|

जुम्ला : जुम्लाको स्वास्थ्य संस्थामा औषधि अभाव हुन थालेको छ। स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण गरेपछि औषधि अभाव भएको हो। सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेकाले अभाव भएको छ।

स्थानीय तहले खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन्। हस्तान्तरण हुनुअघि पनि औषधि अभाव हुन्थ्यो, तर अहिले झनै अन्योल भएको छ। सामान्य घाउ ड्रेसिङ गर्नका लागि गज ब्यान्डेज पनि नभएको तीला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज दिनेश चौधरीले बताए। 

बिरामी जाँच गरेर औषधि किन्न निजी मेडिकलमा पठाउनु परेका कारण गाली खानु परेको चौधरीले दुखेसो पोखे। गाउँपालिकामा औषधि माग गर्दा महिनौं दिन लाग्ने भएकाले उपचारका लागि आएका बिरामीलाई मेडिकल पठाउनु परेको चौधरीको भनाइ छ। स्वाथ्य चौकीमा दैनिक ३० जनाको हाराहारीमा बिरामीहरू आउने गरे पनि औषधि नभएपछि जाँच मात्र गरेर मेडिकल पठाउने गरेको इन्चार्ज चौधरीले बताए।

लिही गाउँका गोरीकला परियारले स्वास्थ्यकर्मीले गज ब्यान्डेज पनि बाहिरबाट किन्न लगाउने गरेको गुनासो गरिन्। ‘स्वास्थ्य चौकीमा निःशुल्क दिने औषधिको सूची मात्र छ,’ उनले भनिन्, ‘औषधि त सबै मेडिकलबाटै किन्नु परेको छ।’ 

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन्। 

वास्थ्य संस्थामा रुघाखोकी, दम, झाडापखाला र ससाना बालबालिकाहरु उपचारका लागि बढी आउने गरेका छन्। महिनाको दुईपटक औषधि आपूर्तिका लागि माग फारम भरी गाउँपालिकामा पठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ। 

तर, तीला गाउँपालिका–२ का अध्यक्ष कलीबहादुर रावतका अनुसार स्वास्थ्य संस्थाले समस्या भएको उल्लेख नगरेकाले औषधिको अभाव भएका हुन सक्ने बताए। स्थानीय सरकार स्वास्थ्यका विषयमा गम्भीर रहेको भन्दै उनले प्राविधिक कारणले कहिले काहीँ स्वास्थ्य संस्थामा औषधि नभएको हुन सक्ने जिकिर गरे। 

तातोपानी गाउँपालिकाको तातोपानी स्वास्थ्य चौकीमा पनि औषधि अभाव देखिएको छ। स्वास्थ्य चौकीमा आवश्यक औषधि नभएको ल्याब असिस्टेन्ट हेमराज कठायतले बताए। तर, गाउँपालिका अध्यक्ष नवराज न्यौपाने र स्वास्थ्य सहसंयोजक गुरुप्रसाद चौलागाईले भने औषधि अभाव नभएको दाबी गरे। स्वास्थ्य संस्थामा आवश्यक पर्ने सबै प्रकारका औषधि खरिद गरेको उनीहरुको जिकिर छ। ‘गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ,’ अध्यक्ष न्यौपानेले भने, ‘हामी स्वास्थ्यका विषयमा संवेदनशील छौँ।’ स्वास्थ्य चौकीमा आएका कुनै पनि बिरामी औषधि अभावमा फर्किनु पर्ने अवस्था आउन नदिने रणनीतिय गाउँपालिकाले तयार पारेको उनको भनाइ  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.