|

सल्यान :  जिल्लामा सुस्त श्रवण भएका विद्यार्थीका लागि सञ्चालित एक मात्र स्रोत विद्यालयले १५ वर्षपछि तालिम प्राप्त शिक्षक पाएको छ। सुस्त श्रवणसम्बन्धी अपांगता भएका बालबालिकाका लागि त्रिभुवन जन माध्यमिक विद्यालय भोटेचौर सल्यानमा ०५९ सालदेखि सञ्चालित स्रोत विद्यालयले १५ वर्षपछि शिक्षक पाएको हो।

राहत दरबन्दीमार्फत स्रोत विद्यालयमा एक जना शिक्षिकाको व्यवस्थापन भएपछि विद्यालयमा विद्यार्थीसमेत बढेको विद्यालयका प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए। पहिले जिल्लाभरिबाट १० जना जति सुस्त श्रवण भएका विद्यार्थी स्रोत विद्यालयमा पढ्दै आएका थिए उनले भने, ‘तालिम प्राप्त शिक्षक आएपछि अहिले भने विद्यालयमा १५ जना विद्यार्थी पुगेका छन्।’ तालिम प्राप्त शिक्षकको व्यवस्थापन पछि सुस्त श्रवण भएका बालबालिकाका अभिभावकहरुले स्रोत विद्यालयमा आउनका लागि सम्पर्क गरिरहेको बताए।

पहिलेको तुलनामा आफुले पढाउन सुरु गरेपछि अहिले विद्यार्थीको सिकाइ उपलव्धी बढेको शिक्षिका शान्ता केसीले बताइन। स्रोत विद्यालयमा अहिले ११ छात्र र ४ छात्रा गरी १५ विद्यार्थी अध्ययनरत छन्। १० वर्षसम्म निजी विद्यालयमा पढाएकी शिक्षिका केसीले पढाउने क्रममा स्वरसम्बन्धी समस्या भएपछि सांकेतिक भाषा सिकेकी थिइन्। सिकेको सीप अहिले काम लाग्यो उनले भनिन ‘सुरुसुरुमा त सांकेतिक भाषामा पढाउँदा निकै गाह्रो भयो। पछिपछि बालबालिकाहरूले सजिलै सिक्न थाले।’

सुस्त श्रवण भएका बालबालिकालाई पढाउन सजिलो होस भनेर छत्रेश्वरी गाउँपालिकाले स्मार्ट टेलिभिजन सहयोग गरेको छ। ‘स्मार्ट टिभिमा सांकेतिक विधिबाट सिकाएका भिडियोहरू देखाउने गरेका हौँ।’ केसीले बताइन। स्माट टिभिबाट पढाउदा कक्षा प्रभावकारी भएको केसीको भनाई छ।

कक्षा एदेखि ५ सम्मका विद्यार्थी एउटै कोठामा

स्रोत विद्यालयका १ देखि ५ कक्षा एक जना शिक्षिकाको भरमा चलिरहेका छन।‘अहिले १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई पढाइरहेकी छु’, शिक्षिका केसीले भनिन, ‘एउटै शिक्षकले सबै कक्षाका सबै विषय सिकाउनु पर्दा गाह्रोचाहिँ हुने गर्छ।’

आउदो शैक्षिक सस्त्रदेखि कक्षा ३ देखि ५ सम्मका सुस्त श्रवण भएका विद्यार्थीहरुलाई बहुकक्षा शिक्षामा समाहित गर्ने योजना बनाएको प्रअ भण्डारीले बताए। उनले भने नयाँ र पुराना विद्यार्थीलाई एउटै कक्षामा राख्दा समस्या देखिएकाले आउदो शैक्षिक सत्रदेखि समाहित कक्षामा राख्ने योजना बनाएका छौं। समाहित कक्षामा विद्यार्थीले बुझ्न नसकेका विषयमा सांकेतिक भाषा शिक्षकले सहयोग गर्नेछन्।

स्रोत विद्यालयमा सुस्त श्रवण  भएका विद्यार्थीका लागि अहिले सरकारले प्रतिविद्यार्थी  मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएको छ। विद्यालयले जिल्लााभर रहेका सुस्त श्रवणसम्बन्धी अपांगता भएका बालबालिका विद्यालय बाहिर रहेमा आफूहरूले पढाउन सक्ने बताएको छ।

पहिले प्रभावकारी पढाइ भएन भनेर अभिभावकहरूले पठाउन मान्दैनथे तर अहिले त्यो अवस्था छैन हामी जति पनि विद्यार्थी पढाउन सक्छौँ। स्रोत विद्यालयमा प्रभावकारी पढाइ हुन थालेपछि यसले जिल्लाको साक्षरता दर पनि बढ्नमा सहयोग पुग्ने भण्डारीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.