|

बैतडी : ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरूले बैतडीको पाटनमा गरेको विरोध प्रदर्शनले उग्र रूप लिएको छ।

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको माग गरिरहेका विद्यार्थी, मृतकका आफन्त र प्रहरीका बीच झडप हुँदा ४ प्रहरीसहित ७ जना घाइते भएका छन् । प्रहरीले आन्दोलन उग्र बन्दै गएपछि १८ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ।

आन्दोलनमा उत्रिएका विद्यार्थीले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको र भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। इलाका प्रहरी कार्यालयभित्र घटनाका विषयमा छलफल भइरहेका बेला एक्कासी इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ। 

आन्दोलनकर्ताको ढुंगा लागेर प्रहरी सहायक निरीक्षक चन्द्र सामन्त, प्रहरी सहायक मानसिंह पन्त, प्रहरी जवान सुरेन्द्रबहादुर बोहरा र नृपबहादुर साउद घाइते भएका इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए। घाइतेहरूको पाटनमै उपचार भइरहेको छ।

तर, विद्यार्थीहरूले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन्। प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित साथीहरूले ढुंगामुढा प्रहार गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए। प्रहरीको लाठीचार्जबाट तीन विद्यार्थी घाइते भएका छन्।  

प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती विष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। पाटनमा स्थिति तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। शनिबार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा  मृत्यु भएको थियो।

बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडरले अनियन्त्रित भइ विमानस्थल लाइनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो। ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भएलगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए। फरार चालकको शनिबार बेलुका देखि नै खोजी कार्य भइरहेको भए पनि हालसम्म पनि फेला नपरेको उनले बताए। उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले प्रयोग गरिरहेको बुझिएको छ।

आक्राशित आफन्त र विद्यार्थीहरूले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। ‍राजमार्ग सुचारु गर्न तथा पीडितका माग सम्बोधनका विषयमा इलाका प्रहरी कार्यालयमै अहिले छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.