धनकुटा : नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले आव्हान गरेको नेपाल बन्दका कारण पूर्वी नेपालको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ। बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी मात्रामा प्रभावित भएको छ।
बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रामा परेपनि पहाडी जिल्लामा बढी मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवि पौडेलले जानकारी दिए। बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन। बन्दले बजार, कलकारखानामा सामान्य प्रभाव परेपनि शैक्षिक संस्था भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन। बन्दको कुनै जानकारी नभएकाले बिहानैदेखि कक्षा सञ्चालन भइरहेको गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञप्रकाश चापागाँईले बताए।
आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही बिहीबार आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।
उदयपुरमा बम
उदयपुरको कटारी नगरपालिका २ देवीधाप स्थित सडकमा शंकास्पद बस्तु भेटिएको छ। नेकपाले आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि वम राखिएको हुन सक्ने बताइएको छ। मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेट अगाडी भेटिएको वस्तु बम भएको आशंका गरिएकाले नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले वताए। डिस्पोजका लागि सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको डिस्पोजल टोलीले पुगेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।