|

चितवन : तीन वटा पांग्रा भएको अटोरिक्सा सञ्चालनमा आएपछि यात्रुलाई छोटो दूरीको गन्तव्यमा पुग्न छिटो, सजिलो भएको छ। भनेकै समयमा पाइने, सानो गोरेटो बाटोमा पनि जाने र आफूले भनेको स्थानसम्म पुग्ने भएकाले स्कुल, कलेज, कार्यालयका साथै सपिङमा जान अटोरिक्सा प्रयोग हुँदै आएको छ। तर, अटोरिक्सले सहजतासँगै मानिसको दैनिक जीवनमा चुनौती पनि थपिदिएको छ। 

अटोरिक्सा चालकले संयमता नअपनाउँदा यात्रा जोखिमपूर्ण बनिरहेको छ। चालकको लापरवाहीले चालकसँगै यात्रुहरु पनि जोखिममा परेका छन्। पेट्रोलबाट चल्ने २२० सिसिको अटोरिक्सा समथर भूभाग, शहरका साथै पहाडी क्षेत्र र गाउँगाउँसम्म पुगेको छ।  

प्रतिमहिना २० वटा दुर्घटना

चितवनमा हरेक महिना १५ देखि २० वटासम्म अटोरिक्सा दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। अटोरिक्सा दुर्घटनामध्ये सबैभन्दा बढी चालककै लापरवाहीले हुने कार्यालयका प्रहरी हवल्दार विश्व नेपालले बताए। तीब्र गति, अनावश्यक स्थानमा ओभरटेक गर्ने, चाँडै पुग्ने प्रतिस्पर्धा, मादक पदार्थ सेवन गरेर चलाउने लगायतका कारण प्रहरी कार्यालयको तथ्यांकमा छ। 

चालु आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा एक जना चालकसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेका संख्या थोरै भए पनि दुर्घटनाको दर भने डर लाग्दो छ। अटोरिक्सा दुर्घटनामा महिनामा २० देखि २५ जनासम्म घाइते हुने गरेको तथ्यांक छ। दुर्घटनामध्ये मोटरसाइकलसँग ठोक्किएर बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केही समयअघि भरतपुरका मुख्य सडक (हाईवे) मा अटोरिक्सा चलाउन महानगरले प्रतिबन्ध गरेसँगै भित्री सडकमा मात्रै गुडिरहेका छन्। यस निर्णयसँगै हाइवेमा ठूला गाडीसँग ठोक्किएर हुने दुर्घटनाको दर घटेको छ। 

१ हजार ९९५ चालक कारबाही 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले बढ्दो सवारी दुर्घटना कम गर्न विभिन्न सचेतनामुलक अभियानसँगै चेकजाँच र कारबाहीलाई तीव्रता दिएको छ। कार्यालयको तथ्यांक अनुसार हरेक महिना ३०० को हाराहारीमा अटोरिक्सा चालक कारबाहीमा पर्ने गरेका छन्। 

कारबाहीमा पर्नेहरुमा लाइसेन्स, ब्लुबुकलगायतका कागजातबिना चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, जथाभावी मोड्ने, लामो दूरीमा पनि जाने, बढी भाडा लिने लगायत रहेका छन्। उनीहरुलाई कसुर अनुसार कारबाही गरिनुका साथै सम्झाइबुझाइ गरी छाडिने गरेको प्रहरीको बताएको छ। 

चालु आर्थिक वर्षको सात महिनामा एक हजार ९९५ जना अटो चालक कारबाहीमा परेका छन्। उनीहरुबाट कारबाहीस्वरुप १३ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

चालकलाई प्रशिक्षण

बढ्दो दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ३०० जना अटोरिक्सा चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ। पछिल्लो समय अटोरिक्सासँग सम्बन्धित दुर्घटना बढेपछि ट्राफिक प्रहरी कार्यालय, अनुशी अटो ट्रेडर्स र हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले भरतपुरमा प्रशिक्षण दिएको थियो।

प्रशिक्षणमा सहभागी चालकहरुले आप्mना समस्या र अनुभव राख्दै दुर्घटना न्युनिकरणको प्रतिवद्धता जनाएका थिए। उनीहरुले कुनै एक जना चालकले लापरवाही गर्दा सबैलाई दोष लगाउने गरेको भन्दै सबै चालकलाई एउटै नजरले नहेर्न पनि आग्रह गरेका थिए। 

व्यवस्थापनको तयारी

चितवनमा एक हजार २०० वटा अटोरिक्सा दर्ता गरेर सञ्चालन भइरहेको एकता यातायात भरतपुरका अध्यक्ष वीरेन्द्र लामिछानेले जानकारी दिए। उनका अनुसार अटोरिक्साको कारण प्रत्यक्ष रुपमा एक हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। तीन देखि चार लाख रुपैयाँ पर्ने अटोरिक्सा केही चालकले आप्mनै र अधिकांशले भाडामा चलाउने गरेका छन्। 

उता भरतपुर महानगरले साना सवारी व्यवस्थापनको विभिन्न तयारी गरिरहेको जनाएको छ। भविष्यमा हुनसक्ने ट्राफिक जामलाई मध्यनजर गरी अटोरिक्सा, इ–रिक्सा, म्याजिक, टेम्पो लगायतका साना सवारी साधानलाई व्यवस्थित गर्दे लाने महानगर प्रमुख रेणु दाहालको भनाइ छ। केही दिनअघि मात्रै महानगरले मुख्य बजार नारायणगढको शहीद चोकमा जिल्लामै पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.