|

इलाम : सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले तत्काल मेची राजमार्गको सडक क्षेत्र बिस्तार नगर्न आदेश दिएको छ। अधिवक्ता उत्तम पौडेलले निवेदकको तर्फबाट बिहीबार गरेको बहसपछि उच्च अदालत बिराटनगर इलाम इजालसले सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल सडक बिस्तारको काम नथाल्न आदेश दिएको हो।  

नगरपालिकाले आउँदो ११ गतेबाट सडक क्षेत्र बिस्तार गर्न भनी बिभिन्न सूचना जारी गर्दै आए पछि बुधबार सूर्योदय नगरपालिका १० का किरणकुमार प्रधानले अन्तरिम आदेशको माग गर्दै मुद्दा दर्ता गराएका थिए। अदालतले निवेदकको माग बमोजिम के कति कारणले आदेश जारी गर्नु नपर्ने हो आफ्ना प्रमाण १५ दिन भित्रमा प्रमाण पेश गर्न बिपक्षी सूर्योदय नगरपालिकाका नाममा आदेश जारी गरेको छ। 

निवेदक प्रधानको माग बमोजिम अदालतले साविक फिक्कल गाउँ विकास समिति १ (क) को कित्ता नम्बर ६३२ र कित्ता नम्बर ६३४ को जग्गा र सो जग्गामा बनेको घर लगायतका निर्मित संरचनामा कुनै असर पर्ने गरी भत्काइने बिर्गाने कार्य नगर्नु नगराउनु भनी नगरपालिकाका नाममा आदेश दिएको छ। अदालतले सो आदेशलाई निरन्तरता दिने वा नदिने सो सम्बन्धमा दवै पक्षबीच छलफल गर्न फागुन १५ गते १० बजे  बोलाएको छ। निवेदक प्रधानको पक्षबाट वकालत गरेका अधिवक्ता पौडेलले अदालतको अन्तरिम आदेश जारी भएपछि ती कित्ताको मात्र नभई नगरले गर्ने भनेको सडक बिस्तारको सबै काम तत्काललाई रोकिने बताए। 

फागुन ११ गते कुनै पनि हालतमा सडक विस्तार रोकिँदैन : संयोजक कार्की

सूर्योदय नगरपालिकाले यही फागुन ११ गतेबाट जसरी भए पनि मेचीराजमार्गको सडक क्षेत्राधिकार कायम गर्ने भएको छ। नगरपालिकाले पत्रकार भेटघाट गरी फागुन ११ गते १२ बजेबाट पाल्टांगेदेखि भालुखोपसम्मको सडक दाँयाबाँया साढे ७ मिटर कायम गर्ने जानकारी गराएको हो। पत्रकार भेटघाटमा बोल्दै भौतिक पूर्वाधार विकास समितिका संयोजक एवम वडा ३ का अध्यक्ष होम कार्कीले कुनै पनि हालतमा सडक क्षेत्राधिकार विस्तार गर्ने बताए। बृहतर विकासका साथै पर्यटकीय नगरीको रुपमा अघि बढेकाले स्थानीयको आग्रहअनुसार साढे ७ मिटरमा सहमति अनुसार अघि बढेको बताउँदै उनले नगरले पटक पटक सूचना प्रकाशन गर्दा पनि स्थानीयले अटेर गरेपछि फागुन ११ गतेबाट जसरी भएपनि कामले तीव्रता पाउने बताए।

‘पहिलो चरणमा साढे ७ कायम गर्दा कति क्षति हून्छ रेखाङकन गरेका छौ । पाल्टांगेबाट भालुखोपसम्मको प्रत्येक घरको डाटा संकलन गरेका छौं। सुन्दर काम भन्दै जनताले तारिफ गरेका छन्। कुनै पनि हालतमा हाम्रो काम रोकिँदैन’ उनले भने। नक्सा दोहोरो भएको स्थानीयको जग्गा नगरसभाबाट निर्णय गरेर प्रदेशसभा र क्याविनेटमा पठाएर समाधान गरिने कार्कीले बताए।

सडक क्षेत्राधिकार कायमपछि त्रिवेणी ग्रुपको सांघाई समुहले उपयोग गर्दै गरेको कन्याममा रहेको नगरपालिकाको जग्गामा कार्यपालिकाबाट करोडौं रुपैयाँको बहुद्देश्यीय भवन निर्माणका लागि बजेट विनियोजनका साथै सात करोड रुपैयाँको लागतमा कन्याम व्युटिफिकेसन गर्ने सडक क्षेत्राधिकार कायम गराउने समितिका संयोजक शिवकुमार बस्नेतले बताए। 

सडक क्षेत्राधिकार कायम रोक्न अदालतबाट अन्तरित आदेश प्राप्त भएको सूचनाको बारेमा भौतिक पूर्वाधार विकास समितिका संयोजक र सडक क्षेत्राधिकार कायम गराउने समितिका संयोजकले आफूहरूलाई यस बारेमा जानकारी नभएको बताए। उनीहरूले अदालतको आधिकारिक जानकारी नआएकाले कुनै पनि हालतमा नगर आफनो निर्णयबाट पछि नहटने बताए।

सामाजिक संजालमा देखिएको पोष्टअनुसार फिक्कलका २ घर अगाडि मात्र अन्तरिम आदेश लागू हुने भौतिक पूर्वाधार संयोजक कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.