|

तनहुँ : जिल्लाको सदरमुकाम दमौलीनजिकै रहेर पनि कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित व्यास नगरपालिका ५ मानुङकोट पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिड्न नपर्ने र सवारी साधनबाट करिब ३० मिनेटमै पुग्न सकिने भएकाले पनि यहाँ पर्यटक बढेका हुन्।

एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने क्रम जारी रहेको छ। समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र बिदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन्। मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश‌ृंखलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ।

मानहुँकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको स्थानीय जानु थापाले बताइन्। जाडो मौसममा न्यानो घाम र बिहानीको सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने गरेको व्यास ११ की संगीता अधिकारीले बताइन्।

‘मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ,’ अधिकारीले भनिन्।  दमौलीबाट करिव आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदलबाहेक अरु विकल्प थिएन। पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गर्दथ्यो। सार्वजनिक बिदा र शनिबारको दिन पारेर समय–समयमा मानुङकोट आउने गरेको व्यास १ का सुनिल मिश्रले बताए। ‘मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ।

 दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्दित बनाउँछ,’ उनले भने। व्यास नगरपालिका ५ र म्याग्दे गाउँपालिका १ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो। मगर समुदायको संस्कृति यो ठाउँको अर्को आकर्षण बनेको छ। तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीयस्थल मानुङकोट विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको व्यास नगरपालिका वडा ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए।

‘दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार भएकाले यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ,’ श्रेष्ठले भने ‘आर्थिक वर्ष २०७५/०७६ मा अलैँचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ। केन्द्र सरकारको १० करोड बजेटबाट सडक कालोपत्रे सडक निर्माणको काम थालिएको हो‍।’

मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ। मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा सक्रियता देखाएको छ। नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरेर काम गर्न थालेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए। ‘मानहुँकोटको पर्यटन प्रवर्द्धनका लागि भ्यु टावर बनाउने तयारी गरिएको छ। यसका लागि नगरपालिकाले ३० लाख रूपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ,’ उनले भने।
भ्यु टावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमश‌ृंखला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यका साथै फाँटहरू सजिलै देख्न सकिने छ।

नगरपालिकाले मानहुँकोटमा केवलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन समेत थालेको नगरप्रमुख न्यौपानेले बताए। व्यास नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विकास योजना निर्माण गरेपछि उक्त क्षेत्रमा पर्यटक बढेको हो। पानीको अभाव र डाँडो भयो भनेर बस्ती छोडेर दमौलीनजिक झर्ने मानुङवासीहरू पुछुतोमा परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.