|

तनहुँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए ४ वर्षपछि बहुमतसहित ठूलो पार्टी बन्ने दावी गरेका छन्। नेपाली कांग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिद्वारा तनहुँको बन्दीपुरमा शुक्रबार आयोजित सभा तथा प्रशिक्षण सो कुरा बताएका हुन्।

‘एमाले र माओवादी बीचको भएको एकताले मात्रै कांग्रेस हारेको हैन, हामी बीचको एकता नहुँदा हार व्याेहोर्नु परेको हो’ डा. कोइराला भने ‘एउटाले टिकट पाउँछ अर्कोले हराउन लाग्ने प्रवृत्तिले गर्दा यस्तो दुर्दशा पार्टीले भोग्नु परेको हो।’ कांग्रेसको  भविष्य अत्यन्त राम्रो भएकाले पार्टी बलियो बनाउन आफ्नो तिक्तता मिटाउनुपर्ने महामन्त्री कोइरालाको जोड थियो।

‘आगामी दिनमा हामी बीचको कलह, गुट, उपगुटको अन्त्य गरी तिक्ततालाई मेटाएर एक ढिक्का हुने हो भने स्पष्ट बहुमत सहितको पहिलो पार्टी कांग्रेस नै हुन्छ’, डा.कोइरालाले भने। काइरालाले कम्प्युनिस्टलाई परास्त गर्न कार्यकर्तालाई एकजुट हुन आग्रह आग्रह गरे। देशका हरेक राजनीतिक परिवर्तन, विकासका काम कांग्रेसको नेतृत्वमा भएको उल्लेख गर्दै कोइरालाले कांग्रेस एकजुट भएर लाग्ने हो भने कम्प्युनिस्टलाई परास्त गर्न समय नलाग्ने उनको भनाइ छ।

एउटै बाटोमा हिड्ने, काँधमा काँध मिलाउने हो भने कसैले डगमगाउन नसक्ने कोइरालाको भनाइ छ। देशको विकास परिवर्तन कांग्रेसले गरेको दाबी गर्दै डा. कोइरालाले हिजो गाउँमा विद्यालय थिएन आज छ, हात हातमा मोबाइल छ, यो सबै कांग्रेसले सुरुवात गरेको बताए। देश समृद्ध बनाउने बाटो कांग्रेसले खोलेको उल्लेख गर्दै उनले कांग्रेसले लिएको उदार अर्थनीतिको कारणले गर्दा देशमा राजस्व बढेको र समृद्धिको यात्रा थालनी भएको बताए।

सरकारले अपराधीलाई संरक्षण : भट्टराई

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लगाए। ‘अदालतले दोषी ठहर गरी जेलमा रहेकालाई सांसदको सपथ ग्रहण गराइयो, अब कुन दिन जेलमै बसेकालाई मन्त्री घोषणा गर्नेछ,’ भट्टराईले व्यङ्ग्य प्रहार गरे।

सरकारको दुर्गतिको कथा लेख्न सुरु : शर्मा

प्रवक्ता विश्वप्रकाश शर्माले ठूला-ठूला कुरा गर्ने सरकारले निर्मला हत्याकाण्ड जस्ता घटनाले सरकारले शान्ति कायम गर्न नसकेको, महँगी बढेको, वाइडबढी लगायतको काण्डलगायत भ्रष्टाचार बढेको, जन चाहनाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएकोले सरकारको दुर्गतिको कथा लेख्न शुरु भएको बताए। सरकारले जनताको घरमा धारा पुर्‍याउन नसकेको अवस्थामा पानी जहाज ल्याउने सपना देखाउन उचित  नभएको शर्माले भनाई छ।

‘गर्न सक्ने काम मात्रै भन्नुपर्छ  ठुला कुरा गरेर हुँदैन’ प्रवक्ता शर्माले भने। स्वदेशी लगानीमो बुढीगण्डकी जलविद्युत आयोजना गर्न सकिने हुँदाहुँदै पनि चाइनाको गेजुवा कम्पनीलाई दिइनु सरकारको गलत निर्णय भएको उनको दावी छ। देशमा शान्ति सुरक्षा विग्रिएको उल्लेख गर्दै उनले सरकारले दोषीलाई कारबाही गर्नुको सट्टा निर्दोष व्यक्तिलाई अपराधी घोषणा गर्न लागिपरेको बताए।

कांग्रेसलाई एक पटक हारेर डराउनु पर्दैन : पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई एउटा निर्वाचन हारेर डराउनुपर्ने अवस्था नरहेको बताए। ‘कांग्रेसले पहिले पनि सिर्जनात्मक कार्य गरेर जनताको मन जितेको थियो, अहिले पनि जितेको छ, तर कम्युनिस्ट सरकारलाई जनताले अवसर दिएको भनेर कांग्रेसले हेरिरहेको छ, कांग्रेसलाई अहिले पनि कसैले हराउन सक्ने अवस्था छैन’, उनले भने ‘सिर्जनात्मक कामलाई कांग्रेसले सम्मान गर्छ। सिर्जनात्मक काम गर्न अगाडि बढ्नुहोस्।’

नेपाली कांग्रेस कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद रामचन्द्र पोखरेल  लगायतले सरकारलाई सही बाटोमा हिडाउन कांग्रेसले कडा रूपमा प्रतिवाद गर्न जरुरी रहेकोमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.