|

भद्रपुर, (झापा) : विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै थ्री स्टार क्लब बिर्तामोडमा जारी चौँथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

टाइब्रेकरमा नेपाल पुलिसलाई शून्यको विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। सेमिफाइनलमा अब थ्री स्टार घरेलु टोली झापा ११ सँग भिड्नेछ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर खेल परिणत भयो।

टाइब्रेकरमा गोलरक्षक एलन न्यौपाने नायक बन्दा थ्रीस्टार अन्तिम चारमा पुग्न सफल भयो। टाइब्रेकरमा पुलिसका विराट शाह र अजित भण्डारीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए। थ्रीस्टारका तर्फबाट विजय धिमाल, बुद्धराज लिम्बू र रूपेश केसी गोल गर्न सफल भए। पुलिसका रवी पासवानको प्रहार पोष्टभन्दा बाहिरिएको थियो। खेल अवधिभर दुवै टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।

खेलमा म्यान अफ दी म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। बिहीबार रुपन्देही ११ एफसी र दाफिन्स फुटबल क्लब क्यामरुनबीच खेल हुने आयोजकले जनाएको छ। मनाङ मस्र्याङदी क्लवले प्रतियोगितामा सहभागिता नजनाउने अन्तिम समयमा आएर जानकारी गराएपछि विकल्पको रूपमा दाफिन्स फुटबल क्लब आएको हो। फागुन २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.