|

कपिलवस्तु : नेपालकै एक मात्र पुरातात्विक राष्ट्रिय संग्रहालयका बारेमा प्रचारप्रसार नहुँदा महत्त्वहीन हुन थालेको छ। सरकारले पुरातात्विक संग्रहालयका रूपमा घोषणा गरेको ५ दशक बितिसक्दा पनि सम्बन्धित निकायको अपनत्वको कमीका कारण ओझेलमा परेको हो। ‘एसियाका तारा’ भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटमै रहेको यस संग्रहालयको स्थापना भएको लामो समय भए पनि संग्रहालयका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी नहुँदा “कपिलवस्तु राष्ट्रिय संग्रहालय” नेपालको एकमात्र पुरातात्विक संग्रहालय भए पनि आझेलमा पर्दै आएको छ।

संग्रहालयबाट करिब एक किलोमिटर उत्तरमा अवस्थित तिलौराकोटमा उत्खनन् पश्चात् आन्तरिक तथा बाह्य पर्यटकको तिलौराकोटमा मात्रै आगमनमा वृद्धि भएको छ। तिलौराकोट अवलोकनमा आएका ८० प्रतिशत बढी पर्यटक नजिकै रहेको कपिलवस्तु संग्रहालयमा जाँदैनन्। संग्रहालयबारे जानकारी नहँुदा उनीहरू त्यहाँ नपसी फर्कने गरेका हुन्। पुरातत्व विभाग लुम्बिनी विकास कोष लगायतका निकायले संग्रहालयको विकासमा ठोस योजना नबनाएकोले संग्रहालय यस्तो अवस्था आएको स्थानीयको आरोप छ। ५ दशक अघि निर्माण गरी सञ्चालनमा ल्याइएको संग्रहालयको प्रचारप्रसार नहुँदा ओझेलमा परेको कपिलवस्तु नगरपालिका वडा नम्बर ३  का वडा अध्यक्ष प्रकाश गैरेले बताए। ‘संग्रहालयबारे स्वदेशी र विदेशी पर्यटकलाई जानकारी नै छैन’ उनले भने ’ यसको पुष्ट्याई संग्राहालयमा आउने पर्यटकको संख्याले देखाउँछ। सन २०१८ मा तिलौराकोटमा ३९ हजारको हाराहारीमा विदेशी पर्यटकले अवलोकन गरेका थिए। तर तिलौराकोटको ३ सय मिटर पश्चिममा रहेको संग्रहालयमा करिब ५ हजारको हाराहारीमा मात्र पर्यटक आएको संग्रहालयले जनाएको छ।

तिलौराकोटमा आएका पर्यटक मध्ये न्यून मात्र संग्रहालयमा आउने गरेको संग्रहालयमा प्रमुख सुवासकृष्ण डङ्गोलले बताए। अधिकांश विदेशी पर्यटकहरू भारत हुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी आउँछन्। त्यसपछि सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको उनले बताए। ‘भारतीय गाडी र पथप्रर्दशकहरुले लुम्बिनी र तिलौराकोट देखाएर पर्यटकहरूलाई फर्काउने गरेका छन्’ संग्रहालय ओझेलमा पर्नुको मुख्य कारण खुलाउँदै उनले भने ‘ती पर्यटकहरूलाई लुम्बिनीबाटै नेपाली नम्बर प्लेटको गाडी र नेपाली पथ-प्रदर्शकले घुमाउन पाएको भए संग्रहालयमा धेरै पर्यटक आउने थिए’। तिलौराकोटमा भएको उत्खनन र सञ्चार माध्यमले त्यस बारे निकालेको समाचारले संग्राहालयमा विगतको तुलनामा पर्यटकको सङ्ख्या केही भए पनि बढेको उनले बताए।

