने उद्योगको प्रतिबद्धता रकम र स्वदेशी लगानीका उद्योगको दर्ता दुवै घटेको छ। तर, ओली सरकार गठनपछिको एक वर्षको तथ्यांकमा विदेशी लगानी भने आश्चर्यजनक हिसाबले बढेको छ।

२०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएकोमा २०७४ फागुन एकदेखि २०७५ माग २९ सम्म ५२ अर्ब ६३ करोड रुपैयाँको एफडिआइ आएको छ।२०७३ फागुन एकदेखि २०७४ माग २९ सम्म यस्तो लगानी २० अर्ब ९६ करोड रुपैयाँको मात्रै रहेको थियो। यस हिसाबले चुनाबको समयमा एफडिआई कम आएको र नयाँ चुनावपछि आएको नयाँ सरकारपश्चात् लगानी बढेको देखिन्छ। तर, सरकारले लगानीका लागि आकर्षक गर्न बजेटमार्फत दिइएका छुट लगायतका विषयमा भने लगानीकर्ताहरूको आकर्षण नबढेको तथ्यांकले पुष्टि गर्छ। 

ओली सरकार आएपछिको एक वर्षमा एफडिआई प्रतिबद्धता बढे पनि स्वदेशी लगानीको प्रतिबद्धता बढ्न सकेको छैन। वर्तमान सरकार आउनुभन्दा अघिको एक वर्षको समय अर्थात् २०७३ फागुन एकदेखि २०७४ माघ मसान्तसम्मको तुलनामा त्यसपछिको एक वर्षमा १० अर्ब रुपैयाँले स्वदेशी लगानी घटेको देखिएको छ। 

अघिल्लो १२ महिनामा २७ अर्ब १० करोड रुपैयाँ उद्योग दर्ता भएकोमा पछिल्लो १२ महिनामा भने १७ अर्ब ६४ करोड रुपैयाँ उद्योग दर्ता भएका छन्। 

स्वदेशी र विदेशी दुवै लगानीकर्ताले सबैभन्दा बढी लगानी उत्पादनमूलक क्षेत्रमा गरेका छन्। उत्थानमूलक क्षेत्रमा स्वदेशीले ११ अर्ब २५ करोड ८ लाख रकम लगानीको प्रस्ताव गरेका छन् भने विदेशीले भने आठ अर्ब अर्ब ४१ करोड रकम लगानी गरेका छन्। विदेशी लगानीको प्रतिबद्धता यस्ता ६१ उद्योगमा आएको छ। त्यस्तै स्वदेशी लगानीका १३६ उद्योग दर्ता भएका छन्। 

एक महिनामा २५ स्वदेशी उद्योग दर्ता, विदेशीको प्रतिबद्धता १७ उद्योगमा

पछिल्लो एक महिना विदेशी लगानीको प्रतिबद्धता १७ वटा उद्योगमा ८१ करोड रुपैयाँ बराबरको आएको छ। अघिल्लमो महिनासम्म ६ महिनाको अवधिमा १० अर्ब २३ करोड रुपैयाँको लगानी आएकोमा पछिल्लो महिना ८१ करोड रुपैयाँ थपिएपछि ११ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। 

त्यस्तै, पछिल्लो एक महिना अर्थात् माघ महिना स्वदेशी लगानीका २७ उद्योग थपिएका छन्। जसको लगानी १६ अर्ब २४ करोड लगानी लाग्ने अनुमान गरिएको छ। 

गत वर्षको तुलनामा लगानी बढे पनि चालु आर्थिक वर्षमा बढ्न नसक्नु लगानीकर्ता अन्य क्षेत्रमा आकर्षक भएको बुझ्नु पर्ने उद्योग विभाग निर्देशक प्रकाश सेराइले तनाए। 'उद्योगमा आकर्षण बढेभन्दा पनि उद्योगमा बढी आकर्षण अन्य क्षेत्रमा भएको कारण लगानी कम आएको हुनसक्छ', सेराइले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.