|

मुगु : लगातारको हिमपातले मगु सदरमुकाम गमगढी जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी-नाग्मा सडक करिब डेढ महिनादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्री अभाव हुँदै गएको छ।

सडकमार्ग अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुन थालेको छ। हिमपातले लामो समयसम्म सडक बन्द भएपछि दैनिक उपभोग्य समानको अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । सडक खुलाउन सरोकारवाला निकायले पहल गरे पनि हिमपात नरोकिँदा समस्या भएको उनको भनाइ छ ।

बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको वस्तु अभाव हुन थालेपछि गाउँगाउँबाट आएका उपभोक्ता मर्कामा परेका छन्। 

अलपत्र मालवाहक गाडी

दैनिक उपभोग्य वस्तु बोकेर मुगुका लागि हिँडेका मालवाहक गाडी बीच बाटोमै अलप्रत्र परेका छन्। जुम्लाको गोडी ज्युला, भुलभुलेमा  डेढ महिना देखि मालवाहक गाडी रोकिएका छन्। 

बाटोमा हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको र सडक नखुलेकाले यातायाताका साधन बीच बाटोमा रोकिएका छायानाथ रारा नगरपालिका–६ का सन्देश कुलालले बताए। उनका अनुसार दिगो सडक नभएकाले बर्सेनि यस्तै समस्या हुने भए पनि यसको विकल्प कसैले नखोजेकाले स्थानीयवासीको गुनासो छ। 

यता खत्याड जोड्ने सडक पनि डेढ महिनादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ। 

डोजरले हिउँ पन्छाइँदै

नाग्म-गमगढी सडकखण्डमा जमेको हिउँ सोमबारदेखि डोजर लगाएर पन्छाउन थालिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार जुम्ला मुगु दुवै जिल्लामा डोजर लगाएर सडक खुलाइँदै छ।

मौसममा केही सुधार भएकाले नाग्म–गमगढी सडकमा डोजर लगाएर हिउँ हटाई सडक  खुलाउने कामलाई तीव्ररुपमा अघि बढाइएको सडक डिभिजन कार्यलय जुम्लाका इन्जिनियर सवनकुमार महताराले जानकारी दिए। उनका अनुसर मौसमले साथ दिए दुई तीनभित्र सडक पूर्णरुपमा सञ्चालनमा आउने छ। 

सडक खुलाउन मुगुबाट पनि डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी अजयकुमार घिमिरेले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.