देउवाविरुद्ध संस्थापनइतरको मोर्चाबन्दी

|

काठमाडौं : यतिबेला नेपाली कांग्रेसभित्रको गुटगत राजनीति र आन्तरिक किचलो सतहमा छ। पार्टी सभापति शेरबहादुर देउवाइतर समूहको चाक्सीबारी भेला, ५६ जिल्ला सभापतिहरूको संयुक्त विज्ञप्ति, केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको चेतावनीपछि रोकिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित नै कांग्रेसभित्रको विवादलाई पुष्टि गर्ने घटनाक्रम हो।

पछिल्लोपटक महासमिति बैठकका निर्णय केन्द्रीय कार्यसमिति बैठकले उल्टाएपछि सक्रिय बनेको देउवाइतर समूह देउवाको कार्यशैलीविरुद्ध एक भएर अघि बढ्ने निष्कर्षमा पुगेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार वरिष्ठ नेता पौडेल, नेताहरू सिटौला, शशांक कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसीसहितको भेलामा पार्टीलाई एकताबद्ध बनाउन देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।

भेलाले सभापति देउवाले बहुमतका आधारमा एकलौटी रूपमा पार्टी चलाउन खोजेको, महासमितिको निर्देशनलाई समेत अटेरी गरेको, भ्रातृ संस्थालाई पंगु बनाउन अधिवेशन नगराउन खोजेको आरोप लगाएको छ। बुधबारको भेलाले मंगलबारको जिल्ला सभापतिहरूले जारी गरेको विज्ञप्तिलाई पनि 'ढाडस' मिलेको छ। महासमितिमा जिल्ला सभापतिसँग गरिएको प्रतिबद्धताविपरीत फागुन १२ गतेको केन्द्रीय कार्यसमिति बैठकले विधान पारित गरेपछि ५६ जिल्लाका सभापतिहरूले असहमति जनाउँदै देउवामाथि आक्रोश व्यक्त गरे। कांग्रेसको केन्द्रीय नेतृत्वमा देखिएको गुटबन्दी जिल्ला सभापतिमा पनि देखिएको छ।

महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केही नेताहरू लागेको जिल्ला सभापतिहरू बताउँछन्। निर्वाचबाट डराउने, बुथमा जान नचाहने र कसैले क्रेनले जस्तै ल्याएर थमाइ दिएको पदमा रमाउनेहरूले नै महासमितिको निर्णय उल्ट्याएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए। सभापति देउवा केही व्यक्तिको चंगुलमा फसेका कारण महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएको केसीको भनाइ छ।

बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राखेपछि पार्टीभित्र विवाद छ। केन्द्रीय समिति बैठक आफ्नो निर्णयबाट पछि नहटे जिल्ला सभापतिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने तयारीमा छन्। निर्णय सच्चाउन समय दिने तर महासमितिले गरेको निर्णयअनुसार नै केन्द्रीय समितिले निर्णय नगरे आफूहरू चुप लागेर नबस्ने केसीले बताए। आफूहरूको अग्रसरतालाई गुटबन्दी भन्न नहुने उनीहरूको तर्क छ। आफूहरूले गुटगत राजनीति नगरेको बरू पार्टीको गुटगत राजनीति अन्त्यका लागि अग्रसरता लिएको उनी बताउँछन्।

अहिले कांग्रेसमा देखिएको विवाद पदका लागि हो कि? यथार्थमै पार्टीकै हितका लागि हो भन्ने विषय गम्भीर छ। गत निर्वाचनमा पराजय भोगेपछि कांग्रेस नेतृत्व आलोचित हुने क्रम बढेको हो। २०४८ सालपछि १२ पटक सरकारको नेतृत्वमा पुगेको कांग्रेसमा पछिल्लो समयको विवाद पनि पद र स्वार्थकै लागि भएको स्वयं कांग्रेस नेताहरू स्वीकार्छन्। ‘०४८ पछिको ‘ग्ल्यामर’ गुम्दा र सत्ताबाहिर बस्दाको पीडाको परिणाम नै अहिलेको नेतृत्वमा देखिएको विवाद हो’ नेता गुरुराज घिमिरेले भने, ‘जसले पटकपटक सरकारको नेतृत्व गरे, सरकारमा सहभागी भए, विभिन्न पदमा रहे उनीहरू नै अहिले सत्ताच्युत हुँदा छटपटाइरहेका छन्।’

कांग्रेसले आपसमा दन्तबजान गर्न छाडेर प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने घिमिरेको भनाइ छ। कांग्रेसका शीर्ष नेताहरूले समयको चुनौतीलाई बुझ्न नसकेको उनले औँल्याए। अहिले देउवाविरुद्धको मोर्चाबन्दी पनि त्यसैको परिणाम हो भन्नेमा उनीलगायत धेरै नेताहरू सहमत छन्। सबैभन्दा धेरै अवसर पाएका व्यक्तिकै बीचमा अहिले झगडा भएको घिमिरेको तर्क छ।

‘उहाँहरूले पहिले जसरी अवसर प्राप्त गर्नुभयो अहिले अवसरबाट विमुख हुनुहुन्छ। सत्ताच्युत भएपछि होस गुम्यो होला उहाँहरूको,’ उनले भने ‘घरमा गरिबी बढेपछि झगडा भएजस्तै हाम्रो पार्टीमा राजनीतिक गरिबी बढ्यो, राजनीति गरिबी बढेपछि कलहको अवस्था देखियो।’ उनले नेताहरूमा होस आएपछि समस्याको समाधान हुने दाबीसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.