|

काठमाडौं : आलो घाउमा जति पीडा हुन्छ, घाउ भरिँदै जाँदा त्यो पीडा पनि कम हुँदैजान्छ। जतिबेला चोट लाग्छ, त्यती नै बेला बढी दुख्नु र बढी साहनुभूति प्राप्त गर्नु कुनै नौलो विषय होइन।

नेपालको दुर्घटना इतिहास हेर्ने हो भने यस्तै पाइन्छ। दुर्घटना हुँदा चर्को रूपमा छानबिनका कुरा हुने गर्दछन्। तर, घटना जति पुरानो हुँदै जान्छ, छानबिनको स्वर पनि सानो हुँदै जान्छ। छानबिनको प्रतिवेदन सार्वजनिक हुँदासम्म यो पूर्णरूपमा अलप नै हुन्छ। नेपालको सन्दर्भमा प्रतिवेदनमा औँल्याइएका सुझाव र निर्देशन कार्यान्वयनको पाटो निकै उदेक लाग्दो छ।

प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन नुहुन नै अर्को दुर्घटना निम्तनु होभन्दा फरक नपर्ला। नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ। सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक-पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ। तर, प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिरहेको छ।

पछिल्लो पटक ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको छानबिनमा गम्भीर बन्नुपर्ने कुरा उठेको छ। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनालाई सामूहिक श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेल पुगेका नेपाली कांग्रेसका नेता गगन थापाले भने, ‘सरकारले जुन छानबिन समिति बनाएको छ। यो एक/दुई दिनको दुःखको बेलाको मात्रै विषय नबनोस्।’

सरकारले ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टिको हेलिकोप्टर दुर्घटनाका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ। बुधबार दुर्घटनामा परेको एयर डाइनेस्टिको हेलिकोप्टरसहित पछिल्लो एक वर्षमा नेपाली आकाशमा भएका हवाई दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन्। हवाई दुर्घटनाका बारेमा सरकारले छानबिन समिति गठन गरी दुर्घटनाको कारणसहितको प्रतिवेदन बुझाउने अख्तियारी प्रदान गरेको हुन्छ।

यसअघि बनेका छानबिन समितिका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको गलत निर्णय भएको निष्कर्ष निकालेका छन्। तर, तिनै प्रतिवेदनमा विमान सञ्चालक कम्पनीलाई विमानको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको पनि देखिन्छ। धेरैजसो दुर्घटनामा व्यक्तिको मृत्यु भएपछि उसलाई दोष दिएर पन्छिने प्रवृत्ति हाबी भएको पाइन्छ। दोषजति चालकलाई लगाउने पनि गरिन्छ।

नेपालमा हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला उदासीन भएकाले नै यस्ता दुर्घटना दोहोरिने गरेका छन्। नागरिक उड्डयन प्राधिकरणले सूचीबद्ध गरेका विभिन्न दुर्घटनाका रेकर्डमा ९५ प्रतिशत दुर्घटना प्राविधिक कारणले भएको देखिन्छ। तर, दुर्घटना प्रतिवेदनले नेपालमा ९५ प्रतिशत हवाई दुर्घटना चालकका कारण भएको निष्कर्ष निकालेका छन्।

शुक्रबार बसेको नेकपा संस्दीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरमा बढी भार भएकाले दुर्घटना भएको हो कि? भन्ने विषयको निष्कर्ष सरकारले गठन गरेको छानबिन समितिले नै गर्ने बताए। बुधबारको हवाई दुर्घटनाको बारेमा छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको र त्यसले सत्यतथ्य बाहिर ल्याउने उनको विश्वास छ। प्रधानमन्त्रीले क्याप्टेन सक्षम भएको र हेलिकोप्टरमा सवार व्यक्तिहरू उडानबारे जानकार रहेको स्पष्ट पारे।

नेपाली हवाई इतिहासमा हरेक वर्ष यसरी नै विमान दुर्घटना भएकै छन्। नागरिक उड्डयनको अन्तर्राष्ट्रिय नियमन निकाय अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ)ले नेपाल संसारकै असुरक्षित आकाश भएको प्रतिवेदन नै सार्वजनिक गरेको छ। आइकाओले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि धेरैपटक नेपालको उडान सुरक्षित बनाउन निर्देशन दिँदै आएको छ। श्रद्धाञ्जलि दिन टुँडिखेल पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अगामी दिनमा यस्ता हवाई दुर्घटना दोहोरिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपाली हवाई उडान इतिहासको ६८ वर्षमा ७४ वटा ठूला दुर्घटना भएका छन्। ती दुर्घटनामा परी करिब ८ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यसैले, छानबनिका कुरा शोकको घडीमा मलहम लगाउने विषयमात्रै बनाउनुभन्दा पनि छानबिन प्रतिवेदनले औँल्याएका सुझाव र निर्देशन कार्यान्वयमा ल्याउने तर्फ ध्यान पुर्‍यान जरुरी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.