आन्दोलनले बिरामी मर्कामा

|

काठमाडौं : भर्खरै जन्मिएको छोराको मलद्वारमा समस्या भएको थाहा भएपछि एक हप्ता उपचार गरेर फर्केका रोल्पाका राम बहादुर घर्ती शुक्रबार सबेरै फलोअपका लागि कान्ति बाल अस्पताल पुगेका थिए। तर, चिकित्सकहरूको आन्दोलनले गर्दा उनले छोराको फलोअप चेकअप गर्न पाएनन्। उनले भने,
'रोल्पादेखि छोराको उपचार गर्न आएको होटलमा बस्दाबस्दै ल्याएको खर्च सकिन लागिसक्यो आज पनि उपचार गर्न पाइएला जस्तो छैन।'

यो एक प्रतिनिधि घटना मात्र हो। सरकारी चिकित्सकहरूले आन्दोलन गर्दा यसको प्रत्यक्ष असर उपत्यकाका ठूला सरकारी अस्पतालहरूमा समेत परेको छ। देशकै केन्द्रीय बाल अस्ताल कान्ति बाल अस्पतालमा ओपिडीमा दैनिक पाचँ सयभन्दा बढी बिरामी आउने अस्पतालमा सबै चिकित्सकहरूले एकैपटक ओपिडी लगायतको सेवा बहिष्‍कार गर्दा त्यसको प्रत्यक्ष असर बिरामीहरूलाई परेको छन्। तर पनि आएका बिरामीहरूलाई बाहिरै इमर्जेन्सी‍ टिकट दिएर उपचार गरिरहेको अस्पतालले जनाएको छ।

यता, उपत्यकाको ठूलो प्रसूति अस्पताल थापाथली प्रसूतिगृहमा कार्यरत चिकित्सकहरूले पनि सामूहिक रूपमा आकस्मिक बाहेकको सेवा बहिष्‍कार गरिदिँदा सेवा  प्रभावित भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताए। दैनिक ५ सयभन्दा बढी बिरामी आउने अस्पतालमा चिकित्सकहरूले एकैपटक सेवा बहिष्कार गरिदिँदा आफूहरूलाई सेवा दिन गाह्रो भएको तर पनि आवासीय चिकित्सक, तथा विकास समितिका चिकित्सकहरूबाट सेवा सञ्चालन भइरहेको उनले बताए।

सररकारले आफूहरूको मागको सुनुवाइ नगरेपछि पूर्व-निधारित कार्यक्रमअनुसार नै सेवा बहिष्कार गरेको चिकित्‍सक स‌ंघका अध्यक्ष डा दीपेन्‍द्र पाण्डेले बताए। देशभर १ हजार ४ सय भन्दा बढी विभिन्न सरकारी अस्पतालमा कार्यरत चिकित्सक साथीहरुले सेवा बहिष्कार गरेको उनको भनाइ छ। सरकारले आफ्ना मागलाई बेवास्ता गरेकोले शुक्रबार संघले सेवा बहिष्‍कार गरेर माइतीघर मण्डलामा विरोध र्‍याली निकाल्‍नु परेको उनले सुनाए।

माइतीघरको विरोध र्‍यालीमा बोल्दै संघका अध्यक्ष डा पाण्डेले आफूहरूको मागलाई सरकारले बेलैमा सुनुवाइ नगरे अझै कडा आन्दोलन गर्ने बताए। उनले भने, 'हामीले चिकित्सकहरूलाई समायोजनमा संघअन्तर्गत राखेर खटाऊ मात्र भनेका हौँ तर सरकारले हाम्रो मागलाई अझै सुनुवाइ गरेको छैन यसरी बेवास्ता गर्दै गए हामी अझै कडा आन्दोलन गर्छौं।'

यस्तै, वीर अस्पतालका पूर्व-निर्देशकसमेत रहेका वरिष्ठ डा स्वयं प्रकाश पण्डितले सरकारले चिकित्सकहरूलाई समायोजनमा संघअन्तर्गत राखेर नखटाउने हो भने भोलिका दिनमा जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्‍चित हुने बताए। उनले भने, 'हालको समायोजन प्रकृयाले चिकित्सकहरुको वृद्धि विकासलाई असर मात्र गर्दैन जनताले गुणस्तरीय सेवा पाउनबाट समेत वञ्‍चित गर्छ।'

कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरेको भन्दै सरकारी चिकित्सक संघले गत आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त विधेयक सच्याउन सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रम घोषणा  गरेको थियो।

घोषित कार्यक्रमअनुसार सोमबार देशभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वैच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। मंगलबार माइतीघर मण्डलामा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गरेका थिए। यस्तै, बुधबार सरकारी डाक्टरहरू सामूहिक बिदामा बसेका थिए भने बिहीबार राजीनामा संकलनको काम अगाडि बढाएका थिए। शुक्रबार उनीहरूले देशभरका सम्पूर्ण सरकारी अस्पतालहरूमा आकास्मिक सेवा बाहेका सेवा बहिष्कार गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.