सुरक्षा चुनौती थपियो: प्रहरी

|

काठमाडौं : नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा परेर मृत्यु हुने सिंहप्रसाद गुरुङ सिङ्गापुरका पूर्व लाहुरे भएको खुलेको छ। लमजुङ स्थायी घर भएका गुरुङ केही वर्ष अघिबाट भैसेपाटी बस्दै आएका थिए। ललितपुर प्रहरीका अनुसार उनी २०६९ सालमा अवकाश प्राप्त भएका थिए। उनका दुई छोरी एक छोरा छन्।

शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परी गुरुङ गम्भीर घाइते भएका थिए। उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहानै मृत्यु भएको हो।

विस्फोटमा परेर घाइते भएका अन्य दुईजना प्रतिक्षा खड्का र उरुसा मानन्धरको मेडिसिटी अस्पतालमै उपचार भइरेको ललितपुर परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले बताए।

सुरक्षागार्ड माथि नै आशंका

टावरको मूल ढोकामा बम बिस्फोट गराउने उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ललितपुर प्रहरीका अनुसार दुईजना गार्डलाई प्रहरीले शुक्रबार राति नै नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै गार्ड पूर्व नेपाली सेना रहेको प्रहरीले जनाएको छ।

त्यस्तै घटनामा संलग्न अन्य चारजना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरी उच्च अधिकारीहरूका अनुसार बम विस्फोट हुनु केही समय पहिले एनसेल टावर अगाडि तीन मोटरसाइकलमा हतियारधारी आएका थिए।

उनीहरूले गार्डहरूसँग केही कुरा गरेर निस्किएका थिए। सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीका अनुसार हतियारधारी गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए।

विस्फोट गराइएको बम प्रेसर कुकर बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। गार्डहरुलाई विप्लवको पार्टीले प्रयोग गरेको आशंका प्रहरी गरेको छ।

विभिन्न जिल्लाका एनसेल टावरमा आक्रमण

प्रहरीका अनुसार अज्ञात समुहले शुक्रबार राति देशका विभिन्न ठाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको छ। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीका अनुसार देशका आठ जिल्लाका एनसेल टावरमा आगजनी भएको बताए।

प्रहरीका अनुसार रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवाको टावर, पोखरा, नवलपरासी, काभ्रे रौतहट, ललितपुर लगायतका ठाउँमा रहेको एनसेल टावरमा आगजनी भएको हो। आगलागीबाट विभिन्न टावरका तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

सुरक्षा चुनौती थपियो: प्रहरी

देशभर एनसेलमाथि भएको आक्रमणको घटनाले र ललिपुरमा भएको बम बिस्फोटको घटनाले सुरक्षामा चुनौती थपिएको प्रहरीको भनाइ छ। प्रहरी प्रवक्ता उत्तम सुवेदीका अनुसार विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

शान्ति सुरक्षा खलबलाउन विप्लव माओबादी लागेको सुरक्षा निकायको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.