व्यवसायीहरूको पुरानै शैलीमा काम

|

बागलुङ : मालपोत कार्यालय बागलुङमा सेवाग्रहीका लागि नेपाल सरकारले सुरुवात गरेको नयाँ फाराम कार्यान्वयनमा समस्या देखिएको छ। लेखापढी कानुनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्रही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो।

मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू हुनेगरी सेवाग्राही आफैँले फाराम भर्ने व्यवस्था लागू गरिएको भए पनि फागुनको अन्तिमसम्म पनि लेखापढी व्यवसायीहरूले नै काम गर्दै आएका छन्। कार्यालयले सेवाग्राहीले कामका लागि भर्नुपर्ने फाराम उपलव्ध गराउन सकेको छैन।

लेखापढी व्यवसायीहरूको पुरानै शैलीमा काम

कार्यालयको अनलाइन प्रविधिमार्फत सबै काम हुने भएकाले सेवाग्राही आफैँले अनलाइनमार्फत फाराम लिएर भर्नुपर्ने व्यवस्था रहेको मालपोत कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए। कार्यालयले फाराम उपलव्ध गराउन नसक्नुको फाइदा उठाउँदै लेखापढी व्यवसायीहरूले पुरानै शैलीमा काम गरिरहेका छन्।

नयाँ नियम सुरुवात भएको केही दिन कार्यालय प्रवेशमा रोक लगाइएका लेखापढी व्यवसायीले पछिल्लो समय निर्वाद कार्यालय परिसरमा बसेर सेवाग्राहीका काम गर्ने गरेका छन्। ‘सेवाग्राही आफैँले उहाँहरूलाई खोजेर आउनुहुन्छ’ कार्यालय प्रमुख शर्माले भने, ‘हामीले नयाँ फाराममा नै काम गरिरहेका छौँ, उहाँहरूले जसरी ल्याउनुहुन्छ त्यसैगरी काम हुन्छ।’ सेवाग्राही आफैँले फाराम भर्दा वा लेखापढी व्यवसायीले फाराम भर्दा दुवै अवस्थामा कार्यालयले काम गरिरहेको शर्माको जवाफ थियो। सरकारले बनाएको नयाँ फाराममा केही नयाँ महल हरुको व्यवस्था गरिएकाले पनि सेवाग्राही समस्यामा पर्ने गरेका छन्।

आम सर्वसाधारणले फारामको विषयमा जानकारी नहुँदा लेखापढी व्यवसायीकै सहायता लिएर काम गर्ने गरेका छन्। जग्गाको रजिस्टेशन, धितो रोक्का फुकुवा, लिलाम लगायतका काम मालपोत कार्यालयमार्फत हुने गरेका छन्। दैनिक २५ देखि ३० जना सेवाग्राहीको काम हुने कार्यालयमा अधिकांश काम लेखापढी व्यवसायीमार्फत नै हुने गरेका छन्।

फाराम भरेर बस्ने समय छैन

‘मालपोतको फाराम भरेर बस्ने समय छैन, व्यवसायीलाई लिएर गएपछि तत्कालै काम बन्छ’ आफ्नो जमिन अर्कैको कित्तामा परेपछि सच्चाउनका लागि लेखापढी व्यवसायी खोज्दै हिँडेका सेवाग्राही सोम पाठकले भने ‘आफैँले गरे हुने हो तर उहाँहरूमार्फत काम गर्दा समय बच्छ।’ लेखापढी व्यवसायीले कार्यालय परिसरभित्र र बाहिर बसेर सेवाग्राहीका काम गर्दै आएका छन्। गत पुसको २२ गतेदेखि बागलुङ सहितका केही जिल्लाबाट सुरु भएको नयाँ नियमका कारण लेखापढी व्यवसायीको रोजिरोटी गुमेको भन्दै उनीहरु आन्दोलित भएका थिए।

 कार्यालय परिसरमा बसेर काम गर्दै आएका व्यवसायीहरूलाई सोही मितिदेखि लागू हुनेगरी काम नगर्न भन्दै कार्यालयले सूचनासमेत प्रकाशित गरेको थियो। नयाँ निमय कार्यान्वयनमा आएको दिनदेखि नै आन्दोलनमा रहेका लेखापढी व्यवसायीहरूले एक साता पनि नबित्दै पुरानै तवरले काम सुरु गरेका थिए। कार्यालयले पछिल्लो समय लेखापढी व्यवसायीलाई कुनै पनि बन्देज लगाएको छैन। ‘हामीकहाँ हुने काम एजेण्टको जस्तो होइन उहाँहरुले कागज पत्र बनाएर ल्याउने मात्रै हो काम गर्ने कर्मचारीले हो।’ हामीले गरेको प्रश्नमा प्रतिकार गर्दै मालपोत अधिकृत शर्माले भने, ‘कार्यालयभित्र आउने सेवाग्राही र लेखापढी व्यवसायीको अधिकार समान हुन्छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.