|
File Photo

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक कलह छताछुल्ल भएको छ। जसका कारण मंगलबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक नै बस्न सकेन। कांग्रेसभित्रको गुटगत राजनीति सतहमा आएको छ। यसको परिणाम महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्यानु, विद्यार्थीबीच केन्द्रीय कार्यालयमै कुटाकुट हुनु, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले केन्द्रीय समितिको बैठक नै बहिष्कार गर्नुलाई लिन सकिन्छ। 

पार्टी विधान पारित गर्दाको विवाद सेलाउन नपाउँदै कांग्रेसमा अनुशासन समिति र निर्वाचन समिति गठनलाई लिएर शीर्ष नेताहरूबीच विवाद चुलिएको छ। न्याय दिने समितिमा नै जबर्जस्ती पेलेर जान खोजेको भन्दै दुवै समूहले मंगलबारको बैठक नै बहिष्कार गरे। पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष चिढिएको छ।  

वरिष्ठ नेता पौडेलले अनुशासन समिति र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय भएकाले एकैसाथ र सर्वसम्मत गठन हुनुपर्ने माग राख्दै आएका छन्। मंगलबार पनि पौडेल र सिटौलाले सभापति देउवासँग पार्टी कार्यालयमा त्यही माग दोहोर्‍याए। देउवाले निर्वाचन समिति तत्काल गठन गर्न चाहेनन्। पाँच सदस्यीय अनुशासन समितिमा दुई जनाको नाम दिन पौडेललाई आग्रह गरे। पौडेलले अस्वीकार गरे। र, बैठकमै अनुपस्थित हुने निर्णयमा पुगे। अनुशासन र निर्वाचन समिति कांग्रेसमा न्यायिक समितिका रुपमा चिनिन्छन्। 

मंगलबारको बैठक निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बैठक बोलाइएको थियो। सभापति देउवाले सहमतिको सट्टा पेलेर जाने तयारी गरेको भन्दै दुवै पक्ष बैठकमा अनुपस्थित हुने निष्कर्षमा पुगे। वरिष्ठ नेता पौडेलले सभापतिले एजेण्डा जबर्जस्ती पास गर्न खोजिएपछि बैठकमा अनुपस्थित भएको बताएका छन्। वरिष्ठ नेता पौडलेसँग थाहासञ्चार नेटवर्कका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश।

तपाईहरूले बैठक नै बहिष्कार गर्ने स्थिति किन आयो? 

बहिष्कार गरेको होइन, अनुपस्थित रहेको हो। एजेण्डा जबर्जस्ती पास गर्न खोजेपछि हामी अनुपस्थित भएका हौं। सहमति गरेर मात्रै निर्वाचन समिति र अनुशासन समिति गठन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। सभापतिले त्यसो गर्दिन भनेपछि हामी के बैठकमा जाने भनेर तलै बस्यौं। उहाँहरू माथि जानुभयो। कोरम पुगेन कि के भयो बैठक स्थगित गर्नुभयो। 

सभापतिको कार्यशैलीप्रति असन्तुष्टि कि भागबण्डामा कुरा नमिलेको ?

भागबण्डाको कुरै होइन, कार्यशैलीप्रति असन्तुष्टि हो। भागबण्डा त केही थिएन। उहाँले दुई जना दिनु भन्नु भयो। त्यसमा कुनै विवाद होइन। दुई र तीनमा विवाद छैन। तर जुन शैलीबाट बनाउन खोजियो, त्यसमा असन्तुष्टि हो। अनुशासन समिति भनेको न्यायिक समिति हो। निर्वाचन समिति भनेको पनि निष्पक्ष न्याय दिने समिति हो र निष्पक्ष न्याय दिने समिति हुनु पर्‍यो। यी दुवै एकैपटक बनाउन पर्छ भन्ने हाम्रो भनाइ हो। 

कांग्रेसमा अहिले देखिएको भाडँभैलो अर्को शब्दमा आन्तरिक असन्तुष्टिलाई के भनेर बुझ्ने ?

भाडँभैलो त हामीले गर्न खोजेको होइन। अब सभापतिजीले सबै साथीहरूलाई चित्तबुझ्दो र न्यायपूर्ण काम गर्नु पर्‍यो नि? 

चित्तबुझाउन के गर्दिनु पर्छ ?

न्यायोचित व्यवहार गर्नु पर्‍यो। अनुशासन समिति अदालत हो। निर्वाचन समिति पनि निष्पक्ष निर्वाचन गर्ने समिति हुनु पर्‍यो। निष्पक्ष हुन्छ र सबैले न्याय पाइन्छ भन्ने अनुभूति हुनु पर्‍यो। त्यसका लागि एउटा समझदारी हुनु पर्‍यो र विश्वासिलो व्यक्ति रहेको समिति बनाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। 

न्यायोचित हुनु पर्‍यो भन्नु हो अर्थ भागबण्डा मिल्नु पर्‍यो भन्ने हो ?

हैन हैन। राम्रो न्याय दिन सक्ने। न्यायोचित र परिपक्क काम गर्न सक्ने हुनु पर्‍यो भन्ने हो। निष्पक्षता प्राथमिकता हो। 

सभापतिले तपाईहरूलाई पेल्न खोज्नुभएको हो, तपाईंको बुझाइ यही हो ?

अब त्यस्तै लाग्यो। पेलिने भएपछि किन जाने (बैठक) भनेर हामी गएनौं।

पहिलो कदम बैठकमा अनुपस्थिति भयो, अबको कदम के हुन्छ ?

अब के हुन्छ हेर्दै जाउँ न। मिलाएर लानु पर्नेछ पार्टीलाई। उहाँले मिलाउनु हुन्छ। मिलाउने काम गर्नु हुन्छ। मिलाउने कोशिस गर्नु होला। 

नेविसंघभित्रको विवाद र जिल्ला सभापतिहरूको मागबारे के भन्नु हुन्छ ?

सबै कुराहरु एकै पटक मिल्छ। आन्तरिक समझदारीबाट पार्टी चलाउनु पर्छ। विधानको दायराभित्र एउटा समझदारीले पार्टी चल्नु पर्छ भन्ने हाम्रो भनाइ हो। 

तपाईहरूको विवादले कांग्रेसजनलाई निरास बनाउने अवस्था आयो नि त ?

अलि खुला दिमागले सोच्न बित्तिकै सबै काम फट्टाफट हुन्छन्। सबै कुरा सभापतिमा निर्भर छ। संकीर्ण मानसिकताले विवाद ल्याउँछ। सभापतिको काम गराइमा अलिकति उदारता भएन, त्यही हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.