|

जुम्ला : हिमाली भेगमा भारी हिमपात भएपछि जंगली जनावरको शिकार गर्ने क्रम तीव्र रूपले बढ्दै गएको छ। हिमपातका कारण उच्च भेगमा अत्यधिक चिसो बढेपछि जंगली जनावर लेकबाट बेसीतिर झरेका कारण जंगली जनावरको चोरी सिकार हुने गरेको स्थानीयले बताएका छन्।

जंगली जनावरको शिकार गर्न यतिबेला हुल बाँधेर जाने गरेका छन्। सिकारीहरूले भरुवा बन्दुकलगायत घरायसी हातहतियार र कुकुरको सहयोग लिई रतुवा, घोरोल, बँदेल, थार, डाँफे र कालिजको शिकार गर्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार उच्च हिमाली भेगमा हिमपात हुनासाथ गाँउका सबै पुरुष शिकार खेल्न जाने गर्छन्। स्थानीय बजार तथा सदरमुकाममा जंगली जनावरको मासुको राम्रै मूल्य पाउने भएकाले पनि चोरीसिकार बढी हुने गरेको हो।

राष्ट्रिय पन्छी डाँफेको प्रतिगोटा ४ देखि ५ हजार सम्ममा बिक्री हुने गरेको छ, भने मृगको मासु प्रतिकिलोको १ हजारदेखि १ हजार ५ सयसम्ममा बिक्री हुने गरेको वन्यजन्तु शिकारीहरू बताउ छन्। जुम्ला तातोपानी गाउँपालिका ५ हाँकु र नियापानी गाउँमा दिनमै जंगली जनावरको शिकार हुने गरेको हाँकुका स्थानीय विवेक न्यौपानेले जानकारी दिए। हिमपातपछि चिसो छल्न बेसी झरेका ५ वटा घोरल र ४ वटा बँदेलको स्थानीयले शिकार गरेको उनको भनाइ  छ।

जंगलबाट गाउँ पसेका जंगली जनावरलाई स्थानीयले शिकार गर्दैआएको न्यौपानेले बताए। हाँकु र नियापानी गाउँ नजिकका जंगलमा खुलेयाम जंगली जनावरको सिकार भए पनि सरोकारवाला मौन रहेको उनले बताए। जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र राजनीतिक दलका नेताहरू आफ्नो गाउँ क्षेत्रमा योजना र आफ्नो मान्छेलाई जागिर खुवाउन जंगली जनावरको मासु दिने होडबाजी नै चलेको उनको  भनाइ छ।

शिकार नगर भन्दा उल्टै झपार्ने गरेको बताउँदै न्यौपानेले जंगली जनावरको चोरीसिकार नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका प्रहरी र वन कर्मचारीहरू नै खोजीखोजी मासु किन्न आउने गरेको बताए। 'जिल्लाका हाकिम सापहरूबाट नै जंगली जनावरको मासु पठाइदिनु’ भन्ने आदेश आउँछ, नाम नखुलाउने सर्तमा तीला गाउँपालिका खोप्डीका एक शिकारीले भने, ‘अनि जसरी भए पनि हामीले मासु पुर्‍याउने गरेका छौँ। शिकारीसँगै मिलेर जंगली जनावरको मासु वनकै मान्छेले किन्ने गरेका छन्।'

जुम्लामा यसपटक परेको भारी हिमपातका कारण जंगलमा बास बस्ने जनावरको हिमपातले बास स्थान नै फरक बनाइ दिएको छ। वनजंगलको शोभा बढाउने जंगली जनावरहरू भारी हिमपात भएसँगै मारिन थालेका छन्।

हिमपात भएको बेला जनावर जंगलबाट चिसो सहन नसकी तातो ठाउँमा आउने बेला मौका छोपी जनावरको शिकार हुने गरेको स्थानीय न्यौपानेले बताए। डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट दुर्गम गाउँका जनतालाई केही सन्देशमूलक कार्यक्रम गाउँमा दिने काम गरेको भए केही हतसम्म कम हुन सक्ने उनको  भनाइ छ।

नेपालको संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मुनालको जुम्लाका विभिन्न स्थानमा वासस्थान रहेको छ। चोरीसिकारीका कारण जंगली नजावरको लोपन्मुख अवस्थामा पुगेका छन्। डिभिजन वन कार्यालय जुम्लाका निमित्त प्रमुख निरज झाका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले जंगली जनवारलाई नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रवाधान रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.