|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सांसदहरूले प्रदेश २ को सरकारमा रहेको मन्त्रीलाई फिर्ता बोलाउन दबाब दिएका छन्।

मन्त्रीहरू जिल्ला अनुसार विभाजन भएको र मन्त्रालय सञ्चालन गर्न नसकेको भन्दै राजपाकै सांसदले राजपा अध्यक्ष मण्डललाई फिर्ता बोलाउन दबाब दिएका हुन्।

राजपाका केन्द्रीय अध्यक्ष मण्डल तथा प्रदेश २ का मन्त्री एवं सांसद सहभागी बैठकमा प्रदेश सरकारको समिक्षा गर्दा वर्ष दिन वितिसक्दा समेत पार्टीका मन्त्रीहरूले उल्लेख्य प्रगति गर्न नसकेको भन्दै सांसदहरूले मन्त्रीको आलोचना गरेका छन्। राजपका केन्द्रीय अध्यक्ष मण्डल सहभागी बैठकमा सांसदहरूले प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवल किशोर साहको कार्य सम्पादनमाथि प्रश्न उठाएका छन्।

राजपाका केन्द्रीय अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय, सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी कार्यक्रममा राजपाका प्रदेश सांसदहरूले भाैतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको काम सम्मानजनक भए पनि राजपाका दुई मन्त्रीको आलोचना गरेको बैठकमा सहभागी सांसदले बताए।

सरकारको काम प्रभावकारी बनाउन, मधेश आन्दोलनको उद्देश्य र शहिदको सपना पूरा गर्न सरकारको विकल्प नरहेको बताउदै सांसदहरूले रामनरेश राय र नवल किशोर साहलाई फिर्ता बोलाउन अध्यक्ष मण्डललाई सुझाव दिएका छन्। सरकारमा रहेका राजपाका मन्त्रीहरू मध्ये जितेन्द्र सोनलले पार्टीको प्रतिष्ठा बचाए पनि रामनरेश राय र नवल किशोर साहले पार्टीको नाम बदनाम गरेको सांसदहरूले आरोप लगाएका थिए।

सामाजिक विकास मन्त्री साहले गत आर्थिक वर्षको बजेट 'फ्रिज' गराएर हालसम्म कार्यविधि समेत नबनाएका कारण मन्त्रलायको काम अगाडि बढन नसक्दा मन्त्रालय पछाडि परेको सांसदहरूले आरोप लगाए। उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश रायले कानुन बनाउन नसकेको, कार्यविधि बनाउन नसकेका कारण मन्त्रालयको योजना सञ्चालन गर्न अख्तियारी नगएको भन्दै आलोचना गरेका थिए। मन्त्री असफल भए पार्टी सफल हुने भएकोले कार्यविभाजन गरी राज्य मन्त्रीहरूलाई समेत जिम्मेवारी दिन सांसदहरूले माग गरे।

पार्टीलाई असफल बनाउने मन्त्रीलाई सम्मानजनक विदाई गरी अन्य सांसदलाई मन्त्रालयको जिम्मेवारी दिन सांसदहरुले माग गरे। राजपाका सांसदहरू बाबुलाल साह, मनिष सुमन, रमेश पटेल, जानकी शरण साह, परमेश्वर साहले दुई मन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। जनकपुरमा तीन दिने बैठकलाई विषय प्रवेश गराउँदै राजपका संयोजक महेन्द्र राय यादवले प्रदेश २ सरकारको काम सन्तोषजनक नरहेको भन्दै सरकारको अनुभूति नभएको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.