नयाँ भवन निर्माण

पुरातात्विक र ऐतिहासिक सामग्रीहरूको संरक्षणको अभाव खट्किएको संग्राहालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। पुरातत्व विभागको सहयोगमा ३ करोड ६० लाखको लागतमा संग्रहालय भवन निर्माण गरिएको हो। नेपालका लागि श्रीलङ्काकी राजदूत मेडम परेरा, पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम, युनेस्को नेपालका प्रमुख क्रिस्चीयान मेनाहर्ड, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, प्रदेश ५ सदस्यहरू विष्णु पन्थी र अर्जुन केसीले आइतबार संयुक्त रूपमा रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका थिए। सो अवसरमा निमित्त महानिर्देशक गौतमले प्राचीन कपिलवस्तुको पर्यटकीय विकासका लागि नव निर्मित भवनले मद्दत मिल्ने विश्वास व्यक्त गरे। उनले ५ दशक अघि निर्माण गरिएकोमा भवन जीर्ण सानो हुँदा पुरातात्विक बस्तुहरू समेत असुरक्षित भएको अवस्थामा नयाँ संग्रहालयमा पुरातात्विक बस्तुहरूको महत्त्व अझ झल्किने बताए। उनले यसको विकासमा नेपाल सरकार प्रतिबद्ध भएर लाग्ने र सरोकारवाला निकायले पनि यसमा चासो दिनु पर्ने बताए।

विभागका वरिष्ठ पुरातत्व अधिकृत राम बहादुर कुँवरले युनेस्को, जापनिज फण्ड ईन ट्रस्ट, जापनिज नागरिक कन्साईको सहयोगमा विगत ५ वर्षदेखि गरिएको उत्खननले अब प्राचीन कपिलवस्तुको तिलौराकोट नै बुद्धको दरबार रहेको पुष्टि भएको बताए। ‘प्राचीन कपिलवस्तुको तिलौराकोट नै बुद्धको क्रिडास्थल भएको प्रमाणहरूले देखाएका छन्’ उनले भने ‘ठिक यही बेला निर्माण भएको संग्रहालयले अब यसको प्रचारप्रसारमा थप बल मिल्ने छ’। सो अवसरमा बेलायतका प्रोफेसर डाक्टर रविन कनिङघम र क्रेग बाक्रेलले तिलौराकोटको पुरै क्षेत्र प्राचीन भग्नावशेषले भरिभराउ रहेको बताए। उनले उत्खनन, अन्वेषणले तिलौराकोटमा बुद्धकालीन समय भन्दा पनि अघि ८ औ शताब्दीदेखि नै मानव बसोबास रहेको भेटिएको बताए। ‘ तिलौराकोटमा भेटिएको यथेष्ट प्रमाणहरूले हामी उत्साहित भएका छौ,  उनले भने ‘प्रस्तावित यो सम्पदा अब चाँडै नै विश्व सम्पदामा सुचीकृत हुनेछ’।

प्रदेश सरकारले पनि चासो दिन्छ: सांसद

प्रदेश सभा सदस्य विष्णु पन्थी, अर्जुन केसीले उत्खननबाट भेटिएको प्रमाण र नव निर्मित संग्रहालयले अब समग्र जिल्ला कै पहिचान स्थापित हुने बताए। दुवैले प्रदेश सरकारले पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्ने बताए। जापनिज प्रोफेसर नाकामुराले तिलौराकोटमा सन १९६७ देखि ७७ सम्म उत्खनन गरी पाइएका बस्तुहरू राखिएका छन्। ७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा इसा पूर्व आठौँ, छैटौँ शताब्दीको मौर्यकालीन, तेस्रो शताब्दीको सुङघकालीन कुसाङकालीन समयका माटा भाडा, चाँदीका सिक्कालगायतका विभिन्न महत्त्वपूर्ण सामाग्री छन्। उता भवन र सुरक्षाको अभावले विगत १३ वर्ष देखि पुराना चाँदीका सिक्का, असर्फी सुनका बालाहरू सहितको सामानहरू जिल्ला प्रहरी कार्यालयमा राखिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.