|

काठमाडौं : थाहाखबर डट कमको औपचारिक शुभारम्भ कार्यक्रममा निम्त्याइएका सञ्चारसम्बद्ध संस्थाका प्रमुख तथा राजनीतिक दलका नेताहरुले ‘निष्पक्ष सक्रियताको अभ्यास’ गर्ने चुनौती पूरा गर्न थाहाखबरलाई शुभकामना दिए। कसैले सामाजिक सद्भावलाई सुधार्न र राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गरे त कसैले सामग्रीमा विश्वसनीयता कायम गर्न।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सही सूचना थाहा दिन थाहाखबर डट कम सफल होस् भनी कामना गरे । उनले सूचना तथा विश्लेषण निष्पक्ष र सन्तुलित हुनुपर्ने बताए।

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले थाहाखबरले वैकल्पिक मिडियाको काम गर्नुपर्ने बताए। 'परम्परागत राजनीतिक मान्यता र संरचनाको विकल्पमा आफूहरुले नयाँ शक्ति निर्माण गरेजस्तै थाहा सञ्चार पनि सञ्चार माध्यमहरुबीचमा वैकल्पिक माध्यम बन्न सकोस्', उनले भने। 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले रुपचन्द्र विष्टको थाहा अभियानलाई आदर्श बनाएर सञ्चालन भएको थाहाखबरले नेपाली समाजको सत्य उजागर गर्नुपर्ने बताए।

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले थाहाखबरले रुपचन्द्र विष्टको थाहा अभियानको आदर्शलाई अझै फैलाउनुपर्ने बताए। अहिले आदर्शको ठाउँ उपभोक्तावादले लिएको भन्दै नेता गजुरेलले थाहाको आदर्शप्रति सचेत हुन आग्रह गरे।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिले अनलाइन सञ्चार माध्यममा छोटो दूरीका तिब्र धावकहरुको संख्या बढेको बताए। ‘अनलाइन मिडियामा अत्यन्त धेरै धावकहरु छन्, छोटो दूरीका तिब्र धावकहरु आएका छन्’, उनले भने, ‘थाहाखबर पनि तिब्र गतिको दौडको खेलमा आएको छ छिटो नै भनेको ठाउँमा पुगोस्।'

भट्टराईले छिटो दौडने नाममा खेलाडीहरुले प्रतिवन्धित शक्तिबर्धक औषधी प्रयोग गर्ने प्रचलन रहेको सन्दर्भ कोट्याउँदै सञ्चारमाध्यमले छिटो दौडने नाममा शक्तिवर्द्धक औषधी प्रयोग नगर्न सुझाव दिए। 'मलाई आशा छ थाहाखबर डोपिङमा पनि सफल नै हुनेछ', उनले भने। सञ्चार माध्यमले नेपाललाई एकतावद्ध बनाउनुपर्ने भन्दै भट्टराईले हिमाल पहाड र तराईलाई सञ्चार माध्यमले एकतामा बाँध्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अहिले नागरिकले सबैभन्दा पहिला अनलाइनहरुबाट सूचना लिने गरेको बताउँदै विचार निर्माणमा पनि अनलाइन सञ्चार माध्यमहरु अगाडि रहेको बताए। तर अनलाइनहरुले विश्वसनीयतामा ध्यान दिनुपर्ने विष्टले औल्याए। ‘नागरिकले अनलाइनबाटै पहिला सूचना पाएका छन् यसले विचार निर्माणमा पनि सहयोग पुर्‍याएको छ’, उनले भने, ‘तर अनलाइनले आफ्नो विश्वसनीयतामा ध्यान दिनुपर्छ।' 

सरकारले संविधानले ग्यारेन्टी गरेको कुरालाई नै धक्का दिनेगरी अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका ल्याएको भन्दै विष्टले आफूहरुको दबाबपछि अहिले पुनर्विचार गर्न लागेको जानकारी गराए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चार माध्यमहरुमा सबैभन्दा कान्छो पुस्ता अनलाइनको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सदुपयोग राम्ररी हुन नसकेको बताए। अहिले नेपालको राष्ट्रियता कमजोर भएको बेला अनलाइनले सामाजिक सद्भावलाई सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइन सञ्चार माध्यमहरुको बाढी नै आएको भन्दै थाहाखबरले आफुलाई पृथक पहिचान दिनु चुनौतीपूर्ण भएको बताए। उनले अनलाइन सञ्चार माध्यमको समाचारमा विश्वास गर्न कठिन रहेको पनि बताए।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले थाहा मिडिया इतिहासको बिरासतसँग जोडिएको भन्दै समयको मागसँगै आफुलाई न्यु मिडियाको प्रयोगबाट समाज रुपान्तरणको पक्षमा काम गर्न शुभकामना दिइन्। नेपाली समाजको परिवर्तनका खातिर सकारात्मक अभियान सञ्चालन गरेका रुपचन्द्रको विचारलाई थाहा ग्रुपले अगाडि बढाएर सकारात्मक कार्यको थालनी गरेको उनले बताइन्।

'नेपाली समाजका श्रमजीवी मजदुर, किसान र उत्पीडित महिला दलित लगायतका समुदायको मुक्ति र समानताको उद्देश्यलाई आफ्नो जीवनको राजनीतिक आदर्श र आन्दोलनको विषय बनाएका रुपचन्द्र विष्टको आदर्शलाई सञ्चार माध्यमबाट अगाडि बढाउने असल कार्यको थालनी भएको छ। यसको सफलताको शुभकामना दिन चाहन्छु', भुसालले भनिन्।

थाहाखबर डटकमका प्रधान सम्पादक तीर्थ कोइरालाले अनलाइन सञ्चार माध्यममा थाहाखबर नाम र प्रारम्भको हिसाबले मात्र नभएको बताए। ‘अनलाइन सञ्चार माध्यमहरुको पंक्तिमा हाम्रो नयाँ कदम हो’, उनले भने, ‘हामी नाम र प्रारम्भ मात्र होइन देश र जनताका लागि नयाँ कुरा पस्कन चाहन्छौं।‘

प्रधान सम्पादक कोइरालाले आफूहरु नभएको विषयलाई भएको र भएको विषयलाई ढाकछोप नगर्ने बताए। ‘हामी कसैलाई हराउन र तेजोबध गर्न होइन सत्य कुरा दिन आएका हौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट