|

पर्वत : कृषकलाई सताएपछि बाँदरलाई पक्राएर राष्ट्रिय निकुञ्जमा पठाएको महाशिला गाउँपालिकाले अब बाँझो जग्गा ‘लिज’मा लिएर व्‍यावसायिक खेतीपाती गर्ने भएको छ।

गाउँपालिकाको पाँचौ गाउँसभाले पारित गरेपछि गाउँपालिकाभित्र बाँझीएको जग्गालाई लिजमा लिइने र विभिन्न खेतीहरू व्यावसायिक रूपमा गरिने गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए। ‘गाउँमा रहेको उत्पादनयोग्य भूमि बाँझिएर गएको छ, यसलाई प्रयोगमा ल्याउने भनेर गाउँसभाबाट पारित भएको छ’, उनले भने, ‘हामीले समृद्धिका कुरा गरेर मात्र समृद्ध बन्न सकिँदैन, यसका लागि कामै नै गर्नुपर्छ, त्यो हामीले अब शुरु गर्न लागेका छौँ।’

गाउँपालिकाले यसअघि नै एक घर एक रोजगार कार्यक्रम संचालन गरिरहेको छ। गाउँपालिकामा रहेको खाली जग्गामा खेती लगाउँदा गाउँका युवाले नै रोजगारी पाउने भएका कारण एक घर एक रोजगार कार्यक्रमलाई सघाउ पुग्ने गाउँपालिकाको विश्वास छ।

बसाइँसराइका कारण गाउँका जग्गा बाँझो बन्दा उत्पादनयोग्य जमिनलाई सदुपयोग गर्नका लागि पनि यो योजना महत्वपूर्ण रहेको गाउँपालिकाको प्रवक्ता जीवउचै ठकुरीले बताए। ‘बाँझो भएको जमिनलाई सदुपयोग गरेर राम्रो कामको थालनी गर्न लागेका छौँ, सकेसम्म निशुल्क त्यो नभएपनि सस्तो मूल्यमा लिने छौँ’ उनले भने। ठकुरीका अनुसार भाडामा लिइएको जमिनलाई ब्यापारिक प्रतिष्ठान, सहकारी र स्थानिय कृषक समूहलाई समेत भाडामा दिएर काम गर्न लगाइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.