फाइनल खेलमा पूर्व फुटवलर गम्भीर र अस्मिता सम्मानित हुँदै

|

इलाम : पाहुना टोली दाफिन्सको उपहार गोलको मद्दतले विभागीय टोली त्रिभुवन आमी विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शनिबारको अन्तिम सेमिफाइनलमा दाफिन्सका सिलो नाङ्गलाको आत्मघाती गोलको मद्दतबाट आर्मीले झापासँग उपाधि भेट पक्का गरेको हो। खेलका ३२ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका नाङगाले चेष्ट गर्न खोज्दा बलले जाली चुमेको थियो।

जितसँगै आर्मी र झापा दोस्राे पटक उपाधिको लागी भिडने भएका हुन्। पहिलो र तेस्राे संस्करणको उपाधिको लागि समेत यी २ टोली भिडेका थिए। जसमा दुवै संस्करणमा आर्मीले बिजय हासिल गरेको थियो। झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न सकेको छैन। खेल अवधिभर दाफिन्सले एक दर्जन बढी पावरफुल प्रहार गरेको भए पनि गोल हुन नसक्दा उसको यात्रा सेमिफाइनलमा टुंगिएको छ। पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाफिन्सले दोस्रो हाफमा केही सशक्त प्रहार गरेको थियो।

खेलको ४५ औं मिनेटमा दाफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्यालेका थिए। ५२ औ मिनेटमा टीना टीनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्सले गोल गर्ने अवसरबाट वञ्चित भएको थियो। ५७ औं मिनेटमा दाफिन्सका पेटाङगाले खाली पोष्टमा गोल गर्न सकेनन्। ६३ औं मिनेटमा पेटाङगाको पावरफुल प्रहार कुथुले बचाउ गरे। आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१ औं मिनेटमा खाली पोष्टमा गरेको प्रहार बाहिरियो। खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका बिमल पाण्डे भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए।    

जितपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टीमका धेरै खेलाडी घाइते भएको हुनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए। आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए। दाफिन्सका मेनेजर आशिक थापा मगरले उत्कृष्ठ प्रदर्शनका बावजुत पनि स्कोर हुन नसकेको बताए। खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनु परेको थापाले बताए। 

पूर्व फुटबलर गम्भीर र अस्मिता सम्मानित हुँदै

झापा गोल्डकपको फाइनलमा पूर्व फुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवास सम्मानित हुने भएका छन्। विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए। उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी) मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिता जनाएका उनले तीन गोल समेत गरेका थिए।

तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपालीमहिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक समेत हुन्। अर्की सम्मानित खेलाडी खवासले पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्य बनेकी थिइन्। सन् २००२ मा नर्वेमा भएको नर्वे कप, २००४ मा चीनमा भएको एसियन गेम, २०१० मा बंगलादेशमा भएको सागसहित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइन् भने सन् २०१२ मा गोलरक्षकको भूमिका निर्वाह गरेकी थिइन्। त्यसबेला एउटा दुर्घटनामा परेपछि उनले फुटबल खेल्न छाडिन् तर फुटबललाई छाडिनन्। अहिले उनी प्रशिक्षककै भूमिकामा छन्।

अस्मिताले महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालदेखि आफ्नै ठाउँमा सन साइन महिला फुटबल क्लब स्थापना गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन्। आयोजकले प्रत्येक वर्ष पूर्व फुटबल खेलाडीलाई नगदसहित सम्मान गर्दै आएको छ। गतवर्ष पूर्व राष्ट्रिय खेलाडी सैनिकका राम दर्शन गुरुङ र सुरुङ्गाका सन्त रायामाझीलाई नगद २५ हजारसहित सम्मान गरेको थियो।

पहिलो गोल्डकपमा अर्जुनधाराका दिपेन्द्र ढकाललाई सम्मान गरिएको थियो। फुटबल खेलमा झापाबाट प्रतिनिधित्व गर्ने पूर्व खेलाडीलाई वर्सेनी सम्मान गर्दै लैजाने आयोजकको भनाइ छ। आयोजकले यसै वर्ष क्यान्सरपीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई नगद २५ हजार रुपैयाँ उपचारार्थ सहयोग प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.