|

काठमाडौं : गैँडा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत कमलजंग कुँवरद्वारा लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र खाग फागुन शुक्रबारदेखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदै छ।

गैँडा संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न निर्माण गरिएको चलचित्र खागको निर्देशन मनोज पण्डितले गरेका हुन्। चलचित्रको प्रमुख भूमिकामा प्रवीण खतिवडा रहेका छन् भने पुष्कर गुरुङ, अशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। दीपक बज्राचार्यको छायाङ्कन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन्। सिनेमालाई प्रमीला कुँवरले निर्माण गरेकी हुन्।

चलचित्रबारे यसका निर्देशक मनोज पण्डित र लेखक कमलजंग कुँवरसँग थाहा खबरले गरेको कुराकानी:

 

'यो संघर्षको कथा हो'

मनोज पण्डित निर्देशक

कस्तो फिल्म हो खाग?

यो सङ्घर्षको कथा हो। आशाको कथा हो। खाग इतिहासदेखि भविष्यसम्मको हाम्रो यथार्थभित्र नायकको कठिन सङ्घर्ष पनि हो।

फरक खालको चलचित्र बनाउनु हुन्छ तपाईँ। व्यावसायिक हिसाबले मात्र सोचेको देखिँदैन। खाग पनि त्यस्तै हो?

यसमा पनि फरक खालको प्रतिक्रिया आउने छ। धेरैले पत्याउन सक्ने छैनन्। अतिरञ्जित भन्ने पनि हुन सक्छन्। तर, सबैले प्रमुख पात्रको सङ्घर्षलाई सम्मान गर्नुहुनेछ। 

कथालाई उतार्न कति सहज भयो? 

विश्वसनीय, यथार्थ, सरल र निष्पक्षका साथ कथा चलचित्रमा रूपान्तरण गर्न मेरा लागि सबभन्दा ठुलो चुनौती रह्यो।

तपाईं किन फरक धारको चलचित्र निर्माण गर्न रुचाउनुहुन्छ?

म समाजमा समस्या देख्छु, इतिहासमा समस्या देख्छु र मानिसका जीवनमा समस्या देख्छु। मेरो चिन्ता ती समस्याहरूले मानव सभ्यतालाई बन्धक बनाउने छ भन्ने हो। म समस्या समाधान गर्न सक्ने गरी भूमिका निभाउन चाहन्छु। त्यस कारण, समस्याहरूलाई पर्दामा ल्याउन प्रयत्न गर्दछु।

 

'निर्माणका क्रममा कर्मचारी सरुवा नै गरिदिए'

कमलजंग कुँवर, लेखक, गैँडालाई ४ वर्ष पुस्तक

कुनै विषयवस्तुलाई कितावमा उतार्न सहज कि चलचित्रमा?

चलचित्रमा भन्दा किताबमा विस्तृत रूपमा व्याख्या गर्न सकिन्छ। चलचित्रमा छोटो समयमा सबै कुरा समेटेर प्रस्तुत गर्नु पर्दा अलि कठिन नै हुन्छ। किताबमा समयको सीमा हुँदैन। चलचित्रमा समय सीमामा बाँधिनु पर्छ। 

त्यसो भए चलचित्र बनाउने सोच किन आयो?

मैले पुस्तक लेख्दा नै फिल्म पनि बनाउन मिल्ने गरी लेख्ने कोसिस गरेको थिए। सुरुवातदेखि नै यो पुस्तकबाट फिल्म बनाउनु पर्छ भन्ने थियो। राइजिङ नेपालका पत्रकार मित्र विष्णुप्रसाद गौतमले पनि पुस्तक प्रकाशित भएपछि चलचित्र बनाउन सुझाउनु भयो। केही वर्षपछि गैँडालाई चार वर्ष पुस्तक पढेपछि मनोज पण्डितजीले फिल्म बनाउने प्रस्ताव राख्नुभयो। अनि म सहमत भएँ।

चलचित्र निर्माण कति कठिन रहेछ?

मलाई चलचित्र निर्माणबारे खासै ज्ञान थिएन। निर्माणको सम्पूर्ण जिम्मा मनोज पण्डितजीले लिनुभएको थियो। आर्थिक स्रोत, छायाङ्कन व्यवस्थापनलगायत अन्य तारतम्य मिलाउन चुनाैतीपूर्ण नै लाग्यो। चलचित्रसँग सम्बन्धित कागजपत्र मिलाउनुपर्ने हुँदा प्रतीक्षा र धैर्यता गर्नु अलि कठिन नै थियो। 

खाग कस्ता दर्शकका लागि हो?

हाम्रो फिल्म सबै उमेर समूहका लागि हो। मेरो पुस्तक पढेका, संरक्षणमा लागेका वा नियालिरहेका, तस्करीविरुद्ध खबरदारी गर्ने र पर्यटनको माध्यमबाट देशको समृद्धि चाहनेले त हेर्नैपर्ने चलचित्र हो। चलचित्र हलमा नयाँ दर्शक पनि आकर्षित हुने कुरामा म ढुक्क छु। 

सरकारी निकायसँग समन्वय गरेर चलचित्रका धेरै काम गर्नुपर्ने थियो। यो काम कति सहज भयो?

इमान्दर भएर काम गरे अरूले भाँजो हाल्ने आँट गर्न सक्दैनन्। काम गर्ने ठाउँमा आफ्नो टिमलाई नै इमान्दर बनाउँदै लगेपछि बेइमानहरू हच्किन्छन्। तर लामो समयपछि विरोधीहरू एकजुट हुँदै जाने र त्यसबाट आफूलाई पाखा लगाउन खोज्ने हुँदो रहेछ। बेइमानहरूको आँखाको तारो बन्नु पर्दा उनीहरूले विभिन्न हत्यकण्डा अपनाएर बदनाम गर्न खोज्ने, फसाउन खोज्ने गर्दा रहेछन्। केही उपाय नलागेपछि कर्मचारी सरुवा गरिदिनेसमेत गरेको देखियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.