|

नवलपरासी : सिंहदरबारको अधिकार घर घरमा पुर्‍याउन मुलुक सङ्घीयतामा गए पनि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुकेका नागरिकले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। पटुकेका स्थानीयलाई आफ्नै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयसम्म पुग्न चार घण्टा भन्दा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। 

बर्दघाट नगरपालिकाको अधिकांश क्षेत्र तराईको भूभागमा परे पनि वडा नम्बर २ को पटुके दुर्गम पहाडी खोँचमा पर्ने गर्दछ। पटुकेका स्थानीय चिसापानीमा रहेको वडा कार्यालय पुग्नका लागि जंगलको बाटो हुँदै घन्टौँको यात्रा गर्नुपर्ने बाध्यतामा रहेका छन्। वडाबाट लिनुपर्ने सामान्य सिफारिसका लागि र नियमित घटना दर्ताका लागि पनि उनीहरूले पूरै दिन खर्चिनुपर्ने बाध्यता रहेको छ। 

दुर्गम पहाडी क्षेत्रका बासिन्दाहरूलाई वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालय सम्म आउनका लागि दुईवटा विकल्प रहेको छ। पैदल यात्राका लागि जङ्गल क्षेत्रको बाटो करिब चार घण्टा लगाएर यात्रा गर्नुपर्छ भने गाडीमा यात्रा गर्नका लागि भने गण्डकी प्रदेशअन्तर्गतको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबाससम्म पैदल यात्रा गरी त्यहाँबाट गाडीमा दाउन्ने हुँदै बर्दघाटसम्म आउँदा करिब २ घण्टा लाग्छ। 

स्थानीय तहको सिमाङ्कनको समयमा त्यहाँका बासिन्दाले आफूहरूलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजिकै केन्द्र रहेको विनयी त्रिवेणी गाउँपालिकामा गाभ्न प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नहुँदा अहिले सामान्य सेवाका लागि समेत घण्टौँ  हिँड्नुपर्ने बाध्यता परेको हो।

बर्दघाट नगरपालिकाले नगरपालिकाको पहाडी भूभागलाई समेत सडक सञ्जालमा जोड्नका लागि प्रयास गरिरहेको छ। नगरपालिकाले बर्दघाट नगरपालिका–१० भुताहा देखि आमबास, संसारकोट, पटुकी हुँदै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका जोड्ने गरी सडक सञ्जालको ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेको छ। सडकको स्तर उन्नतिका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको मेयर धिरज शर्माले बताएका छन्। पटुके क्षेत्रमा करिब ३०० जनसङ्ख्या रहेको छ। त्यहाँका स्थानीयले आफूहरूलाई पायक पर्ने ठाउँमा वडा कार्यालय सार्नका लागि आग्रह समेत गरेका छन्। त्यहाँका स्थानीयले तत्काल वडा कार्यालय सार्न सम्भव नभए पनि कम्तीमा हप्तामा वडा अध्यक्ष र सचिव   पहाडी क्षेत्रमा गएर सेवा दिन सके पनि आफूहरूका लागि ठूलो राहत हुने बताएका छन्। 

आधारभूत सेवाबाट पनि वञ्चित

सुगम नगरपालिका भित्रको दुर्गम गाउँको रूपमा चिनिएको बर्दघाट नगरपालिका वडा नम्बर २ को पटुकेमा आधारभूत सेवा समेत नपाएको स्थानीयले गुनासो गरेका छन्। स्वास्थ्य क्षेत्रमा गाउँमा खोप लगाउनका लागि एक जना स्वय‌ंसेवीका बाहेक अन्य केही सुविधा नरहेको स्थानीय बुद्धिराम ढेगा मगरले बताए। त्यहाँका स्थानीय सामान्य बिरामी हुँदा पनि प्रदेश नम्बर ४ को दुम्किबास पुग्नुपर्ने बाध्यता रहेको छ। 

