विमानस्थल सम्भाव्यताकै क्रममा मन्त्रीको निधन

|

धनकुटा : तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गर्ने चर्चा चलेको ४३ वर्ष भएको छ। पूर्वी पहाडी जिल्लाहरुकै विमानस्थल निर्माणका लागि सबैभन्दा उपयुक्त स्थान भएको भनिएको तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडामा पर्ने थुम्कीडाँडामा विमानस्थल निर्माणका लागि २०३२ सालदेखि चर्चा चल्दै आएको हो। विमानस्थल निर्माणका लागि यसअघि नै चारपटकसम्म सम्भाव्यता अध्ययन भइसकेको थियो।

विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९, २०७१ सालमा चुहानडाँडामा प्राविधिकहरुबाट सम्भाव्यता अध्ययन तथा सर्वेक्षण भइसकेको हो। सम्भाव्यता तथा सर्वेक्षण अध्ययनमा उपयुक्त देखिएपछि २०७३ सालमा विस्तृत सर्वेक्षण भई २९ करोड बराबरको लागत स्टिमेटसमेत भएको थियो।

पटक-पटक अध्ययन

विमानस्थल निर्माणपछि तेह्रथुम जिल्लासहित पाँचथर र ताप्लेजुङका अधिकांश क्षेत्रलाई हवाई सुविधा पुग्ने यो विमानस्थल निर्माणका लागि २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष, २०७१ सालमा तल्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग विमानस्थल सरोकार समितिले अनुरोध गरेको थियो। वर्तमान प्रधानमन्त्री ओलीसमक्ष २०७२ सालमा र गत वैशाखमा विमानस्थल निर्माण कार्यको थालनी गर्नका लागि पहल गरेको भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले जानकारी दिए। विमानस्थलका निर्माणका लागि पटक-पटक अध्ययन भए पनि र प्रतिनिधि मण्डल सरकारसमक्ष पुगे पनि कार्यान्वयनमा भने आउन सकेको छैन।

चुहानडाँडामा पहिलो कुरा आवश्यकता र दोस्रो कुरा समृद्धिसँग जोडिएको विमानस्थलको लागि २ सय ७१ रोपनी क्षेत्रमा फैलिएको थुम्कीडाँडामा १० जना स्थानीयको जग्गा रहेको छ। विमानस्थल निर्माणका लागि स्थानीय भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिलाई जग्गा उपलब्ध गराउन मञ्जुर छन्। जग्गा मुआब्जाका लागि २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ।

नेपालको शैक्षिक र राजनीतिक इतिहासमा आठराई क्षेत्रको विशेष महत्वसमेत रहेकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा मुआब्जा सहितको विमानस्थलका लागि आवश्यक रकम विनियोजन गर्न स्थानीयले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका थिए। बजेटको व्यवस्था मिलाई विमानस्थल निर्माण कार्य सुरुवात गराउन र प्रधानमन्त्री ओलीको बाहुलीबाट शिलान्यास भएको हेर्न नागरिकहरु लालायित भएको ज्ञापनपत्रमा उल्लेख छ। प्रधानमन्त्री ओलीको जन्मभूमिसमेत रहेको यो स्थानको गरिमा र महत्व बढ्ने स्थानीयको भनाइ छ। 'विमानस्थल निर्माण कार्य यथाशीघ्र प्रारम्भका लागि मन्त्री अधिकारीमार्फत प्रधानमन्त्री ओलीको ध्यान आकृष्ट गर्न चाहेका थियौँ।' आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले भने, ‘त्यो अधुरै बन्न पुगेको छ।’

सम्भाव्‍यता अध्ययनकै क्रममा मन्त्री सवार हेलिकोप्टर दुर्घटना

पटकपटक चर्चा हुँदै आएको चुहानडाँडामा विमानस्थलको पाँचौँ पटकको सम्भाव्यता अध्ययनका लागि गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी पुगेका थिए। विमानस्थलका लागि धेरै चर्चा चलेको स्थानमा मन्त्री आएपछि विमानस्थल बन्छ भन्नेमा स्थानीयले विश्वास लिएका थिए। विमानस्थल बनेपछि आठराईको मात्र नभई समग्र तेह्रथुमको समृद्धिको ढोका खुल्ने स्थानीयले अपेक्षा लिएका थिए।

