|

पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरूले जनाएका छन्।

पेरुको गृह प्रशासन (इन्डेसी)ले ट्वीट गर्दै पुनोको दक्षिणी भेगमा सञ्चालित एक अवैध खानीमा दुर्घटना भएको भन्ने खबर पाइएको र त्यहाँ उद्धार टोली परिचालन गरिएको जनाएको छ।

ला रिपब्लीका अखबारले खानीमा कार्यरत सात जनालाई बगाएको जनाएको छ। अरू केही व्यक्ति हिलोमा पुरिएका र तिनीहरूको खोजी भइरहेको पनि अखबारले जनाएको छ। उक्त सुनखानी निकै दुर्गम इलाकामा रहेकाले खोजी र उद्धारमा कठिनाई भइरहेको बताइएको छ।

पेरुमा दर्ता नगरिएका सुनखानी धेरै रहेको विश्वास गरिन्छ। यहाँ मजदूरहरूको अवस्थासमेत अत्यन्त नाजूक रहने गरेको छ। यसै महिनाको शुरुमा पनि अवैध खानीमा कार्यरत चार जना मजदूरको मृत्यु भएको थियो। गत साता पनि ठूलो वर्षापछि आएको पहिरोमा पुरिएर दुई जना मजदूरको ज्यान गएको थियो।

पेरुका हरेक सरकारले गैरकानुनी यस्ता खानीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि ठोस कार्य हुन सकेको छैन। यसै साता राष्ट्रपति मार्टिन भिजकार्राले अमेजोन क्षेत्रमा सञ्चालित अबैध खानीलाई नियमन गर्ने अभियान शुरु गरेका छन्। पेरु विश्वकै छैटौं ठूलो सुन उत्पादक राष्ट्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.