नेकपाभित्र प्रतिक्रियावादीले प्वाल पार्ने षड्यन्त्र गर्दैछ : प्रचण्ड

|

भद्रपुर, (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। ‘सुखानीको शहीद भूमिबाट बोल्दैछु’, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, 'कम्युनिस्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन, सच्चा कम्युनिस्ट पार्टी भए आउँनुहोस्, देश र जनताको निम्ति एउटै पार्टीमा बसेर काम गरूम्।' 

दानाबारीस्थित इलाम र झापाको सिमानामा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलिसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेत्र चन्द्र विक्रम ‘विप्लव’ माओवादी पार्टीलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘आज शहीद भूमिबाटै पार्टी एकताका लागि आव्हान गर्न चाहन्छु।आफ्नो पार्टीको ठोस योजना लिएर आउनुहोस्। हामी कम्युनिस्ट पार्टी बनाएर अघि बढ्न तयार छौं', प्रधानमन्त्री ओलीले भने। 

शहीदको बलिदान र मूल्यांकन गर्न कम्युनिस्ट पार्टी नीति बनाएर अघि बढिसकेको उनले प्रस्ट्याए। वर्तमान सरकार शहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले भने, ‘यसबर्ष गरेको काम भन्दा आउँदो बर्ष अझ बढी काम गर्नेछु। जनताको अधिकार र जीवनस्तर वृद्धिका लागि सरकार दीर्घकालीन योजना लिएर अघि बढिसकेको छ।’

केही शक्ति र प्रतिक्रियावादी समूहले भर्खरै एकता भएको नेकपा पार्टी फुटाउन खेलमा लागि परेकोले नेकपा पार्टी भित्र त्यस्तो कुनै असन्तुष्टि नरहेको उनले प्रस्टाए।झापा आन्दोलन र विद्रोहका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सरकार शहीद घोषणा गर्ने तयारीमा रहेको बताउँदै उनले भने, कोही शहिद हुने कोही शहीद नहुने यसमा कुनै किसिमको भेदभाव हुँदैन। 

भर्खरै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएकोले फागुन २१ अघि बाँकी रहेका व्यक्तिलाई शहीद गर्न सकेनौं।उनीहरूलाई अब छिट्टै राज्यले शहीद घोषणा गर्ने उनले बताए। उनका अनुसार झापा विद्रोहले पञ्चायत शासनसँगै राजतन्त्र ढालेर जनता र देशका लागि लोकतन्त्र र गणतन्त्र स्थापना गराउन मुख्य भूमिका निर्वाह गरेको छ। ‘४६ वर्षअघि यस आन्दोलनको एक पात्र म पनि हुँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसदिन म लुकेर वा भागेर नवाँचेको भए पञ्चायत सरकारले मलाई यही ल्याएर मार्थ्यो। सुखानीमा मेरो पनि शालिक हुन्थ्यो।' 

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिक्रियावादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा गरेका छन्। पार्टी एकतालाई मजबुत बनाउन हामी लागि परेको उल्लेख गर्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भने, 'कम्युनिस्ट आन्दोलनलाई व्यर्थ जान नदिन हामी एकजुट भएका छौं।' ‘जनताको अधिकार र समृद्धिका लागि वर्तमान सरकार लागि परेको छ', उनले भने, ‘कम्युनिस्ट वहुमतको सरकारबाट हुने कमि कमजोरीलाई पार्टीभित्र छलफल र समीक्षा गरी जनताको पक्षमा लैजान प्रयासरत छौं।’ 

सुखानीको यस शहीद भूमिमा उभिएर प्रचण्डले भने, ‘तत्कालीन एमाले-माओवादी पार्टी एकता नगराउन मलाई धेरै लोभ लालच देखाइयो। पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने लिखित सहमति पनि दिने भयो। तर मैले मानिन्’ उनले भने, ‘मैले पद र प्रतिष्ठाको लागि पार्टी एकता गरेको होइन। 

कम्युनिस्टलाई एकजुट बनाउन पार्टी एकता गरेको हुँ।’ ‘दुई पटक प्रधानमन्त्री बनिसकेको छु। प्रधानमन्त्रीको लागि लोभ छैन। अब जनताको पक्षमा काम गर्ने छु', उनले थपे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.