चुहानडाँडामा ११ मिनेट विमानस्थलको बारेमा सम्बोधन मन्त्री अधिकारीले हेर्न मात्र होइन काम गर्न आएको बताएका थिए। उनले त्यसरी बाँडेको खुसी र विश्वासको एक घण्टापछि देश नै शोकमग्न हुनुपुग्‍यो। चुहानडाँडाबाट काठमाडौं फर्किएका मन्त्री सवार हेलिकोप्टर ताप्लेजुङ दुर्घटना भयो। यस घटनाको खबरले चुहानडाँडावासीको खुसी, केही छिनमै निराशा र भावविह्वलमा रूपान्तरण भयो।

चुहानडाँडामा मन्त्रीसहितको अध्ययन टोली विमानस्थलको नक्सा र ८७ करोड रुपैयाँ लागतको इस्टिमेट हातमा लिएर सम्बोधन गर्दै मन्त्री अधिकारीले ३ वर्ष भित्रमा विमानस्थल बन्ने र समृद्धिको ढोका खुल्ने बताएका थिए।  हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकोप्टरका पाइलट  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो।

चुहानडाँडावासीले पाउलान् त विमानस्थल

२०७४ सालको चैतमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा नियुक्त भएपछि मन्त्री अधिकारीको विमानस्थल खोजीकै दौडधूपमा व्यस्त थिए। सन् २०२० मा २० लाख पर्यटक ल्याउने विषयदेखि नेपाल वायुसेवा निगममा दर्जनभन्दा धेरै अन्तर्राष्ट्रिय उडान भर्ने ठूला विमान ल्याउने उनको योजना थियो। उनले सन् २०२० मा २० लाख पर्यटक ल्याउने र त्यसको लागि सबै निकायसँगको समन्वयलाई सधै नजिक राखेका थिए। देशभित्रैका आन्तरिक विमानस्थलको मर्मत र विस्तारमा उनको जोड थियो। यस्तै, लुकेर रहेका पर्यटकीय गन्तव्यलाई बाहिर ल्याउन यसै आर्थिक वर्षको बजेटमा एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा गरेर बजेट छुट्याउने काम पनि मन्त्री अधिकारीकै पहलमा भएको थियो।

उनी आन्तरिक विमानस्थलको उद्घाटनमा व्यस्त थिए। केही हप्ताअघि मात्रै खोटाङको थामखर्क विमानस्थलको उद्घाटन गरेका अधिकारी तेह्रथुममा पनि चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनकै लागि गएका थिए। पहाडी जिल्लादेखि तराईका विभिन्न जिल्लाहरुमा विमानस्थल खोजीमा हिँडेका मन्त्री अधिकारीले विमानस्थल खोजीकै क्रममा ज्यान गुमाउनुपर्‍यो। मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा पनि विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलको अवलोकनका लागि पुगेका थिए।

विमानस्थल निरीक्षणको क्रममा मन्त्री अधिकारीले तीन वर्षभित्र विमानस्थल बनाउने प्रतिबद्धता जनाएका थिए। त्यसपछि स्थानीयसँग बिदा भएका मन्त्री अधिकारी ताप्लेजुङको खप्टेढुंगामा एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी सधाका लागि बिदा भए। मन्त्री अधिकारीले तीन वर्षमा विमानस्थल बनाउने बताएको सुनेका स्थानीयले केही समयमै मन्त्री अधिकारीको दुखद खबर सुन्न बाध्य भए। मन्त्री अधिकारीको निधनले शोकाकुल भएका चुहानडाँडावासीलाई तीन वर्षमा विमानस्थल बनाउने सपना पूरा हुनेमा शंका उत्पन्न भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.