|

भद्रपुर, (झापा) : विदेशी पाहुना टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब बिर्तामोडमा जारी चौथौ झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। रुपन्देही ११ फुटबल क्लबलाई शून्यका विरूद्व दुई गोलअन्तरले पराजित गर्दै विदेशी टोली दाउफिन्स अन्तिम चारमा पुगेको हो।

अब फाइनल प्रवेशका लागि दाउफिन्स विभागीय टोली नेपाल आर्मीसँग भिड्ने छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा दाउफिन्सले शुरूदेखि नै रूपन्देहीलाई दवावमा राखेका थिए।

पहिलो हाफमा डिबक्सभित्र दाउफिन्सका मेस्सोउलिए ओलोमोलाई रुपन्देहीका डिफेन्डर पेपीले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। खेलको ४०औँ मिनेटमा सोही अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेट्गाले बललाई जाली चुमाउँदै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले अग्रता लिएको दाउफिन्सले दोस्रो हाफ थप एक गोल गर्‍यो। खेलको ८० औं मिनेटमा दाउफिन्सका मेस्सोउलिए ओलोमाले गोल गर्दै टिमको जित शुनिश्चित गरेका थिए।

उनले डिबन्स एरिया नजिकैबाट गरेको प्रहारले गोल पोष्टको दिशा पाएको थियो। खेलमा म्यान अफ दी म्याच दाफिन्सका मेस्सोउलिए ओलोमा घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.