|
File Photo

काठमाडौं : शुक्रबार बेलुकी शान्त रहेको जनजीवन शनिबार बिहानसम्म आइपुग्दा आतंकित बन्यो। देशभर गरी आठ जिल्लामा आगजनी र विस्फोटका घटना भए। जसले नागरिकमा त्रास पैदा गर्‍यो। अर्कोतर्फ सुरक्षा चुनौति पनि थपियो।

शुक्रबार रातिका विस्फोट दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलप्रति लक्षित थियो। एनसेलको केन्द्रीय कार्यालय ललितपुरको नख्खुसहित विभिन्न जिल्लामा रहेका टावरमा बम पड्काइएको छ। आगो लगाइएको छ। बम पड्काएको बारेमा अझैसम्म कसैले जिम्मेबारी लिएको छैन। तर, सुरक्षा निकायको शंकाको घरेमा ‘विप्लव’ नेतृत्वको नेकपा परेको छ।

यद्यपि, यस विषयमा न एनसेल बोलेको छ, न सुरक्षा निकाय न नेकपाले नै मुख खोलेको छ। बरू अन्य राजनीतिक दलले घटनाको निन्दा गरेका छन् भने विप्लवसँग वार्ता गर्न सुझाएका पनि छन्।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको विस्फाटले लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको ज्यानै लियो। काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर  र ललितपुर ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का घाइते छन्। उनीहरूको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिस्फोटमा परी घाइते भएकालाई भेटेका छन्। घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने आश्वासन दिए। घाइते खड्का र मानन्धर तथा उनीहरूका आफन्तलाई भेट्न मन्त्री थापा शनिबार मेडिसिटी अस्पताल पुगेका थिए। उनीसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि अस्पताल गएका थिए।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदीका अनुसार देशका आठ जिल्लाका एनसेल टावरमा आगजनी भएको छ। रुपन्देही, पोखरा, नवलपरासी, काभ्रे, रौतहट, ललितपुर, कञ्चनपुर, नुवाकोट, गोर्खालगायतका ठाउँमा रहेको एनसेल टावरमा आगजनी भएको हो।

देशभर एनसेलमाथि भएको आक्रमण र ललितपुरमा भएको बम बिस्फोटको घटनाले सुरक्षामा चुनौती थपिएको प्रहरीको भनाइ छ। प्रहरी प्रवक्ता सुवेदीले भने, ‘घटनालगत्तै हामीले सुरक्षा सतर्कता बढाएका छौं। अनि दोषीको खोजी गरिरहेकाछौं। चाँडै टुंगोमा पुग्छौं।’ उनले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि जानकारी दिए। सुरक्षा चेकजाँच र निगरानी बढाइएको उनले बताए।

प्रहरी प्रवक्ता सुवेदीका अनुसार विप्लव नेतृत्वको नेकपाले टावरमाथि आगजनी गराएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। अनुसन्धानका लागि नेकपाका केही कार्यकर्तालाई पनि प्रहरी नियन्त्रणमा लिएको छ। शान्ति सुरक्षा खल्बल्याउने विप्लव नेतृत्वको नेकपा लागेको सुरक्षा निकायको अनुमान छ।

यसअघि विप्लव समूहले एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको, सर्वोच्चको आदेश पालना नगरेको, सेवाका नाममा ग्राहकलाई ठगेको जस्ता विषय उठाएर एनसेलविरुद्ध कारबाही गर्ने चेतावनीसहित केही स्थानमा हमलासमेत गरेको थियो। प्रहरीले अहिलेको यो घटनालाई पनि त्यसैको निरन्तरता ठानेको छ। तर, एनसेलले यस विषयमा कुनै गुनासो वा उजुरी नगरेको प्रहरीले जनाएको छ।

घटनाप्रति दलहरूको गम्भीर ध्यानाकर्षण

ललितपुरको नख्खुसहित देशमा विभिन्न जिल्लामा भएका बम विस्फोटका घटनाप्रति विभिन्न राजनीतिक दलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विवेकशील साझा, विवेकशील नेपाली दललगायतले घटनाको निन्दा गरेका हुन्। उनीहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्।

शनिबार विवेकशील नेपाली दलले एक प्रेस विज्ञप्ति जारी गर्दै विस्फोटको घटनामा संग्लनहरूको यथाशक्य छिटो पहिचान गरी कानुनी कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

विवेकशील साझा पार्टीले भीषण द्वन्द्वबाट गुज्रिएको मुलुकमा फेरि हिंसात्मक घटना दोहोरिनु संविधान, विधिको शासन तथा लोकतान्त्रिक प्रक्रिया माथिकै चुनौती, चिन्ता र आपत्तिको विषय भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना असन्तुष्टिलाई लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा अभिव्यक्त गर्न पाइने संवैधानिक व्यवस्था हुँदाहुँदै हिंसा, हत्या, विध्वंसद्वारा समाजलाई आतंकित पार्ने जोसुकैले गरेका गतिविधि भए पनि विवेकशील साझा पार्टीले घोर निन्दा र भर्त्सना गर्दछ।’

विप्लवसँग वार्ता गर्न सरकारलाई कांग्रेसको सुझाव

विभिन्न स्थानमा आगजनी र विस्फाटका घटना भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिंसात्मक गतिविधि सञ्चालन गर्नेहरूसँग वार्ता गर्न सरकारलाई सुझाएको छ। कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नु पर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकारलाई सुझाएका हुन्। उनले सम्बद्ध पक्षसँग वार्ता गरी समस्या समाधानका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.