त्यहाँका बालबालिका मुस्किलले पटुकेमै रहेको धारापानी आधारभूत विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गरे पनि त्यस पछिको अध्यनका लागि भने प्रदेश नम्बर ४ को दुम्किबास पुग्नुपर्ने बाध्यता छ। गरिबीले समेत गाँजेको पटुकेका बालबालिका अधिकांशले कक्षा ५ देखि नै आफ्नो शैक्षिक यात्रालाई पूर्णविराम दिने गरेका छन्। विद्यालय छोडेपछि कम उमेरमा विवाह गर्नेको सङ्ख्या पनि बढिनै रहेको छ। शिक्षामा पहुँच नहुँदा बालविवाह बढेको स्थानीय मन बहादुर सोतीले बताए। 

दुर्गम पहाडी क्षेत्रमा रहेकोले पटुकेमा अहिले सम्म विद्युत् सेवा समेत विस्तार हुन सकेको छैन। सक्नेहरूले सोलार जोडेर उज्यालो बनाउने गरे पनि अधिकांश स्थानीय टुकीकै भरमा रहेका छन्। नजिकै कलकल बगेको खोला भए पनि सिँचाइका लागि पहुँच नहुँदा खेतहरू बाँझै राख्नुपर्ने बाध्यता छ। नगरपालिकाले कुनै योजना बनाएर सिँचाइको लागि पहल गरिदिए राम्रो सम्भावना भएको बुद्धिराम ढेगाले बताए। 

पटुकेमा सञ्चारको पहुँच समेत कम रहेको छ। मोबाइल प्रयोग गर्न डाँडामा निस्कनुपर्ने बाध्यता छ। केही महिना अगाडि वडा नम्बर २ कै संसारकोट डाँडामा नेपाल टेलिकमको टावर निर्माण गरी सेवा सुरु भए पनि त्यसको समेत पटुकेमा पहुँच पुग्न सकेको छैन। सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा रटेपनि पटुकेवासीले  भने तन संघीयताको महसुस गरेको न त विकासको अनुभूति गर्न पाएको गुनासो गर्ने गरेका छन्। 

बालविवाह बढ्यो

पटुके लगायत बर्दघाट नगरपालिकाको  पहाडी भेगमा ६ वटा आधारभूत विद्यालय छन्। कुनै पनि विद्यालयमा कक्षा ५ भन्दा माथि पढाइ हुँदैन। कक्षा ५ पास गरेपछि बालबालिकालाई माथिल्लो कक्षा पढ्न घण्टौँ लामो पैदल यात्रा गर्नुपर्ने र जङ्गल क्षेत्र भएकोले जोखिम समेत छ। 

सक्नेहरूले आफ्ना बालबालिकाहरूलाई बर्दघाट , भुमहि र भुताहा राखेर पढाउने गरेका छन् भने आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले भने कक्षा ५ बाटैपढाइ छोड्ने गरेका छन्। 

पढाई छोड्ने बालबालिका घाँस दाउरा र मेलापातमा जाने र उनीहरूको सानै उमेरमा माया प्रेम बस्ने र कम उमेरमै विवाह गर्ने प्रचलन समेत बढी भएको वडा नम्बर २ की अध्यक्ष दया दर्लामीले बताइन्। अधिकांश बालबालिकाहरू १५ देखि १५ वर्षमै बिहे गर्ने र १७ देखि १८ वर्षमै बच्चा जन्माउने गर्दा विवाह र शिशुको जन्म दर्ता गराउन समेत समस्या हुने अध्यक्ष दर्लामीको भनाइ छ। 

विवाह दर्ता नभएपछि नगरपालिकाले सुत्केरी अवस्थाका आमालाई प्रदान गर्दै आएको पाँच हजार पोषण भत्ताबाट समेत उनीहरू वञ्चित हुनुपरेको दर्लामीले बताइन्। 'अशिक्षाका कारण बाल विवाह चुनौती र मुख्य समस्याको रूपमा छ', उनले भनिन्, 'स्थानीयमा चेतनाको स्तर समेत कम भएका कारण पनि योजना छनोट गर्ने र कस्तो योजना माग गर्ने भन्ने विषयमा समेत ज्ञान  छैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.