|

हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको काम गर्ने ढंग नपुगेको र अदूरदर्शिताका कारण देशले दुःख पाएको आरोप लगाएका छन्। शर्माले शनिबार मकवानपुरको थाहानगरमा भएको कांग्रेसको भेलालाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले ढंग पुर्‍याएर काम नगर्दा देशले दुःख पाएको आरोपका लगाएका हुन्।

जनताले विश्वास गरेर दुई तिहाई दिएको स्थिर सरकारले एकवर्षको अवधिमा जनताको विश्वास जित्न नसकेको कारणले गर्दा यो सरकारले देशमा विकास र समृद्धि दिने कुरा सम्भव नभएको टिपपणी उनको छ। ‘केपी ओलीले एकवर्षको अवधिमा ढंग नपुर्‍याउँदा देशले दुःख पायो’, शर्माले भने, ‘चामल पनि छ। पानी पनि छ। आगो पनि छ। कसौंडी पनि छ। तर पकाउने ढंग नजान्दा भात काँचो भयो।’ नेपाली कांग्रेसले यसअघि गरेका कामको जस लिएरै प्रधानमन्त्री अगाडि बढिरहेको उनको आरोप थियो।

सरकारमाथि आक्रमकरुपमा प्रस्तुत भएको शर्माले नेपाली कांग्रेसले सामाजिक सुरक्षाको कार्यक्रम आफ्नो नेतृत्वको सरकार रहँदा ल्याएको दावी गरे। ‘केपी ओलीको एकवर्षमा बोली बुझियो। तर कर्म बुझिएन। इतिहासमा सुशील कोइरालको जिब्रोमा क्यान्सर हुँदा बोली बुझिएन भनेर विरोध भयो। तर उहाँको कर्म बुझियो। अहिलेको सरकारको बोली प्रष्ट छ। कर्म शून्य देखियो।’ देशलाई प्रतिकुलताको बीचबाट स्थिरतातर्फ लैजान कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव गराएर महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे।

पानी जहाज ल्याउनुभन्दा पहिला जनताको घरघरमा पानीको धारा पुर्‍याउन उनले सुझाव दिए। ‘पानी जहाज कार्यालय उद्घाटन गरी भोलिपल्टै बोर्ड हटाउने तथा कर्मचारी नै नराखी हावादारी प्रचार गराएको उनको आरोप छ। रेलमाग निर्माण गर्ने भनी विना अध्ययन लगानीको स्रोत नखोजी हावादारी प्रचार गरिएको बताउँदै शर्माले खर्बौ रुपियाँ लाग्ने रेलमार्ग तत्काल निर्माण सम्भव नभएको दावी गरे।

‘रेलमार्ग नेपालले आफ्नो क्षमताले निर्माण गर्न सक्दैन। विदेशबाट खर्बौ रुपैयाँ ऋण लिनुपर्ने अवस्था छ। यस्तो सम्झौता भएमा देशमा बनेको रेलमार्ग श्रीलंकाको हमनटोटा बन्दरगाहाको हालत हुन्छ। यो बन्दरगाहा निर्माणमा चीनसँग श्रीलंका सरकारले खर्बौ रुपैयाँ ऋण लिएको थियो। सञ्चालन गर्न नसकेको र चीन उक्त बन्दरगाहा आफैँ सञ्चालन गरिरहेको। नेपालको पनि यस्तो नहोला भन्ने सकिन्न’, उनले थपे। ‘रेलमार्ग ल्याउनु भनेको विद्यालय शुल्क तिर्न नसक्ने परिवारलाई हात्ती उपहार दिनुजस्तै हो। केही समय हात्ती पाउँदा परिवार खुशी होलान्। तर, विद्यालय शुल्क तिर्न नसकेको परिवार फेरि दुःखी हुनेछ।’

नेपाली कांग्रेसले पटकपटक नेपाली जनताको पक्षमा काम गरेको र अझै पनि कांग्रेसलाई जनताले मन पराउने उनको दावी थियो। कांग्रेसले सरकारको कमी कमजोरी औंल्याउँदै आएको शान्तिपूर्ण रुपमा विरोध गरेको उनले बताए। प्रवक्ता शर्माले भने, ‘हामीले चाहेको भए रोष्टम तोड्न र गाडी फोड्न सक्थ्याैं। जनमत अनुसार अगाडि बढ्न कुनै अवरोध गर्दैनौं। तर सरकराले जनभावना अनुसार काम गर्न सकेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.