|

ओखलढुंगा : सुनकोसी गाउँपालिका-१, बलखुमा मंगलबार आगलागी हुँदा एक घरसहित पशु चौपाया जलेका छन्। मंगलबार अपराह्न तीन बजे धिर्जराज लुइँटेलको गोठबाट अचानक आगलागी हुँदा एक घर र तीन गोठसहित १२ बाख्रा जलेका हुन्।

आगलागीबाट सुनकोशी १ बलखुका पिताम्बर लुइँटेलको घर र घरभित्र रहेको सम्पूर्ण धनमाल, नगद १ लाख, एकतोला सुनसमेत गरी अन्दाजी १० लाख, मित्रलाल लुइँटेलको गोठ जल्दा ५० हजार, क्षति भएको छ। त्यस्तै गरी धिर्जराज लुइँटेलको गोठसहित सातवटा बााख्रा जल्दा एक लाख पचासहजार र अम्बिका लुइँटेलको गोठ र गोठभित्र रहेका पाँच खसीबाख्रा जल्दा एक लाख गरी १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

स्थानीय र प्रहरीको पहलमा साँझ ६:३० मा आगो नियन्त्रणमा आएको थियो। अगलागीको कारण अझै प्रस्‍ट नभएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए।

तिन दिनदेखि लागेको डँढेलो अझै अनियन्त्रित

ओखलढुंगाको सुनकोशी गाउँपालिका-६ को पारा बाँसबारी सामुदायिक वनमा गत सोमबारदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। हावाहुरी र भिरालो जमिनका आगो नियन्त्रणको प्रयास गरे पनि अझै आगो नियन्त्रणमा नआएको हो।

आगलागीबाट सुनकोशी गाउँपालिका ५ को बासबोटे सामुदायीक बनको दुईतिहाइ वनक्षेत्र नष्ट भई सकेको वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर आलेले मगरले बताए। मगरका अनुसार वडा नं. ५ मुलखर्कको नागीभिर सामुदायिक बनको पनि आधाभन्दा बढी भूभाग डँडेलोले सखाप पारेको छ। धेरै भिरालो र सल्लाको जंगल भएका कारण आगो नियन्त्रणमा लिन कठिन भएको र वडा नं. ६ को पाराको बस्तिमा आगो पस्न नदिनका लागि जिल्ला वन कार्यालय ओखलढुंगाको एक टोली सहितस्थानीयले अग्निरेखा बनाएको र बस्ती जोगाएको उनको भनाइ छ।

वन डढेलोका कारण दुईवटा वनको धेरै क्षेत्र सखाप भएको र अझै आगलागी भइरहेका कारण क्षतिको विवरण यकिन नभएको जिल्ला वन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.