निर्माणको समय सीमा तोकेसँगै काममा तीव्रता

|

रसुवा : भूकम्पबाट क्षति बेहोरेका रसुवामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन्। भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा जिल्लाका ७६ प्रतिशत भूकम्प पीडितले निजी आवास निर्माण सम्पन्न गरेका हुन्। राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाका प्रमुख भरत थापा ७६ प्रतिशत भूकम्पपीडितको आवास निर्माण सम्पन्न भएको जानकारी दिएका छन।

१२ हजार ४९२ जना लाभग्राही रहेको रसुवामा ९ हजार ४५७ जनाले निजी आवास निर्माण सम्पन्न गरेको थापाले बताए। जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा बढी नौ कुण्ड गाउँपालिकामा र सबैभन्दा कम गोसाईकुण्ड गाउँपालिकामा घर निर्माण भएको उनले जानकारी दिए।

नौ कुण्ड गाउँपालिकामा ३ हजार ३४९ लाभग्राहीमध्ये २ हजार ८६५ घर निर्माण सम्पन्न भएको छ। त्यस्तै २ हजार ५६९ लाभग्राही रहेको कालिका गाउँपालिकामा २ हजार १७७ घर निर्माण सम्पन्न भएका छन। त्यस्तै २ हजार ६३१ लाभग्राही रहेको उत्तरगया गाउँपालिकामा १ हजार ७७६ जनाले घर निर्माण सम्पन्न गरेका छन। त्यसैगरी १ हजार ९६४ लाभग्राही रहेको आमाछोदिङ्मो गाउँपालिकामा १ हजार ३२० ले घर निर्माण सम्पन्न गरेका छन। त्यस्तै १ हजार ९७९ लाभग्राही रहेको गोसाईकुण्ड गाउँपालिकामा १ हजार ३१९ ले घर निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाले जनाएको छ।

जिल्लामा हालसम्म ११ हजार ७२६ जनाले पहिलो किस्ता वापतको रकम बुझेका छन् भने १० हजार ७८० जनाले दोस्रो र ९ हजार ४५७ ले तेस्रो किस्ता वापतको रकम बुझिसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाले जनाएको छ। सरकारले पुस मसान्तसम्ममा दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।  सडक नपुगेको स्थानमा हेलिकप्टर तथा खच्चडको प्रयोग गरेर निर्माण सामग्री लगी पुननिर्माणलाई तीव्रता दिइरहेको भूकम्पपिडितहरूले बताएका छन। भूकम्पपीडितले पुननिर्माणलाई तीव्रता दिनका लागि पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोत र साधनको प्रयोग गर्ने लगायतका कार्य गरेका कारण भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये रसुवा पहिलो नम्बरमा रहेको बताइएको छ।

गैससको सहयोगमा ८७९ घर निर्माण

निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका छ वटा गैरसरकारी संस्थाले ८७९ वटा निजी घर निर्माण सम्पन्न गरेका राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाले जनाएको छ।

बतास फाउण्डेसनले जिम्मेवारी पाएको १५२ वटा र ओएम नेपालले जिम्मेवारी पाएको छ घर निर्माण सम्पन्न गरेको छ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये ३८७, लुमन्तीले जिम्मेवारी पाएको ३७८ घरमध्ये २४३ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ घर निर्माण सम्पन्न गरेका छन। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा जिल्लामा एक हजार १०९ निजी आवास पुनर्निर्माण हुने भएको छ।

अनुदानको ३ अर्ब भन्दा बढी रकम वितरण

विनाशकारी भूकम्पबाट प्रभावित भएकाको निजी आवास पुननिर्माणका लागि रसुवामा करिब ३ अर्ब भन्दा बढी रकम वितरण भएको छ। विनाशकारी भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा अनुदान वापतको ३ अर्ब १४ करोड ९० लाख  रुपैयाँ रकम वितरण भएको हो।

पहिलो किस्ता वापतको ५० हजार बुझेका ११ हजार ७२६ जना लाभग्राहिलाई ५८ करोड ६३ लाख, दोस्रो किस्ता बापतको १ लाख ५० हजार बुझेका १० हजार ७८० जनालाई १ अर्ब ६१ करोड, ७० लाख, र तेस्रो किस्ता बापत १ लाख बुझेका ९ हजार ४५७ जनालाई ९४ करोड ५७ लाख रकम वितरण भइसकेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाले  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.