|

उदयपुर : उदयपुरबाट गएको दुई वर्ष नौ महिनामा झण्डै तीन सय महिला तथा बालबालिका हराएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार उदयपुरका विभिन्न गाउँबाट हालसम्म तीनसय ९८ जना महिला तथा बालबालिका हराएका हुन्।

प्रहरीमा आउने हराएको उजुरीको आधार मान्दा हराउने अधिकांस महिला तथा बालबालिका रहेका छन्। जसमा २ सय ४५ जना महिला, ४१ जना बालिका र १२ जना बालक रहेको जिल्ला प्रहरी कार्यालयका उदयपुरको तथ्यांक छ। आर्थिक वर्ष २०७३/०७४ देखि चालु आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिमा हराएका  हुन्।

कुन आर्थिक वर्षमा कति हराए

चालु आव ०७५/०७६ को माघ मसान्तसम्म हराउनेको संख्या एकसय सात पुगेको छ। प्रहरीका अनुसार ६३ महिला, ११ बालिका र ७ बालक छन्। हराएका मध्ये २५ जना महिला, २४ बालिका र ४ बालक गरी ५३ फेला भेटिए भने, अन्य ४ जना अहिले पनि बेपत्ता छन्। माघ मसान्तसम्म १ सय ८ हराएको मध्ये निवेदन परेकोमा ५३ फेला परे पनि अझै ५६ को अवस्था अज्ञात रहेको छ।

गत आर्थिक वर्ष ०७४/०७५ मा एक सय ५२ जना महिला, १० जना बालिका र ४० जना बालक गरी दुई सय दुई जना हराएको तथ्यांक प्रहरीसँग छ। जसमा  महिला ५३, बालिका १० र बालक ३५ गरी ९८ मात्र फेला परेको पनि एक सय चार जना हराइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा एक सय ३० जना महिला, ३९ जना बालिका र १६ जना बालक गरी एक सय ८५ जना हराएका छन्। जसमध्ये महिला २२, बालिका ५ र बालक १२ गरी ३९ मात्र भेटिएका थिए। एक सय ८५ जना जिल्लाबाट हराएको निवेदन परेकोमा ३९ फेला परे पनि १ सय ४६ नभेटिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको महिला तथा बालबालिका सेवा केन्द्रका (महिला सेल) प्रमुख उमा गुरुङका अनुसार अधिकांस महिलाहरू छन्। ‘वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर जाँदा पनि तत्काल हराएको निवेदन आउँछ,’ उनले भनिन्, ‘हराएको संख्यामा नाम दर्ता हुने अधिकांस महिला नै छन्।’

हालसम्म हराएका मध्ये २ सय ४५ महिला फेला नपरेको मध्ये हराउनेमा वैदेशिक रोजगारमा जाने पुरुषहरूको श्रीमती रहेको प्रहरीको भनाइ छ।

कुन उमेर समूहका हराउँछन् त?

प्रहरीको तथ्यांकमा हराउनेको उमेर समूह हेर्दा १६ देखि ३० वर्ष छन्। त्यसमा महिला नै बढी छन्। बैदेशिक रोजगारीमा श्रीमान् गएकाहरूका श्रीमती हराउने गरेका छन्। शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलना जस्ता कारणले मानिसहरू हराउने गरेका छन्। परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन्।

खोजी गरी दिन भन्दै ताकेता गर्दा पनि पछि भेटिएपछि प्रहरीलाई जानकारी नदिने गरेको एसपी राईको भनाइ छ। ‘हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको हो,’ उनले भने, ‘हराएको सूचीमा रहेका अधिकांश व्यक्ति वास्तवमा हराएका हुदैनन।’

हराएको सूचीमा रहेका मध्ये अधिकांश आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.