|

बैतडी :अप्रेशन गरेर बच्चा जन्माउँदा होस् या रक्तश्राप हुँदा होस् त्यस बेला रगतको आवश्यकता पर्दछ। यसका साथै कुनै गम्भीर प्रकृतिको दुर्घटना भएपछि अस्पताल पुर्‍याउँदा समेत रगत आवश्यक पर्ने हुन्छ। तर जिल्ला अस्पाताल बैतडी रक्त सञ्चार केन्द्र अर्थात ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ। 

अप्रेशन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस्पतालमा भए पनि रगतको अभावमा बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रही आएको अस्पतालका मेडिकल अधिकृत डा. देवेन्द्र लेखकले जानकारी दिए। सुत्केरी हुन आउने महिलामध्ये केहीको अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ। तर रगतको अभावमा उनीहरूलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ। उनले भने, 'रगतको सुनिश्चितता नहुँदासम्म अप्रेशन गर्न निकै चुनौतीपूर्ण हुने गरेको छ।' 

अस्पतालमा अप्रेशनका लागि बैतडीका मात्रै नभएर छिमेकी दार्चुलाका समेत बिरामीहरू आउने गरेको तर रगतकै अभावमा धेरैलाई रिफर गर्नुपर्ने बाध्यता रही आएको छ। उनले भने,'रगतका लागि नेपाली सेनाले सहयोग गर्दै आएको र कुनै बेला रगत उपलब्ध नहुँदा समस्या हुने गरेको छ।' 

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र नभएकै कारण सेवाग्राहीले समस्यो भोग्नु परिरहेको दशरथचन्द नगरपालिका १ गुरुखोलाका मानबहादुर टेरले बताए। रगतको अभावमा डडेल्धुरा,धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढमा गएर उपचार गर्नुपर्ने बाध्यता रही आएको दशरथचन्द नगरपालिका १ का रामदत्त भट्टको भनाई छ।

रगतका लागी सेना प्रहरीकै भर

रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ। जिल्ला अस्पतालमा आकस्मिक रुपमा कुनै बिरामीलाई रगत चाहिएका जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ। रगतका लागि वर्षौदेखि सेना तथा प्रहरीकै भर पर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टले बताए। शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरुभए यता रगत खोज्न समस्या हुँदै आएको छ। उनले भने, 'रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छौं।'  

रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको बताइएको छ। रक्त सञ्चारको सुविधा नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ। चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ। विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन्। त्यहाँ नपाए अन्य उपाय नै छैन। रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सञ्चय गर्नसक्ने अवस्था छैन। 'अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ' प्रमुख डाक्टर विष्टले भने, 'सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके रिफर गर्नुपर्ने अवस्था छ।'

अस्पतालमा सेवाका लागि बैतडीसहित दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन्। तर आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको छ। जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता बढेको हो। शल्यक्रिया गरेर प्रसूति गराएकालाई रगत आवश्यक पर्ने गरेको छ। रगत जुटाउन नसक्दा ग्रामीण क्षेत्रबाट उपचारका लागि आएका विचल्लीमा पर्दै आएका छन्।

सुत्केरी हुन आउने बेला शल्यक्रिया गर्ने बेला र महिनावारी भएका बेला बढी रगत बगेर उपचार गराउन आउने महिला,कुनै दुर्घटनामा परी उपचार गराउन आउने व्यक्तिलाई बढी रगत आवश्यक पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  

अन्धविश्वासले रगत दिन मान्दैनन्

जनचेतनाको कमीले सबै मानिसले रक्तदान गर्न समेत गर्न मान्दैनन्। रक्तदान गरे शारीरिक रुपमा कमजोर हुने अन्धविश्वास छ। रक्तदाता नपाएर बिरामीलाई रिफर गर्नुपर्ने अवस्था कम गर्न सुत्केरी हुन अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनु पर्ने नियम बनाएको छ।आफन्तलाई आवश्यक भएका अवस्थामा समेत रगत दिन तयार नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदिशचन्द्र विष्टले बताए। आफ्नै श्रीमतीलाई रगत आवश्यक परेमा समेत श्रीमानले रक्तदान दिन मान्दैनन्। उनले भने, 'रगत दियो भने कमजोर भइन्छ भन्ने गलत बुझाई रहेको छ।' 

रक्तदान गर्दा कुनै किसिमको कमजोरी नहुने स्वास्थ्यकर्मीको भनाई रहेको छ। समुदाय र विद्यालय तहमा रक्तदानसम्बन्धी चेतनामूलक कार्यक्रमसँगै रक्तदाताको सूची अति आवश्यक भएको डाक्टर विष्टको भनाइ रहेको छ। 

रक्तसञ्चार केन्द्र स्थापना लागि पहल 

जिल्ला अस्पताल बैतडीमा पहिलोपटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को स्थापना हुने भएको छ। अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो। आ.व. २०७५/०७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेछ।सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापनाका लागि चालु आवमा ब्लड बैंक स्थापना गर्ने गरी ३० लाख रकम विनियोजित गरिएको छ।

प्रसूति गराउने आमाहरू, दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न ब्लड बैंकको स्थापना गर्न लागिएको बैतडी क्षेत्र नम्बर (ख) बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सांसद लिलाधर भट्टले बताए। प्रसूति शल्यक्रिया, दुर्घटनामा परेका घाइते तथा अप्रेसन गर्नुपर्ने बिरामीलाई रगतको आवश्यकता पर्दा नेपाली सेना, नेपाल प्रहरीको भर पर्नुपर्ने त्यसमाथि पनि ब्लड समूह नमिल्ने समस्याले धेरै बिरामीलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता रहेकोले ब्लड बैंकको स्थापना भए सो समस्या हट्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए।

रगतको अभावमा गर्भवती महिला र अन्य बिरामीको मृत्यु समेत भएको भन्दै जिल्ला अस्पताल बैतडीले रक्त संचारको स्थापना गर्न लागेको जनाएको छ। ब्लड बैंक स्थापनासँगै गर्भवती महिलाको उपचारमा सहज हुने डा.विष्टको भनाई छ।

रक्तसञ्चार केन्द्र स्थापना गर्न नै समस्या

प्रदेश सरकारवाट रक्त सञ्चार केन्द्र स्थापनाको लागि पहल भएको भए पनि स्थापनामै समस्या देखिएको छ। धेरै कम मात्रा रगत आवश्यक पर्ने बिरामी आउने गरेकोले रक्तसञ्चार केन्द्र स्थापना गर्न नै समस्या देखिएको हो। रगत धेरै कम मात्रामा प्रयोग हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदिशचन्द्र विष्टले बताए। रगत कहिलेकाहिँ मात्रै प्रयोग हुन्छ। उनले भने, 'रगत भण्डारण गरेको ३५ दिनभित्र प्रयोग गरिसक्नु पर्छ। त्यो अवधिमा प्रयोगमा आएन भने रगतको म्याद सकिन्छ।' 

पटक-पटक रक्त सञ्चार केन्द्र बनाउन छलफल समेत गरिएको थियो। तर कुनै पनि सरोकारवालाले चासो नदेखाउने गरेको बताइएको छ। स्वास्थ्य कार्यालयले रगतको व्यवस्था गर्न यसअघि जिल्लास्थित सरोकारवालासँगको अन्तरक्रियामा राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाको तर्फबाट रक्तदान गर्न चाहनेको विवरण दिने प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.