|

काठमाडौं : महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा मंगलबार साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा रात्रिभोजको आयोजना भयो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्त व्यक्तिहरू सहभागी भए।

समारोहमा जाने र आउने क्रममा भिभिआइपी र भिआइपीको सवारीका कारण सर्वसाधारणले सास्ती खेप्नुपर्‍यो। काठमाडौंमा हुने ट्राफिक जाम र त्यसमाथि भिभिआइपी र भिआइपीको सवारीमा गरिने सडक अवरोधले सर्वसाधारण आजित छन्। मंगलबार साँझ घर फर्कंदै गरेका सर्वसाधारले पनि सोही नियति भोग्नुपर्‍यो। रात पर्दै गएको अवस्था र उच्चपदस्थ अधिकारीहरूको सवारीले सर्वसाधारणलाई समस्या दिएपछि सवारी चालक ट्रफिक नियम नै उल्‍लंघन गर्न बाध्य बने।

राष्ट्रपति र उपराष्ट्रपतिको सवारीलाई लिएर शीतलनिवासदेखि लैनचौर, केशरमहल चोकलगायतका स्थानमा सवारी आवतजावतमा रोक लगाइएको थियो। तर, राष्ट्रपति र उपराष्ट्रपतिको सवारीमा केही ढिला भएपछि मोटरसाइकलमा सवार सर्वसाधारणले ट्राफिक नियम उल्‍लंघन गरेको भिडियो सार्वजनिक भएको छ।

करिब ४० मिनेटसम्म पनि बाटो नखुलेपछि मोटरसाइकलमा सवार सर्वसाधारणले ट्राफिक नियम उल्‍लंघन गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। भिडियो कैद गरेका फरकधारका पत्रकार कमल विष्टका अनुसार लामो समयसम्म बाटो नखुलेपछि सर्वसाधारणले ‘बाटो राष्ट्रपतिभन्दा जनताको धेरै हो, भन्दै सवारी साधन अघि बढाएका थिए। उनले भने, ‘म अफिसबाट घर फर्कदै थिए। लैनचौरमा धेरै गाडीको हर्न बजेको सुने। हर्न निषेधित क्षेत्रमा हर्न बजेको सुनेपछि अचम्म लाग्यो र भिडियो कैद गरेँ।’ ‘पछि थाहा भयो राष्ट्रपतिको सवारीका लागि लामो समयसम्म रोकिएका सर्वसाधारणले जान पाउनुपर्ने भन्दै हर्न बजाएका रहेछन्।’, विष्टले भने।

भिडियोमा एक मोटरसाइकल चालकले जबरजस्ती रोक लगाइएको साइडतर्फ मोटरसाइकल कुदाँउछन् अनि अन्य पनि सोही बाटो हुँदै अगाडि बढ्छन्। यो दृष्यभन्दा केही समयअघि सवारी चालकले हर्न बजाएर विरोध जनाएका थिए। राष्ट्रपतिको सवारीपछि पनि ट्रफिकले जान नदिएपछि सर्वसाधारणले ट्रफिक नियम उलंघन गरेर गन्तव्यतर्फ लागेको उनले जानकारी दिए।

तर ट्राफिक प्रहरीले भने सर्वसाधारणले ट्राफिक नियम उंलघन गरेको नभई राष्ट्रपति र उपराष्ट्रपतिको सवारीमा समय तलमाथि भएपछि केही ढिलो भएको अवस्थमा केही यातायातका साधनलाई डाइभर्सन गरिएको दाबी गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले लामो समयसम्म सडकमा रोकिएका सवारीलाई छोटो समयका लागि डाइभर्सन गरिएको बताए। उनले भने, ‘लामो समयसम्म रोकिराखेका सवारीलाई डाइभर्सन गरिएको हो। त्यस्तो विरोध र ट्रफिक नियम मिचेको भन्ने रिपोर्टिङ छैन।’

घटना मंगलबार बेलुकी करिब सवा सात बजेको हो। राष्ट्रपति र उपराष्ट्रपतिको सवारीलाई लिएर बाटो खाली गर्ने विषयमा यसअघि पनि आमसर्वसाधारणले असहमति जनाउने गरेका थिए। तर ट्राफिक नियम नै उल्‍लंघन गरेको घटना सम्भवत यो नै पहिलो हो।

सम्मान मलाई गर वा फलानोलाई सम्मान गर भनेर सम्मान गरिने कुरा होइन। यो आत्मैदेखि गरिने विषय हो। नेपालको इतिहासमा धेरै पटक सम्मानित पदलाई विवादमा तान्ने गरेको पाइन्छ। अनावस्यक रूपमा कसैलाई पनि विवादित बनाइनु वाञ्छनीय होइन। तत्कालका लागि समान्य देखिएको विरोधका स्वरलाई तत्कालै उचित ढंगले समाधान गरिएन भने त्यसले भोलि दुर्घटना निम्त्याउन सक्छ। त्यसैले यसको समयमै निराकरण गर्न जरुरी छ।

भिडियो पत्रकार कमल विष्टको फेसबुकबाट

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.